फेवातालको छेउमा उभिने को हुन् ? भाईरल 'सुन मान्छे' [भिडियाे]

सामाजिक सञ्जाल टिकटिकमा अहिले एउटा भिडियो भाइरल छ।

शिरदेखि पाउसम्म गोल्डेन कलरको कपडा लगाएका एक युवक स्ट्याचु बनेर फेवाताल छेउमा उभिई रहेका हुन्छन्। मान्छेहरु विभिन्न हाउभाउसहित टिकटक बनाएर अपलोड गरिरहेका छन्। जुन भिडियो निकैले रुचाएका छन्। कतिले यसरी स्ट्याचु बनेर उभिने यी युवकबारे साेध–खोज पनि गरेका छन्।

झट्ट, हेर्दा मूर्ति जस्तै लाग्ने। हातखुट्टा नचलाई निकै बेरसम्म उभिईरहन सक्ने यी युवक जाजरकोटका अंकित शाही हुन्।

ताल छेउछाउ टहलिईरहेका धेरै जसो त पर्यटकीय गतिविधि बढाउन मूर्ति नै ल्याएर राखिएको रहेछ भनेर पनि झुक्किने गरेका छन्। कतिले स्ट्याचु नै ल्याएर राखेको होला भनेर वास्तै नगरी पनि हिँड्छन्। तर, सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका गोल्डेन म्यानबारे थाहा पाएकाहरु उनीसँग टिकटक बनाउन र फोटो खिच्न लालायित बनिरहेको भेटिन्छन्।

‘हेर्दा स्ट्याचु जस्तै लाग्ने। स्ट्याचु राखेछन् भनेर कोही यत्तिकै पनि जानुहुन्छ। कसैले स्ट्याचु नै हो कि होइन भनेर १०, १५ मिनेट नै रोकिएर हेर्ने गर्नुहुन्छ,’ गोल्डेन म्यान बनेका अंकित शाहीले हामीलाई सुनाए।

अन्य देशहरुमा यस्तो अभ्यास धेरै नै भएको पाइन्छ। सामाजिक सञ्जालमा पनि यस्ता भिडियो छ्यापछ्याप्ति भेटिन्छन्। स्ट्याचु बनेर उभिइरहेका महिला, पुरुषसँग बनाइएका रमाइला भिडियो सामग्री सञ्जालमा तपाईंहरुले पनि हेर्नु भएकै होला।

तर, हरेक देशमा यस्ता कलाकर्म हुँदै आए पनि नेपालमा भने यस्तो अभ्यास सम्भवत पहिलो हो। ‘गोल्डेन म्यान हरेक देशमा छ। स्ट्याचु हाम्रो नेपालमा छैन। मोबाइल हेर्दै गर्दा स्ट्याचु बनेका गोल्डेन म्यान देखें, रमाइलो लाग्यो। मैले पनि गर्छु भन्ने मनमा लागेर अनि सुरु गरेको,’ अंकितले अघि सुनाए।

यसअघि भारतको हिमाञ्चल प्रदेशमा गोल्डेन म्यान बनेर झण्डै एक वर्ष उतै बसेका थिए, अंकित। कोभिड–१९ को संक्रमण बढ्न थालेपछि नेपाल आएका अंकित त्यसपछि भने स्वदेशमै केही गर्ने मन गरे। उनलाई पहिलेदेखि पोखरा मन परेको ठाउँ। अनि, त पोखरामा आएर अंकित शाही गोल्डेन म्यान बने।

अहिले हल्लनचोक र बाराही चोक बीचको फुटट्रयाकमा अंकित गोल्डेन स्ट्याचुका रुपमा भेटिन्छन्। घण्टौंसम्म नचलमलाई स्ट्याचु बनेर उभिएका अंकितको अघिपछि फोटोभिडियो खिच्नेहरु झुम्मिई रहेका हुन्छन्।

‘नेपालमा पहिलो चोटी गरेको हो। कसैले राम्रो सँग हेर्ने फोटोसोटो खिच्ने गर्नुहुन्छ,’ अंकित सुनाउँछन्। कहिलेकाही फोटो भिडियो लिदालिदै ठेलमठेल हुँदा अंकितसँग ठोक्किन पनि पुग्छन्। यसरी ठेलमठेल हुँदा अंकितको ध्यान भंग हुन पुग्छ। यसले एउटै पोजिसनमा स्ट्याुच बनिरहन गाह्रो हुने उनले सुनाए। भन्छन्,‘कोही आएर धक्का मुक्की पनि हान्नुहुन्छ। त्यो अलि नराम्रो भयो।’

