‘प्रदेश १ को नाम ‘कोशी–किराँत’

File Photo
File Photo

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोशी राख्न सुझाव दिएपछि मुख्यमन्त्री राजेन्द्रकुमार राईले काउन्टर जवाफ दिएका छन्।

उनले तत्कालीन एमालेको निर्णय तथा नेकपा हुँदाखेरिको संसदीय दलमा कोशी–किराँत राख्नुपर्छ भन्नेको बहुमत रहेको बताउँदै त्यसकै आधारमा आफ्नो पार्टी अगाडि बढ्ने बताए।

एमाले अध्यक्ष ओलीले झापामा आयोजित एक कार्यक्रममा प्रदेश १ को नाम कोशी हुनुपर्ने सुझाव दिएका थिए।

उक्त कुरा तत्कालीन नेकपाले नै अस्वीकार गरेको बताउँदै त्यसबेला कोशी नाम राख्नुपर्छ भन्नेको संख्या ३/४ जना मात्रै रहेका बरु सगरमाथा राख्नुपर्छ भन्ने बढी भएको उनले बताए।

‘स्वतन्त्र भोटिङ गर्ने हो भने बहुमत सांसदले किराँत–सगरमाथा राख्नुपर्छ भन्नेमा मत हाल्छन् तर, दुई तिहाई चाहिँ पुग्दैन,’ उनले भने, ‘त्यतिबेलाको नेकपा संसदीय दलको बैठकमा कुरा राख्दा सगरमाथा-किराँत राख्न बहुसंख्यकको सुझाव थियो। कोशी भन्ने त दुई चार मत मात्रै थियो। कोशीभन्दा त सगरमाथा भन्नेहरू धेरै छन्।’

राईले आफ्नो पार्टीको निर्णय र लाइन पनि विगतको एमालेले गरेको निर्णयको आधारमा भएको भन्दै तत्कालीन एमालेले कोशी–किराँत हुनुपर्छ भन्ने विषयमा निर्णय गरेको दाबी गरे।

‘मैले पुरानो निर्णयलाई, दस्ताबेजलाई हेर्ने हो भने यो ठाउँ भनेको कोशी-किराँत भनेर स्पष्ट साथ लेखिएको थियो,’ उनले भने, ‘त्यही आधारमा हाम्रो पार्टीको धारणा भनेको बहुपहिचानको आधारमा कोशी-किराँत हुनुपर्छ भन्ने हो।’

उनले आफ्नै कार्यकालमा यो विषयलाई टुंगोमा पुर्याउन पहल गर्ने पनि बताए। अर्को प्रसंगमा उनले आउँदो स्थानीय तहको निर्वाचनमा एमाले कमजोर हुने दाबी गरे।

आफ्नो पार्टी सुदृढ भइनसकेको भएपनि एमाले जस्ताको तस्तै नरहने उनले बताए। ‘गठबन्धन भयो भने एमाले शून्य जस्तै हुने देखिन्छ,’ उनले भने। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले अब एक महिने गठन पुनः गठन र प्रशिक्षणको कार्यक्रम चलाउने तयारी गरेको र त्यो चुनावको तयारी नै हुने पनि बताए।

प्रकाशित मिति: : 2022-03-08 11:40:00

प्रतिकृया दिनुहोस्