नागरिकको सुझावः वैशाख–जेठमै चुनाव [भिडियाे]

मदन नेपाली

काठमाडौं

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले आगामी जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको गर्‍यो। यो सँगै स्थानीय तह निर्वाचन सम्बन्धि अन्योल हटेको छ।

जसअनुसार अब कुनै विशेष कारण नभए सरकारले आगामी जेठ तेस्रो वा चौथो सता चुनाव गर्ने गरी सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गर्ने छ।

सत्ता गठबन्धनको जेठ महिनाभित्र निर्वाचन गर्न गरेको निर्णयलाई प्रमुख प्रतिपक्षी दलदेखि आम मतदाताले समेत सकारात्मकरुपमा लिएका छन्। यसै सन्दर्भमा हामीले काठमाडौँको भृकुटीमण्डपमा भेटिएका केही मानिसलाई ‘स्थानीय तहको चुनाव कहिले गर्दा ठिक होला ?’ भनेर हामीले सोधेका छौँ।


गगनसिंह बस्नेत, धादिङ

२०७४ सालमा भएको निर्वाचनको पाँच वर्षे कार्यकाल सकिँदैछ। अब आम नागरिकहरुले निर्वाचन चाहेका छन्। संविधानअनुसार पनि पाँच वर्षमा चुनाव हुनुपर्ने भएकोले वैशाखमै चुनाव हुनुपर्छ। तर, भारतको लागि बनेको सरकारले अहिले नगरेर पछि धकेल्न खोजेको छ त्यो ठिक छैन। स्थानीय चुनाव वैशाखमै हुनुपर्छ।

जीवनकुमार उपाध्याय, कैलाली

चुनाव सार्नु हुँदैन निश्चित समयमै गर्नुपर्छ। संविधान अनुसार चुनाव गर्ने समय पुगेकोले नयाँ नेतृत्वको लागि चुनाव छिट्टै हुनुपर्छ।

शम्भु घिमिरे, मोरङ

चुनाव समयमै गर्नुपर्छ किनभने यसो गर्दा नेताहरुले चलखेल गर्न पाउँदैनन्। त्यसमाथि असोज महिना चुनावको लागि ‘अनस्वीटेवल’ समय हो। भोट भनेको नेताले मात्रै त हाल्ने होइन त्यसमा जनता पनि सहभागी हुन्छन्। असोज महिना खेतीपाती गर्ने समय हो, त्यसैले सबैलाई ‘स्वीटेवल’हुने भएकोले वैशाखमै निर्वाचन गर्नुपछ।

सिर्जना शाक्य, काठमाडौँ

अहिले कोरोना महामारी चलेको छ। जनतालाई धेरै दुःख छ। व्यावसाय गर्नेदेखि लिएर घरायसी काम गर्नहरुलाई समेत धेरै समस्या छ। त्यसैले म के भन्न चाहान्छु भने चुनाव तत्काल नगरेर पछि सारेकै राम्रो। कोरोनाबाट मानिसहरु सुरक्षित पनि भएर बस्नुपर्छ। त्यसैले चुनाव पछि गरेकै राम्रो।

रविन्द्र स्याङ्बो, काठमाडौँ

स्थानीय चुनाव समयमै गर्दा राम्रो हुन्छ। चुनाव सार्नुमा पार्टीका नेताहरुको स्वार्थको कुरा हुन्छ। त्यो भयो भने देश आर्थिक संकटमा जान्छ, खर्च पनि धेरै हुन्छ। त्यसैले चुनाव बैशाखमै हुनु राम्रो हो।

व्रिन्सा भुजेल, काठमाडौँ

मेरो विचारमा स्थानीय तहको चुनाव त वैशाखमै हुनुपर्छ। चुनाव गर्न ढिला गरेर केही फाइदा छैन।

प्रकाशित मिति: : 2022-01-30 18:00:00

प्रतिकृया दिनुहोस्