पार्टी फुटेपछिका उपेन्द्र: छाेडिगएकालाई स्वागत गर्न आतुर छन्, सरकार छाेड्ने छैनन् (भिडियाे)

आइतबार (वैशाख २३ गते) पार्टी फुटेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो पटक बुधबार पत्रकार सम्मेलन गरेका छन्।

सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका उनी मन्त्रीका रुपमा अमेरिका भ्रमणमा रहेकै समयमा पार्टी फुटेको थियो।

त्यसपछि उनी मंगलबार स्वदेश फर्किएर बुधबार पत्रकार सम्मेलन गर्दै पार्टी फुटलाई विभिन्न कोणबाट विश्लेषण गरेका छन्। उनी भन्छन्, ‘सैद्धान्तिक वा व्यक्तिगत रुपमा कुनै मतभिन्नता नभएको समयमा पार्टी फुट्यो। यसको कारण अरु केही नभएर केही व्यक्ति अत्यधिक महत्वाकांक्षाबाट प्रेरित भएको देखियो।’

व्यक्तिगत महत्वाकांक्षा भनेर उनले जसपा नेपाल फुटाएर जसपाको अध्यक्ष बनेका अशोक राई, महासचिव इश्तियाक राईलाई नाम नलिइ इङ्गित गरेका छन्। अशोक राईको नेतृत्वमा हाल बहुमत सांसद छन्। १२ जना सांसद रहेको जसपा नेपालबाट छुट्टिएर ७ जना राई नेतृत्वमा गएका छन्।

यसरी धेरै सांसद राई नेतृत्व पार्टीमा जानुलाई यादव भन्छन्, ‘सबैलाई मन्त्री पद दिने भनेर। पैसाको चलखेल गरेर लगिएको भन्ने छ।’ राई नेतृत्व नेताहरूको भनाइअनुसार त उनीहरूको पार्टीमा केन्द्रीय सदस्यको पनि बहुमत छ।

बुधबार पार्टी कार्यालय बालकुमारीमा भएको पत्रकारसम्मेलनमा नरम देखिएका यादव फुटेर गएकालाई पार्टीमा स्वागत गर्न तयार रहेको बताए। ‘जानुभएको साथीहरूसँग संवाद गर्न सकिन्छ’, उनले भने।

तर पार्टी फुटले संघीयतामाथि प्रश्न उठिरहेको समयमा लोकतन्त्र तथा संघीयता थप कमजोर हुने बताए। ‘आजको आवश्यकता संघीयतासहितको लोकतन्त्रलाई बलियो बनाउने बेला हो’, उनले भने, ‘तर राजनीतिक दलहरू संस्थागत रुपमा स्थिर हुन नसकेका कारण राजनीतिक प्रणाली नै धरापमा पर्ने हो कि भन्ने खतरा उत्पन्न भएको देखिन्छ।’

उनले यसरी संघीयतामाथि खतरा देख्नुको कारण भने छ। पार्टी त्यसै फुटेको होइन। कसैले फुटाएको हो। सिधा भन्ने हो भने– सरकार सञ्चालनमा रहेका ठुला दल एमाले– माओवादीले फुटाएका हुन्।

यसरी एकले अर्कोको पार्टी फुटाउँदै जाने हो भने संघीयतामाथि खतरा बढ्दै जाने यादवको सन्देश हो।

यादवले सरकारबाट कुनै दायाँबायाँ नहुने पनि पत्रकार सम्मेलनबाट सन्देश दिएका छन्। यद्यपि यादव र नेपका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल मिलेर सरकार ढलाउने चलखेल सुरु गरेको चर्चा थियो।

जुन चर्चालाई यादव निराधार भन्छन्। ‘म स्वास्थ्यसम्बन्धी कार्यक्रममा सहभागी हुन विदेश गएको समयमा यहाँ सरकार ढलाउने चलखेल भएको हल्ला भएछ’, उनले भने, ‘यो सबै निराधार, कपोकल्पित हो। यस्ताे कुनै योजना थिएन। छैन’

उनले पार्टी फुटे पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट दायाँबायाँ नहुने स्पष्ट पारे। ‘हामी अझै पनि सरकारमै छौँ। सरकारमै रहनेछौँ’, यादवले भने।

प्रकाशित मिति: : 2024-05-08 16:08:00

प्रतिकृया दिनुहोस्