‘जुम्ला रारा अल्ट्रा म्याराथन’को तयारी पूरा, जिरो बिन्दुमा मुख्यमन्त्री शाहीले उद्घाटन गर्ने (भिडियो)

चैत २६ गतेकाे लागि मिति तोकिएको जुम्ला रारा अल्ट्रा म्याराथनको तयारी पूरा भएको छ।

२६ गते बिहान साडे ६ बजे कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरेपछि प्रतियोगिता सुरु हुने आयोजक संस्था कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताए।

‘सहभागी खेलाडीलाई रुटमा सहज बनाउन नेपाली सेना, रेडक्रस सोसाइटी र कर्णाली स्पोर्ट क्लवबाट एक सय २० जना स्वयंसेवक खटाइएको छ,’ उनले भने, ‘४९ किलोमिटरको दूरीमा पाँचवटा चेकप्वाइन्ट रहेका छन्। हरेक चेक प्वाइन्टमा डाक्टरहरुको टोली खटाइएको छ, भने रारामा फिजियो थेरापीसहितको टोली खटाइएको छ।’

उनकाअनुसार चौथा चेक प्वाइन्टमा एम्बुलेन्ससहितको स्वास्थ्यकर्मीको टोली राखिएको छ। प्रतियोगितामा सहभागी हुने खेलाडी सबैको नाम दर्ता भइसकेको उनले थपे।

‘रारासम्मको लागि नौ वटा जिल्लाका ५० जना खेलाडीले रजिष्ट्रेसन गराइसक्नु भएको छ। एक जना भारतबाट आइपुग्नु भएको छ भने १४ जना विदेशी खेलाडी फिर्ता हुनुभयो,’ उनले भने,‘पाँच किलोमिटरमा १६ वर्षमुनीका एक सय ५६ जना विद्यार्थी सहभागी हुने कुरा छ भने खुला पाँच किलोमिटरमा दुई सय २१ जनाको नाम दर्ता भइसकेको छ।’

अघिल्ला प्रतियोगिताभन्दा यो वर्ष सहभागी हुनेको संख्या बढेको आयोजकले जनाएको छ।

तेस्रो जुम्ला रारा अल्ट्रा म्याराथनलाई प्रमोशन गर्न पोखराबाट गायक बुद्धवीर लामा आउने कार्यक्रम छ भने अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धर, धर्म महर्जन लगायत बरिस्ठ खेलाडीहरु बाटोमा रहेको अध्यक्ष शाहीले थपे।

म्याराथनलाई सकेसम्म अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउने गरी तयारी गरिएको उनले बताए। उनले भने,‘रुटको जीपीएस ट्रयाकिङ, अल्टिच्युट मेजरमेन्ट, एक रुटदेखि अर्काे रुटसम्मको एकिन दूरीलगायत काम जगन्नाथ न्यौपानेले गर्नुभएको छ।’

अन्तर्राष्ट्रिय धावक हरि रोकायाले जुम्ला रारा अल्ट्रा म्याराथन एउटा पर्वको रुपमा मनाउनुपर्ने बताए।

‘यो पर्यटन प्रवर्द्धन गर्ने खेल हो। धेरै ठाउँमा यसको अलग महत्त्व छ,’ उनले भने, ‘अन्य क्षेत्रमा यस्ता म्याराथनको ठूलो महत्त्व छ। तर, हाम्रा सरकारी संयन्त्रहरु समेत यस्ता कुरालाई वास्ता गर्दैनन्।’

विगतमा खेलाडीले गरेको गुनासाका आधारमा यो वर्ष अन्तिम चेक प्वाइन्ट चुचारमारे लेखमा प्रशस्त खानेकुरा राखिएको अध्यक्ष शाहीले बताए। ‘यस पालीको अर्काे महत्त्वपूर्ण कुरा सबै खेलाडी र अफिसियलहरुको पाँच लाखसम्मको दुर्घटना बीमा गरिएको छ,’ उनले थपे।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः एक लाख २५ हजार, ६२ हजार ५ सय र ३७ हजार ५ सय राखिएको छ भने टप टेन हुनेलाई ६ हजार ५ सय पुरस्कार राशीको व्यवस्था गरिएको छ।

यसका अलबा कनकासुन्दरी गाउँपालिकाले सोही खेलमा आफ्नो पालिकाका खेलाडीलाई अलग्गै प्रतियोगिता गराउन लागेको वडा नम्बर १ का अध्यक्ष हरिबहादुर भण्डारीले बताए।

‘होम्रो गाउँपालिका निवासी खेलाडी प्रतियोगितामा प्रथम भएको खण्डमा दोहोरो पुरस्कार पाउनेछ भने अरु कुनै स्थान हासिल नगरे पनि पालिकाको मूल्यांकन अलग्गै हुनेछ,’ उनले भने,‘महिला पुरुष दुबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १५ हजारको बन्दोबस्त गरिएको छ।’

जुम्लादेखि रारासम्मको ४९ किलोमिटरको दूरीमा खेलाडीहरु २३ सय मिटरदेखि ४ हजार मिटरको उचाइमा दौडिनेछन्। धनवक रोकायाले भने, ‘यो संसारकै लोभलाग्दो रुट हो।’

प्रकाशित मिति: : 2022-04-07 17:28:00

प्रतिकृया दिनुहोस्