गाँजाको कपडा ? आश्चार्य पो मान्छन् !

‘ए ! यो गाँजाको कपडा ! गाँजाको पनि कपडा हुन्छ र ? यहाँ त आचार्य पो मान्छन्। कोही त आश्चार्य मान्ने मात्र होइन गाँजाको कपडा बेच्नेलाई गजेडी (खाँजा खाने मान्छे) हो क्या हो यो त ? भन्न समेत पछि पर्दैनन्।’

यो भनाइ यामबहादुर थापाको हो।

नवलपरासी पश्चिम घर भएका थापाले गाँजाबाट उत्पादित कपडा दाङमा बिक्री वितरण गर्न ल्याएका छन्। दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीमा आयोजना गरेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनीमा थापाले गाँजाबाट उत्पादिक विभिन्न कपडा बिक्री वितरण गर्नका लागि ल्याएका हुन्।

उनले गाँजाको कपडाको गुणस्तर राम्रो रहेको भन्दै यसको बजारीकरणका लागि काठमाडौंबाट मगाएर दाङ ल्याएको बताए। तर, गाँजाको कपडा भन्ने वित्तिकै विभिन्न शंका गर्ने र कपडा बेच्नेलाई नै हेलाको दृष्टिकोणले हेर्ने गरेको उनको भनाइ छ।

‘गाँजाबाट बनेको कपडाको गुणस्तर थाहा पाएकाले त किन्ने गरेका छन्। तर, राम्रो बिक्री हुन सकेको छैन,’ थापाले भने, ‘यहाँ त गाँजाको कपडा बेच्नेलाई हेलाको दृष्टिकोणले हेर्ने पो गर्छन।’

गाँजाको कपडा भन्ने बित्तिकै अन्य ठाउँमा पनि राम्रो बिक्री वितरण हुन नसकेको उनले बताए। विदेशीहरु बढी आउने ठाउँ काठडमौंँको ठमेल, पशुपति क्षेत्रलगायत ठाउँमा गाँजाको बोटबाट बनेको कपडाको बजार राम्रो रहेको भएपनि अन्य ठाउँमा भने यसले बजार पाउन नसकेको उनले बताए।

‘यो कपडा विशेष गरेर विदेशमा निर्यात गर्न काठमाडौँमा मात्र उत्पादन हुने गरेको छ। नेपालमा बजार खास्सै छैन,’ थापाले भने। उनले गाँजाबाट उत्पादित कपडा राम्रो र महंगो रहेको पनि बताए।

कृषि प्रदर्शनीमा कम मूल्यको मास्क (८०) देखि कुर्ती, टिसर्ट, ब्याग १००० बढी मूल्यको सामान थापाले बिक्री वितरण गर्न राखेका छन्। जुन कपडा बास्नारहित र गुणस्तरको रहेको थापाको दाबी छ।

नवलपरासीको बर्दाघाटमा अन्य कपडाको पसल सञ्चालन गरेका थापाले गाँजाको कपडालाई विस्तार गर्ने सोच बनाएका छन्। जसका लागि अब आफ्नो पसलमा पनि जाँगाका कपडा राख्ने उनले बताए। दास्रो पटक गाँजाको कपडा बिक्री गरेको बताउँदै थापाले पहिलो पटक बर्दाघाटमा नै सञ्चालन भएको महोत्सवमा उनले जाँगाबाट बनेको कपडा बिक्री गरेका थिए।

सरकारको नीति आवश्यक: व्यवसायी थापा

थापाले नेपालमा राम्रो उत्पादन रहेको गाँजालाई अझै फैलाउनुपर्ने बताउँछन्। जसका लागि सरकारले नीति गाँजा उत्पादन गर्ने खालको बनाउनु पर्ने उनको धारणा छ।

तर, अहिले सरकारले गाँजा उत्पादन र सेवन गर्न प्रतिबन्ध लगाएको छ। जाँगालाई लागूऔषधको रुपमा नेपालको कानुनले मानेको छ। गाँजा खेती गर्नुपर्ने र गर्नुहुँदैन भन्ने दुई धार नेपालमा छ।

तर, थापा गाँजा उत्पादनलाई नीतिगत रुपमा मान्यता दिए कृषि क्षेत्रमा लागेका किसालाई माथि उठाउन सहयोग पुग्ने बताउँछन्। ‘गाँजाको बारेमा धेरै जानकारी त छैन। तर, बुझेसम्म कम उब्जनी हुन जमिनमा पनि गाँजा उत्पादन हुन्छ,’ उनले भने, ‘यसलाई सरकारले मान्यता दिएमा कृषकलाई माथि उठाउन सहयोग पुग्नेछ।’

थापाले विदेशमा जाँगाबाट उत्पादित कपडाको राम्रो माग रहेको पनि दाबी गरे। महंगो भएपनि गुणस्तरको रहने भएकाले कपडाको माग राम्रो रहेको उनले बताए। उनका अनुसार नेपालमा आउने विदेशीले समेत व्यापारीले भनेकै मूल्यमा खरिद गर्ने गरेका छन्।

कृषि प्रदर्शनी ८ गतेसम्म

दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भइरहेकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८, चैत ८ गतेसम्म सञ्चालन हुँदै छ। जहाँ कृषिसम्बन्धी थुप्रै सामानहरु बिक्री वितरण गर्न राखिएको छ।

‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गतेदेखि घोराही १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइरहेको छ।

प्रदर्शनीको अवसरमा हेलीकप्टर मार्फत नागरिकले लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गरिररहेका छन्। सबै भन्दा बढी नागरिक प्यूठानको स्वर्गद्धारी जाने रहेका छन्।

प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड बढीको कारोवार हुने मुख्य आयोजक समितीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2022-03-20 06:47:00

प्रतिकृया दिनुहोस्