हेलम्बुमा छेच्यु पर्व सुरु

File photo
File photo

हेलम्बु क्षेत्रमा छेच्यु पर्व सुरु भएको छ। आजदेखि सुरु हुने छेच्यु पर्व ३ दिनसम्म मनाइनेछ।

काठमाडौं नजिकको सुन्दर पर्यटकीय क्षेत्र हेलम्बु क्षेत्र ह्योल्मो समुदायको बसोबास गर्ने थलो हो। यो क्षेत्र सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। त्यहाँ मौलिक संस्कृतिसँगै हिमाली सौन्दर्यको मिठास पनि पाइन्छ।

त्यहाँबाट दोर्जे लाक्पा, जुगल, गौरीशंकरसहित दर्जनौँ हिमाल दर्शन गर्न सकिन्छ। ग्रामीण जीवनशैलीको अध्ययन गर्ने मौलिक पाठशालासमेत भएकाले धेरै वर्षदेखि हेलम्बु विदेशीको नजरमा परेको छ।

हिमाली भेगमा बौद्ध धर्म फैलाउने महागुरु पद्मसंभवले आफ्न अनुयायीका लागि योग, ध्यान र साधना गर्न बहुमूल्य निधि र धार्मिक पुस्तक लुकाएको ठाउँ पनि हेलम्बु हो।

हेलम्बुमा प्राचीन गुम्बा, चैत्य र माने मात्र होइन, आमा याङ्ग्री पनि छ जो इष्टदेवताका रुपमा पुजिन्छ। 

हेलम्बुमा प्रत्येक वर्ष मनाउने छेच्यु पर्व यस वर्ष पनि हेलम्बुको  शेर्माथाङमा ७(८ गाउँका मानिसहरु भेला भएर धुमधामले कमाइनेट।  

छेच्यु पूजा किन मनाइन्छ?  

हेलम्बु क्षेत्रमा बसोवास गर्ने ह्योल्मो समुदाय बौद्धगार्मी हुन्। गुरु रिम्पोछेले ध्यान र तपस्या गरेको तपोभूमिमा उनले भविष्यका लागि भनेर धार्मिक महत्वका पवित्र (तेर) लुकाएर राखेको विश्वास गरिन्छ।

बुधबार पूर्णिमाको दिन स्यांगुछे र सेर्माथाङमा ठुलो पुजा गरिदैँछ। गुरु रिन्पोछे (पद्मसंभव)को पहलमा उत्पत्ति भएको स्थानिय वुद्धिजिवी पुर्ण लामाले बताए।

उतिबेला व्याप्त खराब र नकारात्मक शक्तिलाई रोक्न छेचु पर्वको उत्पत्ति जनविश्वास छ। धार्मिक र आध्यात्मिक प्रगति अक्सर यी दुष्ट शक्तिहरुद्वारा विजय पाउन पनि पूजा गरिएको हो।

पद्मसमभवको जन्मजयन्तिको पुण्य तिथिमा बर्सेनी छेच्यू पूजा गरिन्छ। चन्द्रमास पात्रोअनुसार सोनाम ल्होसार पर्व मनाएको पञ्चमीदेखि पूर्णिमासम्म छेच्यु पर्व धुमधामले मनाइन्छ। गाउँहरूले आ–आफ्नै किसिमले यो पर्व मनाउने गरेका छन्।

गाउँबाट बाहिर बसोवास गर्ने स्थानीयहरु आ-आफ्नो घर फर्केर परिवार इस्टमित्र भेटघाट, खानपिन गरेर खुसी साटासाट गरेर मनमउँछन्।

पाँच दिनसम्म धार्मिक पुस्तक (ह्युम पाठ) गरेपछि पर्व सुरु हुन्छ। बौद्ध धर्मग्रन्थअनुसार गुरु रिम्पोछेद्वारा स्थापना गरेका तान्त्रिक नृत्यद्वारा राक्षसमाथि विजय प्राप्त गरेको खुशीयालीमा उत्सव मनाउने चलन रहेको छ।

पाल्मो छ्योलिङ गुम्बाका अध्यक्ष फुर्वा लामा ह्योल्मोका अनुसार विश्व प्राणी जगतमा सुख , शान्ति र समृद्धिको लागी कामना गर्ने वार्षिक छेच्यु पुजा गरिने वताएका छन्।

वर्षभरी मनाइने पूजाहरुमा युङ्नी पूजामा मौन व्रर्त बसिन्छ , कुँवर पुजा दिर्घायुको लागी माने स्तुपामा मर्मत सम्भार गर्ने हुन्छ र सङ पुजा अन्न वाली सप्रियोस भनेर पुजा गरिन्छ।

यस वर्ष पनि छेच्युमा बौद्धिस्ट विधिअनुसर पूजा गरेर विनाशकारी महाप्रलय, रोग व्याधि र द्वन्द्वबाट बच्ने कामना गरेका छन्। त्यसैगरी लोभ, इर्ष्या र क्रोध निवारण, विश्व शान्ति र मानव मुक्तिको कामना गर्दै धार्मिक विधि विधानअनुसार भूतप्रेत मन्छाउने छन्।

विशेष किसिमका पूजा विधि गर्दै देवीदेवताका प्रतीकका रुपमा मुकुण्डो लगाएर लामाहरू नाच्ने गरिन्छ। स्थानीय महिला पुरुष परम्परागत भेषभुषामा अलग्गै हात समाएर गोलाकार भएर स्याब्रुमा झुम्दै लामाहरुलाई साथ दिन्छन्।

