प्रचण्ड–नेपालकाे लाइनः गठबन्धन टुट्दैन, एमसीसी अघि बढ्छ

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण विभाजित बनेकाे पाँचदलीय सत्ता गठबन्धन फेरि जाेगिने अवस्थामा पुगेकाे छ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी अनुमोदनमा सघाउन तयार भएका छन्। 

माओवादी र एकीकृत समाजवादी एमसीसी अनुमोदनका लागि लचिलो हुने बताएकाे छ।

प्रचण्ड–नेपालले सिंहदरवार वार्तापछि एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको बताएका छन्। प्रचण्डले भने, ‘गठबन्धन टुट्दैन। एमसीसी पनि सहमतिको बाटोबाट अगाडि बढ्छ।’

प्रचण्ड र नेपालले संकल्प प्रस्ताव पारितसमेत गर्ने गरी निकास निकाल्ने भएका छन्। एमसीसीको अस्पष्ट विषयमा संसदमा एकपक्षीय घोषणाबाट संकल्प प्रस्ताव पारित गरी एमसीसी अनुमोदन पनि गराउने तयारी गरेका छन्।

प्रचण्ड र नेपालले एमसीसी निकासका लागि विकल्प तयार गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन जाेगाउन लागिपरेका छन्। सत्ता साझेदार माओवादी केन्द्रले गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय गरेर नयाँ सम्भावनाको ढोका खाेलेकाे संकेत गरेकाे छ।

प्रकाशित मिति: : 2022-02-26 18:55:00

प्रतिकृया दिनुहोस्