जाजरकोट घर भएका अंकित अहिले आफ्नो परिवारसहित पोखराको न्युरोडमा बस्छन्। २५ दिन भयो उनी यसरी स्ट्याुच बनेर बसेको। बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म उनी स्ट्याचु बनेर उभिईरहेका हुन्छन्।

यसरी नचलमलाई स्ट्याचु बनेर बस्न उनले ठूलो साधना गरेका छन्। भारतको हिमाञ्चल प्रदेशमा एक वर्ष लामो प्रयासपछि उनी अहिले यो ठाउँमा छन्। उनी लगातार ३ घण्टासम्म स्ट्याचु बनेर बस्न सक्छन् रे !

बिहान ११ बजेबाट १ बजेसम्म निरन्तर स्ट्याचु बनेपछि आधि घण्टाको लागि विश्राम लिन्छन्। त्यसपछि फेरि उही अवस्थामा खडा हुन्छन्। सामान्य अवस्थामा मान्छेहरुलाई केही मिनेट पनि नचलमलाई बस्न गाह्रो हुन्छ। ‘बानी नै परिसक्यो। पहिला त राती सुत्ने बेलामा खुट्टा करकरी खान्थ्यो,’ उनले सुनाए। 

अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहँदा खुशी लागेको उनले सुनाए। अहिले नै खासै ठूलो योजना नभए पनि बाह्य मुलकहरुमा नेपालमा पनि यस्तो छ भनेर थाहा दिने मन छ रे उनलाई। ‘त्यस्तो तत्काल केही योजना छैन। यसले राम्रो गर्दै जाने योजना छ,’ उनले भने।

यी गोल्डेन म्यानको अघिल्तिर गोल्डेन कलरकै बक्स पनि राखिएको हुन्छ। टिकटक बनाएर मान्छेहरु केही सहयोग पनि गरिरहेका हुनछन्। पैसा राख्नैपर्ने छैन। तर, मनखुसी दिनेहरुको सहयोग उनले लिन्छन्। ‘पैसा राख्नैपर्छ भन्ने छैन। तर, मन छ भने खुसी भएर हाल्नुस्। बरु, नहाल्नुस् फोटो खिच्नुस् जानुस्,’ उनले भने।

पैसा नै नभए कला देखाउने काम भने नछाड्ने उनी बताउँछन्। ‘यही ठाउँमै बसिरहेको छु अहिलेसम्म। यताउति कही पनि छैन। कला आएर हेर्नेहरुलाई धेरै धन्यवाद भन्न चाहन्छु,’ उनले भने।

सबैको साथ सहयोग पाइरहने उनले विश्वास लिएका छन्। जाजरकोटबाट पोखरा आएपछि उनले अनेक संघर्ष पनि गरेका छन्। सुरुमा घर बनाउने ठाउँमा ज्यामी काम पनि गरेका थिए, उनले। पछि, आफ्नो कला देखाउन पर्छ भन्ने लाग्यो। अनि ज्यामी काम छोडेर उनी यसरी स्ट्याुच बनेर उभिई रहेका छन्।

गोल्डेन म्यानले सुरुमा सर्टलाई पेन्ट गरे। पाइन्ट, जुत्ता, टोपी पेन्ट गरेर एक सेट तयार पारे। अनि, लेकसाइडमा गोल्डेन स्ट्याचु बन्न आईपुगे स्ट्याचु हल्लिन मिल्दैन। हाँस्न मिल्दैन। उनी ठिंग स्ट्याचु जस्तै बनेर खडा बने।

सामान्य परिवारमा जन्मेका अंकितले बुवा गुमाएका छन्। तीन वर्षअघि बुवाको देहान्तपछि आमा र बैनीलाई लिएर उनी पोखरा आएका रहेछन्। ‘सँगै छौं। पोखरा आएको लकडाउन नलाग्दै आएको। एक वर्षदेखि यतै बस्न लागेको छु,’ उनले भने।

पहिले–पहिले टिकटिकको खासै प्रयोग गर्थेनन्, अंकित। सामाजिक सञ्जालमा भाइरल छु भन्ने थाहा पाएपछि बेलुकीपख टिकटिकतिर पनि बस्छन्। भाइरल भएर सबैले रुचाएकोमा अंकितलाई निकै खुशी मिलेको छ।

प्रकाशित मिति: : 2022-01-25 16:35:00

प्रतिकृया दिनुहोस्