बाजाको तालमा लामाहरूले मुकुण्डो नाच नाच्छन र स्थानीय स्याब्रुमा नाचेर खुसी साटसाट गर्छन्। लामाले अभिषेक तथा अमृत जल वितरण गर्दै सबै गाउँलेलाई आशीर्वाद दिन्छन्। आगामी वर्षभरि सुख, शान्ति तथा समृद्धिको कामना गर्दै छेच्यु पर्व समापन हुन्छ।

प्रत्येक वर्ष छेच्यु पर्वमा एक दुई जनाले सबै गाउँलेलाई खाना प्रायोजन गर्ने चलन छ। गाउँको प्रत्येक घरले पूजाका लागि खाना वा अन्य स्रोतहरू योगदान गरेर सहयोग गर्छन्।

हेलम्बु क्षेत्र पदयात्राका लागि विदेशीमाझ निकै लोकप्रिय छ। २०७२ सालको महाविनाशकारी भूकम्पले यस क्षेत्रका गाउँ नै तहसनहस बनायो। गाउँ विस्तारै उठ्ने क्रम थियो ,विश्वभर फैलिएको कोरोना महामारी फेरी थलियो।

विस्तारै आन्तरिक र विदेशी पर्यटकको आगमन सुरु हुँदै थियो, कोरोना संक्रमणले एक वर्षदेखि विदेशी पर्यटक शून्यमा झरेको छिरिङ बताउँछन्।

हेलम्बु क्षेत्र आन्तरिक पर्यटकको पनि उत्तिकै सम्भावना बोकेको गन्तव्य हो। स्नोफल माउन्टेन रिसोर्टका डाइरेक्टर पूर्ण लामाले काठमाडौंका कुलीन वर्गका पर्यटकहरु सेरमाथाङ आएर आमा याङ्ग्री चढेर फर्किन्छन्।

हेलम्बुको प्राकृतिक सौन्दर्य, संस्कृति र पर्वलाई प्रबर्द्धन गर्नुका साथै ठप्प भएको पर्यटनलाई पुनर्जीवन दिन हेलम्बुको 'रि–ब्राण्डिङ' को काममा सिन्धु पर्यटन परिषद्की अध्यक्ष माया गुरुङ, महासचिव मिलन तामाङ र कोषाध्यक्ष टासीसहितको टोली क्रियाशील छन।

ह्योल्मो आदिवासीको विशिष्ट शैलीका परम्परागत ‘म्हेर्च्या कुमा’ घर पूर्ण रुपमा क्षति भएको थियो। यहाँका कलात्मक सिर्जना बचाईराख्न ‘म्हेर्च्या कुमा’ नमूना घर निर्माण गरेर ह्योल्मो सङ्ग्रहालय तथा पर्यटन सूचना केन्द्र बनाउन स्थानीय युवा तथा सिन्धु पर्यटन परिषद्का कोषाध्यक्ष टासी दोङबा ह्योल्मोका टोली खटिरहेका छन्।

यहाँका सुन्दर गाउँ, आत्मिय ह्योल्मो समुदाय, रहनसहन  र तिनका धनि संस्कृतिसँगै छेच्यु पर्वलगायत अन्य पर्वलाई प्याकेजिङ गरेर बजारीकरण, प्रबर्द्धन र प्रचार गर्न ढिलाई गर्न हुदैँन। यहाँका सुन्दर बस्ती, अर्गानिक खाना र ह्योल्मो संस्कृति प्रबर्द्धन गर्न सकिन्छ। 

गाउँबाट तीन–चार घण्टाको पदयात्रामा पुगिने इष्ट देवता आमा याङ्ग्री (३७४१ मिटर) दर्शन गर्न स्वदेशी लगायत विदेशी पर्यटकलाई स्वागत गर्न हेलम्बुवासी तयार छन्।

धार्मिक आस्थासँगै हिमाली सौन्दर्यले मोहित बनाउने छ। यसको पूर्वाधार विकास र प्रवर्द्धन गर्न स्थानीय र प्रदेश सरकारले सहयोग पुर्‍याउनुपर्छ। अन्य पर्यटन संघ–संस्थासँगै ट्राभल एजेन्सीहरुले हातेमालो गर्न सके हेलम्बुको पर्यटन छिट्टै लयमा फर्किन गाह्रो छैन।

हेलम्बुलाई साहसिक पर्यटन गन्तव्यका रुपमा चिनाउन एभरेष्ट म्याराथन विजेता छिरिङ लामा ह्योल्मोले यसअघि म्याराथन र विभिन्न खेलकुड गतिविधि आयोजना गराउँदै हेलम्वुको पर्यटन प्रवर्धन गर्दै आएका छन्।

गत वर्ष छेच्यु पर्वको उत्सवमा ' हेलम्बु ५ किमी दौड' आयोजना गरेर हेलम्बुको प्रबर्द्धन गर्न सहयोग पुर्‍याएको छ। यसपल्ट कोरोना महामारीका कारण खेलकुद गतिविधि स्थगत गरिएको उनले जानकारी गराए। 

छेच्यु पर्वको अवसारमा सम्पुर्ण ह्योल्मो समुदायलाई शुभकामना तथा टासी देलेक! 

कसरी पुग्नेः काठमाडौं जोरपाटीदेखि साँखु, जहरसिंपौवा, मेलेम्ची हुँदै सेरमाथाङ करिब ६२ किमी, गाडीमा ३.५ घण्टा लाग्छ। त्यस्तै ट्रेकङ गर्दा सुन्दरीजल-चिसापानी-कुटुमसाङ-थारेपाटी-तार्केघ्याङ-सेर्माथाङ पदयात्राबाट पनि पुग्न सकिन्छ।
 

प्रकाशित मिति: : 2022-02-15 20:04:00

प्रतिकृया दिनुहोस्