उर्लाबारीको गोदावरी हस्पिटलको चरम लापरबाही, फरक समूहको रगत चढाएपछि बिमारीको मृत्यु

तारन्तर खोकी लागेपछि उपचारार्थ उर्लाबारीस्थित गोदावरी हस्पिटल भर्ना भएका थिए, स्थानीय अनिल अग्रवाल।

सामान्य बिमार भएकोले चाडै घर फर्कने विश्वासमा थिए उनका परिवारजन।
तर, सामान्य बिमारी ठानिएका अनिल चिकित्सकको लापरबाहीका कारण मृत्युवरण व्यहोर्न पुगे।
उर्लाबारी - ६ का  अनिल अग्रवाल, घर त के अब यो संसारमै नफर्कने गरी बिदा भएका छन्।
गोदावरी हस्पिटलका चिकित्सकले फरक समुहको रगत चलाउनाले उनको अकालमै मृत्युु भएको खुल्न आएको हो।
प्राप्त जानकारी अनुसार माघ ६ गते अनिललाई उपचारार्थ गोदावरी हस्पिटल भर्ना गरिएको थियोे। खोकी नरोकिएपछि केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले भनेका थिए। उपचारकै क्रममा विमारीलाई रगत आवश्यक भएको जनाउदै  गोदावरी हस्पिटलले उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी अस्पतालको रक्तसञ्चार केन्द्रमा रगत सिफारिस गरिदिएको थियो।

उसको (अनिल)  ए पोजेटिभ ब्लड ग्रुप थियोे´ मृतकका दाजु राजेश अग्रवालले भने - तर, गोदावरी हस्पिटलले बी पोजेटिभ रगत सिफारिस गरेछ, जसका कारण फरक समुहको रगत चलाइदिदा मेरो भाइले ज्यान गुमाउनु पर्यो।
थप रगतका लागि दमक रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रले रगत उपलब्ध गराउन ठाडै अस्वीकार गरेपछि अनिललाई फरक समुहको रगत चलाएको खुल्न आएको राजेशले बताए।

दोस्रो पटक रगत चढाउन दमक रेडक्रसमा सिफारिस गरिएपछि ए पोजिटिभ ब्लड ग्रुप भएका व्यक्तिलाई बी पोजेटिभ रगत मागिएको खुल्न आएको थियोे।

यसबीचमा मंगलबारे रक्तसञ्चारबाटै पहिलोपल्ट उपलब्ध रगत बिमारीलाई चढाइसकिएको थियोे, जुन बी पोजेटिभ थियोे।

हस्पिटलको लापरबाहीबारे सबुतसहित जानकारी गराउदा `ए मिस्टेक भएछ, आतिनु पर्दैन´ भन्दै गोदावरी हस्पिटलका संचालक र चिकित्सकले घटनालाई सामान्य रुपमा लिएको राजेशले बताए। हस्पिटलमा कार्यरत चिकित्सक शिवनारायण साहले ए पोजेटिभ रक्तसमुहका बिमारीलाई बी पोजेटिभ रगत चढाए लगत्तै अनिलको मृत्युु भएको हो।
कस्मेटिक पसल चलाउदै आएका अनिलका श्रीमती र दुई नाबालक सन्तान छन्।

अनिल अग्रवालको उपचारमा लापरबाही नै भएको हो त ? भन्ने जिज्ञासामा गोदावरी हस्पिटलका संचालकसमेत रहेका मेडिकल डाइरेक्टर डा. सुर्यनारायण साहले लापरबाही भएकै स्वीकारे। डा. साहले भने - `हाम्रोतर्फबाट प्राविधिक त्रुटी भएकै हो।´यद्यपि ब्लड ग्रुपको हेराफेरी मात्रै अनिल अग्रवालको मृत्युको कारक हुन नसक्ने पनि उनको भनाइ छ।
`फोक्सो कामै नलाग्ने अवस्थामा थियोे´ साहले भने - विमारीलाई निमोनियापनि थियोे।

माघ २६ गते मृत्यु भएका अग्रवालको दाहसंस्कार भैसकेको छ  । उपचारका कागजातहरु दसी प्रमाणका रुपमा राखिएकोले हस्पिटलका विरुद्ध केकस्ता कदम चाल्ने भन्ने बिषयमा व्यापार संघ, नगरपालिका र प्रहरीसंग छलफल भइरहेको मृतकका दाजु राजेश अग्रवालले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2022-02-28 03:09:00

प्रतिकृया दिनुहोस्