एमालेलाई कमजोर बनाउन गठबन्धन बनेको हाे : हरिबोल गजुरेल (अन्तर्वार्ता)

file photo
file photo

धर्मराउँदै टिकेको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन र एमालेबीच स्थानीय निर्वाचनमा प्रतिस्पर्धा हुने निश्चित भएको छ। एमाले कमजोर नभएको निष्कर्षका आधारमा गठबन्धन बनेको हो। भन्न चाहिँ गठबन्धनमा रहेका पार्टीका नेताहरू एमालेलाई लक्षित गर्दै प्रतिगमनकारी शक्तिलाई पराजित गर्न गठबन्धन गर्नुपरेको बताउँछन्।

जसरी र जुन आधारमा गठबन्धन बने पनि सैद्धान्तिक रूपमा मेल नभएका पार्टीहरूबीच गठबन्धन भएको हो। भिन्न राजनीतिक कार्यक्रम र कार्यदिशा भएका पार्टीहरूबीच भएको हो। र, गठबन्धनको जोडबल गर्नेमध्येको एउटा पार्टी हो- नेकपा माओवादी केन्द्र। यही पार्टीका नेता हरिबोल गजुरेलसँग न्युज कारखानाले गठबन्धन गर्नुपर्ने बाध्यता र गठबन्धनको निरन्तरतालगायत सवालमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ :

राजनीतिक र सैद्धान्तिक धार नमिल्ने नेपाली कांग्रेससहितका दलहरूसँग निर्वाचनमा गठबन्धन गर्नुको अर्थ के हो ?

प्रतिगमनका खतराहरू टरेका छैनन्। कायमै छन्। खतरा कायम रहँदासम्म गठबन्धनको आवश्यकता रहिरहन्छ। कांग्रेस पनि प्रतिगमनविरुद्ध लडेको दल हो। र, प्रतिगमनलाई निर्वाचनबाट फेरि परास्त गर्न कांग्रेससहितका गठबन्धन बनेको हो।

कमजोर भएपछि गठबन्धनको सहारा लिन माओवादी बाध्य भयो होइन ?

गलत। माओवादी कमजोर भयो र गठबन्धन गर्‍यो भन्दै हिँड्यो भने त्यो पूरै गलत हुन्छ। त्यस्तो कसैले सोच्नु हुँदैन। माओवादी कमजोर भएका कारणले भन्दा पनि अहिलेको आवश्यकता र औचित्यको आधारमा भएको हो। फेरि, गठबन्धन प्रतिगमनको विपक्षमा एउटै मोर्चामा उभिएको हो। सडक संघर्ष गरेको हो।

यस्तो राजनीतिक पृष्ठभूमिबीच हामी (माओवादी) के प्रतिगमनको पक्षधरसँग गएर मिल्ने त? नैतिकताले दिन्छ ? सिद्धान्तले दिन्छ ? कम्युनिस्टको नाममा देशलाई प्रतिगमनमा लैजाने शक्तिसँग कसरी हुन्छ हाम्रो गठबन्धन ?

 तर, माओवादी कमजोर त छ नै। त्यही भएर गठबन्धन चाहेको सत्य हो। स्वीकार्नु हुन्छ ?

निर्वाचन परिणामको आधारमा त २०६४ सालको निर्वाचनपछि कमजोर भएकै हो। त्यो त सबैले देखिराखेकै हो। बुझेकै हो। तर, के एजेण्डाको आधारमा माओवादी कमजोर हो त ? कमजोर भन्न मिल्छ ? 

उसो भए जनमतको आधारमा माओवादी कमजोर हुँदै जानुको कारण के हो ? तपाईंको विश्लेषण के छ ?

अध्यक्ष प्रचण्डले प्रष्टसँग पार्टीको महाधिवेशनमा भनिसक्नु भएको छ त– वैचारिक अस्पष्टता भयो। अर्थात् विचारको विकास भएन। कटुवाल प्रकरणजस्ता घटना घटे। यस्ता घटनाले माओवादीलाई ठूलो क्षति पुर्यायो। र, कहिले मोहन वैद्य ‘किरण’, बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’ त कहिले नेत्रविक्रम चन्द ‘विप्लव’को दबाब र प्रभावमा परेर आफूलाई लागेको भन्दा फरक निर्णय गर्दा पार्टी यो अवस्थामा आइपुग्यो भनिसक्नु भएको छ। अब म सच्चिने र तपाईंहरू पनि सच्चिनुपर्छ भन्नुभएको छ।

अर्को प्रसङ्ग, गठबन्धन जाने चाहिँ कहाँसम्म हो ?

कहाँसम्म भन्ने भन्दा पनि पहिले बुझ्नुपर्ने कुरा के हो भने यो गठबन्धन विशिष्ट उद्देश्यका लागि बनेको हो। हामीले जनतालाई पनि बुझाउनुपर्ने छ। कार्यकर्तालाई पनि बुझाउनुपर्ने छ। किनभने प्रतिगमनविरोधी गतिविधिको रूपमा दुई चोटी संसद् भंग भयो। त्यो देखिरहेका छौँ। पुनर्स्थापित संसद् पनि ६ महिना बढी समयदेखि अवरुद्ध छ। यसले गर्दा एमालेलाई कसरी कमजोर बनाउने भन्ने उद्देश्यले गठबन्धन भएको हो। यो उद्देश्य पूरा नहुँदासम्म गठबन्धन कायम रहन्छ।

अर्को कुरा गठबन्धन आवश्यक भइसक्यो। सामान्य स्थितिमा पनि गठबन्धन नभइ स्थिर सरकार नबन्ने भयो। त्यही भएर निर्वाचनमा पनि गठबन्धन गर्ने अवस्थामा पुगेका हौँ। गठबन्धन गरेर निर्वाचन लडेपछि नजिता पनि राम्रै हात पार्न सकिन्छ। अलग अलग भएर निर्वाचन लड्दा त्यस्तो नहुन सक्छ। र, फेरि ६/६ महिनामा सरकार ढाल्ने खेल हुन्छ। त्यसकारणले पनि गठबन्धन आवश्यक छ। गठबन्धन प्रदेश र संघीय निर्वाचनपछिसम्म जान सक्छ।

कांग्रेसले त स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गर्‍यो। गठबन्धनको ‘मोडालिटी’बारे माओवादीको धारणा के हो ?

होइन, गठबन्धन गर्दा स्थानीय आवश्यकतालाई ध्यान दिनैपर्छ नि। सबै ठाउँमा एकै रूपले गठबन्धन कहाँ हुन्छ? हुँदैन। त्यही भएर हामी (माओवादी) स्थानीय आवश्यकताअनुसार नै गठबन्धन गर्नुपर्ने पक्षमा हो। 

प्रकाशित मिति: : 2022-03-30 20:40:00

प्रतिकृया दिनुहोस्