युद्धभूमिमा बुद्धपार्क (फोटो फिचर)

सशस्त्र द्वन्द्वबाट प्रभावित रोल्पामा गौतम बुद्धको मूर्ति निर्माण गरिएको छ। रोल्पा नगरपालिकास्थित गुरुङ गाउँमा बुद्धको मूर्ति बनाइएको हो।

मूर्तिसहित यस क्षेत्रमा रमणीय पार्क पनि छ। रोल्पामा निर्माण गरिएको बुद्ध पार्कबाट ‘रोल्पाले अब शान्ति चाहन्छ’ भन्ने सन्देश दिएको स्थानीयहरूको भनाइ छ।

दशवर्षे सशस्त्र द्वन्दको उद्गम थलोका रुपमा चिनिने रोल्पालाई युद्ध पर्यटनको रुपमा विकास गर्न जिल्लाका स्थानीय सरकारहरू लागि परेका छन्।

स्थानीय तहले युद्धसँग सम्बन्धित क्षेत्रमा मात्रै बजेट खन्याउने गर्छन्। तर रोल्पास्थित गुरुङ गाउँका समुदायले भने शान्तिको प्रतिक बुद्धको मूर्ति बनाएका छन्।

सशस्त्र द्वन्द्वको चपेटामा परेको रोल्पाले युद्ध होइन शान्ति खोजिरहेको सन्देश फैलाउन बुद्ध पार्क निर्माण गरीएको हो। यहाँका गुरुङ समुदायले आठ लाख बढीको लगानीमा बुद्ध पार्क निर्माण गरेका हुन्।

बुद्ध पार्क निर्माण गरिएको ठाउँ नजिकै रहेकाे ओडारमा सशस्त्र द्वन्द्वको समयमा विद्रोही माओवादीका लडाकुहरू सुत्ने गर्दथे। माओवादी लडाकू सुतेको ठाउँमा रोल्पा नगरपालिकाले गुरिल्ला सैन्य–कक्ष नामाकरण गरेको छ।

यहाँ द्वन्द्वका समयमा माओवादी लडाकूहरूले प्रयोग गरेका हातहतियार पनि राखिएको छ। बुद्ध पार्क निर्माण गरिएसँगै रोल्पाले विश्वभर शान्तिको सन्देश दिएको बुद्धिजीवीहरू बताउँछन्।

बुद्ध पार्कमा आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन्। यहाँ बुद्ध मूर्ति हेर्न आउनेको भीड हुने गरेकाे छ।

प्रकाशित मिति: : 2022-03-29 05:20:00

प्रतिकृया दिनुहोस्