एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारमै रहिरहने प्रचण्डको प्रस्ताव, देउवाले गरे अस्वीकार 

File Photo
File Photo

सत्तारुढ दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने प्रस्ताव गरेका छन्।

बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवाव बालुवाटारमा भएको छलफलमा प्रचण्डले माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्न र सरकारबाट नबाहिरिने प्रस्ताव गरे। तर, यसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन्।

सरकारमा रहेर सरकारकै प्रस्तावको विपक्षमा मतदान गर्न नमिल्ने भन्दै उनले एमसीसीको पक्षमा मतदान गर्न आग्रह गरे।

एमसीसीको पक्षमा माओवादी केन्द्रले मतदान गर्न नसक्ने प्रचण्डको जिकिरपछि प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका मन्त्रीलाई राजीनामा दिन लगाउन प्रचण्डलाई भनेका छन्।

एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने हो भने माओवादीबाट मन्त्री भएकालाई बर्खास्त गर्ने चेतावनी प्रचण्डलाई प्रधानमन्त्री देउवाले दिएको स्रोतको भनाइ छ।

‘तपाईंहरू एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारमा बसिरहन मिल्दैन,’ प्रचण्डलाई प्रधानमन्त्री देउवाकाे भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यदि एमसीसीको विपक्षमा मतदान गरेर सरकार बसे म तपाईँको पार्टीका मन्त्रीलाई बर्खास्त गर्छु।’

यसअघि बुधबार प्रधानमन्त्रीको सूचना लिएर खुलमटार पुगेका गृहमन्त्री बालकृष्ण खाँणसँग पनि प्रचण्डले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारमा बसिरहने बताएका थिए। यसपछि गृहमन्त्री खाँण एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए।

बुधबार गृहमन्त्री खाँणमार्फत प्रधानमन्त्रीलाई पठाएको सन्देशअनुसार नै बिहीबार देउवासँग प्रचण्डले एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने प्रस्ताव गरेका हुन्।

यसैबीच, बिहीबार अपरान्ह प्रधानमन्त्री देउवासहित कांग्रेसका शीर्ष नेता र अध्यक्ष ओलीसहित एमाले शीर्ष नेताबीच भेटवार्ता भएको छ।

एमसीसीमाथि छलफल गर्ने गरी बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि कांग्रेस र एमालेका शीर्ष नेताबीच भेटवार्ता भएको हो। 

प्रकाशित मिति: : 2022-02-24 15:00:00

प्रतिकृया दिनुहोस्