भारत सरकारलाई युवा संघकाे चेतावनी- लिपुलेक क्षेत्रमा बाटो बनाउने कार्य तत्काल रोक

File Photo
File Photo

नेकपा एकीकृत समाजवादी निकटको युवा संघ नेपालले लिपुलेक क्षेत्रमा भारतीय सरकारकाे बाटो फराकिलो बनाउने कार्यको विरोध गरेको छ।

युवा संघका अध्यक्ष नरेश शाहीले आज एक विज्ञप्ति जारी गर्दै नेपाल एवं नेपाली जनताको अपमान र नेपालको भूगोलमाथि आक्रमण भएको बताउँदै भारतको यो विस्तावादी, हेपाह प्रवृत्ति भएकाे भन्दै विराेध जनाएका छन्।

‘समग्र नेपाली जनता र नेपाल सरकारको विरोध रहेको लिपुलेकमा निर्माण भइरहेको यस सडकका सन्दर्भमा भर्खर मात्रै भारत सरकारले बाटो निर्माण गरी फरकाकिलो गर्न लागेको भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाईप्रति संघको गम्भीर ध्यानार्षण भएको छ’, अध्यक्ष शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘नेपाल पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ र असंलग्न परराष्ट्र नीति हाम्रो मुख्य मान्यता हो। हामी छिमेकीहरुको एक आपसमा सम्मान, समानता र अहस्तक्षेप चाहन्छौं। भूगोल, जनसंख्या र सार्वभौमसत्ता राज्यका मुल तत्व हुन्। यी तत्वमाथि आक्रमण हुनु समग्र देशको राष्ट्रियता र अस्तित्व माथिको आक्रमण हो’, अध्यक्ष शाहीले भनेका छन्, ‘छिमेकी मुलुक भारतको तर्फबाट हाम्रो देशको विभिन्न क्षेत्रमा सिमा नाका नजिकको भूभाग अतिक्रमित हुने गरेको विषय समग्र नेपालीहरुको तर्फबाट विरोध र खेदजन्य विषय हो। इतिहासका विभिन्न दस्तावेजहरु साक्षी छन्, लिपुलेक लिम्पियाधुरा नेपालको हो।’

लिपुलेक क्षेत्रलाई भारत सरकाले अतिक्रमण गरी नियन्त्रणमा लिएको सवालमा युवा संघको विरोध रहँदै आएको छ। यो भूगोल नेपाललाई फिर्ता गर्नुको सट्टामा भारत सरकारले विभिन्न भौतिक पुर्वाधारहरु निर्माण गर्नु आपत्तिको विषय भएको संघको ठहर छ।

‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनै पनि गतिविधिमा संलग्न नहुन भारत सरकारलाई चेतावनी दिँदै, बाटो निर्माण र फराकिलो बनाउने कार्य तत्काल रोक्न भारत सरकारसंग युवा संघ नेपाल जोडदार माग गर्दछ’, शाहीले भनेका छन्।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगलिक अखण्डता, राष्ट्रिय एकता र नेपाली स्वाभिामानलाई अक्षुण राख्नु नेपाल सरकारको पहिलो दायित्व र कर्तव्य भएको भन्दै उनले भारतीय सरकारको उक्त कार्य एवं भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको उक्त भनाईको सच्याउनका लागि नेपाल सरकारको तर्फबाट अविलम्ब कुटनीतिक पहल गर्न सरकारसंग उनले माग गरेका छन्।

प्रकाशित मिति: : 2022-01-11 15:06:00

प्रतिकृया दिनुहोस्