मन्त्रीहरुले कमिसनका लागि ‘ब्ल्याकमेल’ गरिरहेको अध्यक्ष ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारका मन्त्रीहरुले कमिसनका लागि ‘ब्ल्याकमेल’ गरिरहेको आरोप लगाएका छन्।

आइतबार नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले अर्थतन्त्रको वर्तमान अवस्थाबारे गरेको अन्तर्क्रियामा बोल्दै उनले सरकारका मन्त्रीहरुले ब्ल्याकमेल’ गरिरहेको आरोप लगाएका हुन्। 

‘तपाईहरुलाई थाहा छ अहिलेको सरकार र सरकारका मन्त्रीहरु ब्ल्याकमेलरका रुपमा काम गरिरहेका छन्’ ओलीले भने, ‘कसैसँग पैसा माग्यो दिएन भने तिमीलाई यस्तो गरिदिन्छु, उस्तो गरिदिन्छु भनेर थर्काएर, ताला लगाएर, छापा मारेर, के गरेर हैरान पार्न सकिन्छ र अरु उद्यमी व्यवसायीलाई तर्साएर जे भन्यो त्यो गराउन सकिन्छ यस प्रकारका प्रवृतिहरु छन् ।’ 

विगतमा राज्यभन्दा बाहिरको समूहले लिने आपराधिक लाभ अहिले राज्यको बागडोर सम्हाल्नेहरुले नै लिइरहेको उनको भनाई थियो। 

‘हिजो राज्य भन्दा बाहिर बसेर गर्ने गरिन्थ्यो। अहिले त राज्यको बगडोर लिएर हिजोको एक्सटर्सन, आज फरक ढंगको एक्सटर्सनमा परिणत गर्न खोजिएको छ’ उनले भने। 

मुलुकको अर्थतन्त्र गम्भिर मोडमा पुग्दा पनि सरकारले चिन्ता नगरेको  उनले बताए। ‘यस्तो प्रवृत्ति अर्थतन्त्रका लागि गम्भीर, नकारात्मक र खतरनाक भएको छ।’ उनले भने। 


 

 

प्रकाशित मिति: : 2022-03-13 21:42:00

प्रतिकृया दिनुहोस्