कालीगण्डकीको पानी तानेर गलेश्वरमा स्नानको व्यवस्था

File photo
File photo

कालीगण्डकी नदीको पानी तानेर म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरमा ल्याइएको छ। मन्दिर परिसरमा भक्तजनलाई कालीगण्डकीको पानीले स्नान गर्ने व्यवस्था मिलाइएको हो। मन्दिर परिसरमा कालीगण्डकीको पानी ल्याएपछि स्नानका लागि जोखिम मोलेर नदी किनारमा पुग्नुपर्ने बाध्यता हटेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए।

उनका अनुसार खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको सहयोगमा भक्तजनलाई स्नानका  लागि ‘लिफ्ट’ प्रविधिबाट पानी तानिएको हो। स्नानका लागि ११ वटा गौमुखी धारा जडान गरिएकोे छ। नदी किनारमा बनाइएको इनारबाट विद्युत्को सहायताले चल्ने ‘समसिबल वयल पम्प’बाट तानिएको पानी ४५ मिटर माथि रहेको ओभरहेड ट्याङ्कीमा सङ्कलन हुन्छ। नदीको किनारमा नौ मिटर गहिरो इनार बनाइएको छ। जमिनदेखि करिब २० फिट अग्लो २५ हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कीको पानी पाइपमार्फत धारामा पुयाइएको निर्माण समितिका सचिव राम बानियाँले बताए।

उनका अनुसार आयोजना निर्माणका लागि खानेपानी कार्यालयले रु ३६ लाख ७६ हजार उपलब्ध गराएकामा दाताबाट रु आठ लाख ८७ हजार सहयोग प्राप्त भएको थियो। नदी किनारमा नौ रोपनी जमिनमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिर दर्शन र पूजाआजाका लागि आउने भक्तजन स्नानका लागि नदी किनारमा पुग्ने गरेका थिए। महाशिवरात्रि, बालाचर्तुदर्शी, साउन महिनाको सोमबारका दिन मेला लाग्ने गलेश्वर पश्चिमको पशुपतिनाथ र मुक्तिनाथको प्रवेशविन्दु मानिन्छ।

मन्दिर परिसरमै कालीगण्डकीको पानी आएपछि स्नानका लागि किनारमा जाने समय बचत हुने, झन्झट र दुःख नहुनाका साथै स्नानका क्रममा चिप्लेर नदीले बगाउनेजस्ता जोखिम अब नहुने कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए। तेइस वर्षअघि निर्माण भएको गलेश्वर मन्दिरको छानालाई हालै पित्तलले छाएपछि थप आकर्षक देखिन थालेको छ। यसैबीच सामाजिक विकास कार्यालयको रु पाँच लाखको सहयोगमा कोषको कार्यालय र मन्दिर परिसर रङरोगन तथा मर्मत गरिएको छ। गत वर्ष निर्माण भएको बहुउद्देश्यीय सभाहलमा तीर्थयात्री निवास बनाउन लागिएको छ।

प्रकाशित मिति: : 2022-02-27 12:10:00

प्रतिकृया दिनुहोस्