गणतन्त्र समाप्त पार्ने खेल भइरहेको छ : महामन्त्री सिंह

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालमा गणतन्त्र समाप्त पार्ने खेल भइरहेको बताएका छन्।

दाङ घोराहीमा प्रगतिशील पत्रकार संघ नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजवादीहरुले गणतन्त्र, बहुदलीय व्यवस्था समाप्त पार्ने गरी अभियान चलाइरहेको बताए।

महामन्त्री सिंहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत राजवादीकै अभियानलाई बल पुग्ने गरी कार्यहरु गर्दै आएको आरोप लगाए।

उनले भने, 'राजवादीहरुले गणतन्त्र, बहुदलीय व्यवस्था समाप्त पार्ने गरी अभियान चलाइरहेका छन्।' ओलीले पनि राजावादीकै अभियानलाई बल पुग्ने गरी कार्यहरु गरिरहेका छन्।

उनले आफ्नो जनमोर्चा पार्टी गणतन्त्रको रक्षा गर्न लागि परेकाले अहिले पूँजीवादी गणतन्त्रमा मतभेद हुँदा हुँदै पनि समर्थन गरेको बताए।

उनले केही मतभेद हुँदैमा गणतन्त्रको पक्षमा लागिएन भने ठूलो संघर्षबाट आएको गणतन्त्र राजवादीको हातमा जाने भएकाले आफ्नो पार्टीले मतभेदकाबीचमै गणतन्त्रको रक्षाका लागि सरकारालाई समर्थन गरेको उल्लेख गरे।

सिंहले संसदीय व्यवस्थामा पनि अधिनायकवाद, फाँसीवाद मौलाउने बताए। उनले हिटलरको उदाहरण दिँदै नेपालमा पनि फेरि ओलीले चुनाव जिते अधिनायकवाद मौलाउने मात्र नभई ओलीले फाँसीवादसमेत ल्याउन सक्ने जिकिर गरे।

यस्तै उनले चुनावमा सकेसम्म गठबन्धन गरेर जाने तर काँग्रेसले नमाने आफूहरु एक्लै भएपनि चुनाव लड्न सक्षम रहेको जिकिर गरे। चुनावमा जित नै हात नपारे पनि देशमा भइरहेको गलत प्रवृत्तिको भण्डाफोर गर्न जनतामा आफूहरु जाने सिंहको भनाई छ।

प्रकाशित मिति: : 2022-03-14 11:30:00

प्रतिकृया दिनुहोस्