कास्कीमा १० रुपैयाँले बढ्यो दुधको मुल्य, सरकारले तोकेको मुल्य नमान्ने ! [सूचीसहित]

केही दिनअघि सरकारले दूग्धजन्य पदार्थको मुल्य बृद्धि गर्‍यो। प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाका दरले बृद्धि भएको दूधको मुल्यले किसानलाई खुसी बनायो।

तर, कास्कीमा भने सरकारले तोकेको मुल्यदर नमानि आफैंले कायम गरेको मुल्यमा दूध बेच्ने किसानहरुको छाता संस्था राष्ट्रिय व्यवसायीक पशुपालन तथा दूग्ध उत्पादन कृषक समाज नेपाल कास्कीले घोषणा गरेको छ। आउँदो फागुन १ गतेदेखि लागू हुने गरी कास्कीमा दूधमा प्रतिलिटर १० रुपैयाँले मुल्य बृद्धि गर्ने समाजले जनाएको छ।

सरकारले तोकेको दूधको मुल्य अवैधानिक र अव्यहारिक भएको समाजको निश्कर्ष छ। सरकारले बढाएको मुल्यमा गाईंभैँसीलाई चोकर पनि किन्न नपुग्ने भन्दै समाजले नयाँ मुल्य तोकेको हो।

‘मुल्य बृद्धिले उपभोक्ताहरु मारमा पर्नुहुन्छ। तर, मुल्यबृद्धि नगरे किसानलाई चोकर किन्ने खर्च पनि उठ्दैन,’ समाजका सचिव जीवन अधिकारीले भने। दूध तथा दुग्धजन्य पदार्थको मुल्य बृद्धि सम्बन्धी निर्णय गर्न बनेको कार्यदलले सरकारलाई दूधमा कम्तिमा १० देखि बढीमा १४ रुपैयाँ बढाउनुपर्ने सिफारिस गरेको थियो। तर, मंसिर अन्तिममा दूध विकास बोर्डले मन्त्रालयमा पठाएर नयाँ मुल्यदर सार्वजनिक गर्ने भनिए पनि अवैज्ञानिक मुल्यदर कायम गरिएको समाजको आरोप छ।

राष्ट्रिय व्यवसायीक पशुपालन तथा दूग्ध उत्पादन कृषक समाज नेपाल, कास्कीले कायम गरेको नयाँ मुल्यदर अनुसार दूध, दही, पनिर, घ्यू र नौनी घ्यूको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिनेछ। जसअनुसार कास्कीमा फागुन १ गतेदेखि यसअघी १२० रुपैयाँ पर्ने भैंसीको दूधको मूल्य १३० कायम गरिएको छ। ९० रुपैयाँ पर्ने गाईको दूधको मूल्य बृद्धि गरेर प्रतिलिटर १०० कायम गरिएको छ। १३० रुपैयाँ पर्ने दहीको मुल्य प्रतिलिटर १४०, ७५० पर्ने पनिरको मूल्य प्रति केजी ८००, ११०० पर्ने घ्यूको मूल्य प्रतिकेजी १२०० र ९०० पर्ने नौनी घ्यूको मूल्य प्रतिकेजी १००० कायम गरिएको छ।

सरकारले किसानको मागअनुसार मुल्य निर्धारण नगरेपछि नयाँ मुल्य कायम गर्नुपरेको राष्ट्रिय व्यवसायीक पशुपालन तथा दूग्ध उत्पादन कृषक समाज नेपाल, कास्कीका अध्यक्ष दीपक तिमिल्सिनाले बताए। ‘किसानको मुद्दामा राज्य गम्भीर भएन। किसानको मुद्दालाई राज्यले गम्भीर ढंगले हेरेन,’ उनले भने।

किसानलाई भर्‍याङ बनाएर सत्तामा पुगेकाहरुले किसानमारा नीति लिदा आफैं मुल्य तोक्न बाध्य भएको उनको भनाई छ।

राज्यले कारबाही गर्छ भने भोग्न तयार छौं

सरकारको तोकेको नमानि आफैं मुल्य तोकेर कायम गराउन उत्रिएका किसानहरुका छाता संस्थाका नेताहरुले राज्यले आफूहरुमाथि कारबाही गरे पनि भोग्न तयार रहेको बताएका छन्। गैरजिम्मेवार तरिकाले किसानको उत्पादनको मुल्य तोक्न नपाइने समाजका अध्यक्ष  तिमिल्सिनाले बताए।

‘लोकतन्त्रमा आफूले उत्पादन गरेको उत्पादित वस्तुको मूल्य सोही व्यक्तिले गर्न पाउनुपर्छ। कार्यदलको सुझाव नमान्ने सरकारले गरेको निर्णय चाहिं हामीले किन मान्ने ? होइन भने मैले उत्पादन गरेको उत्पादित वस्तुको मुल्य मैले तोक्न पाउनुपर्छ,’ तिमिल्सिनाले थपे।

आफूहरुले कामय गरेको मुल्यबृद्धिमा अवरोध आए प्रतिकार गर्ने समेत उनीहरुको भनाई छ। ‘अवरोध आए वा धरपकड भए हामी त्यसको सजायको भागिदार बन्न तयार छौं,’ तिमिल्सिनाले सुनाए।

हाल कास्कीमा दैनिक ५० हजार लिटर दूध खपत हुने अनुमान छ। व्यवसायीक पशुपालनबाट  २३ हजार लिटर। राज्यबाट सुचिकृत नभएका तथा सहकारीबाट १५ हजार लिटर र अन्य क्षेत्रबाट करीब १२ हजार लिटर आयात हुने गरेको समाजको अनुमान छ।

प्रकाशित मिति: : 2022-02-08 17:41:00

प्रतिकृया दिनुहोस्