बिहिबार, ३१ जुलाई २०२५

नेतामा उन्माद, कार्यकर्तामा पश्चाताप

BreaknLinks
• • •

आज फाुगन १ गते अर्थात जनयुद्ध दिवस। आजकै दिन तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीले सशस्त्र विद्रोहको उद्घोष गरेको थियो। झण्डै दश वर्ष चलेको माओवादी सशस्त्र विद्रोहले देशमा ठूलो उथलपुथल ल्यायो।

परिवर्तनका लागि भन्दै रगतको खोलो बग्यो। करिव १७ हजार नागरिकले ज्यान गुमाए। सयौँ नागरिक अपाङ्ग तथा घाइते भए। कयौंँले अभिभावक गुमाए। हजारौँ आमाको सिन्दुर पुछियो। कुनै न कुनै रुपमा विद्रोहले लाखौँ नागरिक प्रभावित भए।

जनयुद्धकै बलमा राजतन्त्र ढल्यो। मुलुकमा गणतन्त्र र सघीयता आयो। संविधान बन्यो। लोकतन्त्र थप बलियो बन्यो। दुर्भाग्य, यती ठूलो परिवर्तनलाई माओवादीले संस्थागत गर्न सकेन। अन्याय, अत्याचार र परिवर्तनका लागि भन्दै भएको सशस्त्र विद्रोहले नागरिकको दैनिकीमा खासै परिवर्तन ल्याएन। बरु सत्तामा पुगेपछि पटक–पटक माओवादी पार्टी फुट्यो। पार्टी टुक्रा–टुक्रा भयो। कार्यकर्ताहरू छिन्नबिन्न भए। नेताहरू टुटफुटमै रमाउन थालेपछि मृत्युको प्रवाह नगरी विद्रोहमा लामबद्ध भएका कार्यकर्ताहरू पछुताउन थालेका छन्। तत्कालीन माओवादीका साख अहिले तहसनहसको अवस्थामा पुगेको छ।

आशा गरिएका नेताहरूले सानो–सानो समूहको नेतृत्व गरेर पार्टी चलाईरहेका छन्। तत्कालीन माओवादी नेताहरू मोहन बैद्य किरण, बाबुराम भट्टराई, नेत्र विक्रम चन्द विप्लवले छुट्टै पार्टी चलाएर बसेका छन्। सयौँ नेता र हजारौँ कार्यकर्ताहरूले पार्टी नै छोडिसकेका छन्। परिणामतः माओवादीले जनयुद्ध दिवसलाई समेत हर्ष उमङ्गले मनाउन नसक्ने परिस्थिति सिर्जना भएको छ। जनयुद्धमा हुँदा शक्तिशाली हतियार पट्काएर दिवस मनाउने माओवादी शान्ति प्रक्रियापछि कोठे बैठक र औपचारिकतामै दिवस मनाउनुपर्ने स्थितिमा पुगेको छ।

पछुताउँदै कार्यकर्ता

देशको मुहार फेरिन्छ। सुखका दिन आउँछन्। स्वदेशमै रोजगारी पाइन्छ। अन्याय र अन्त्याचारको अन्त्य हुन्छ। जनयुद्धमा लाग्दा माओवादीका धेरै कार्यकर्तालाई यस्तै लागेको थियो। जसले गर्दा ज्यानको बलिदान दिनसम्म कार्यकर्ताहरू तयार थिए। दुर्भाग्य, आम कार्यकर्ताहरूको यो सपना माओवादीले चक्नाचुर पारिदिएको छ। पार्टीले जनयुद्धकालीन सबै मुद्धाहरू कार्यकर्ताहरू अहिले पछुताउन थालेका छन्।

‘पार्टीले बाटो विराउँदा म जस्ता सयौं कार्यकर्ताहरू निराश हुनुपर्ने अवस्था आयो’ तत्कालीन जनमुक्ति सेनाका जवान मानबहादुर रावतले भने, ‘जनयुद्धको मुल उद्देश्य सोचेको जस्तो भएन, सुखका दिन आएन।’ पार्टीले वेवास्ता गरेकै कारण जनयुद्धमा शरीरमा लागेको बन्दुकका छर्रा फाल्न नसकेको उनको गुनासो छ।

राजधानीमै रमाउन थाले नेता

माओवादी कमजोर हुनुको अर्काे कारण हो नेताको राजधानी मोह। कुनै बेला जनताका घरआँगनमा रमाउने नेताहरू शान्तिप्रक्रियापछि भने प्रदेश तथा संघीय राजधानीमा रमाउन थालेका छन्। जनयुद्ध दिवसमा समेत नेताहरू जिल्लामा फर्कदैनन्। शान्ति प्रक्रियापछि माओवादी ओरालो लागेपनि नेताहरूमा उन्माद भने हटेको छैन।

मुस्कीलले चुनाव जितेका नेताहरू पनि प्राय गाउँ फर्कदैनन्। जनताको सुख, दुःखमा साथ नदिने भएपछि कार्यकर्तामा पनि पार्टीप्रतिको मोह घट्दै गएको छ। माओवादी नेता शक्तिबहादुर बस्नेत चुनाव जितेपछि जनताको घरदैलोमा पुगेका छैनन्। माओवादीका नेताहरू रामदिप आचार्य, सत्या पहाडी, मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल लगायतका नेताहरू जनताको घरदैलोमा कमै मात्र पुग्ने गरेका छन्।

ढल्न थाल्यो माओवादीको किल्ला

सशस्त्र विद्रोहको समयमा जाजरकोटलाई माओवादीले आफ्नो लालकिल्ला ठान्थ्यो। गाउँ–गाउँमा माओवादीकै शासन थियो। शान्ति प्रक्रियापछि अर्थात् २०६४ सालमा भएको पहिलो संविधान सभामा दुबै क्षेत्रमा बाजी मार्दै माओवादीले जाजरकोटलाई लालकिल्ला भएको प्रमाणित गर्‍यो। तत्कालीन क्षेत्र–१ बाट कालीबहादुर मल्ल र क्षेत्र–२ बाट भक्तबहादुर शाह विजयी भए।

त्यसपछि भने माओवादीको आरोलो यात्रा सुरु भयो। २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा क्षेत्र–१ बाट शक्तिबहादुर बस्नेत विजयी हुँदा क्षेत्र–२ दुइ माओवादीले आफ्नो साख जोगाउन सकेन।माओवादी उम्मेदवार भक्तबहादुर शाहलाई कांग्रेसका राजीवविक्रम शाहले धुलो चटाइ दिए।

२०७४ सालमा माओवादीलाई चुनाव जित्न एमालेको साहार लिनुपर्‍यो। एमालेको साथ पाउँदा पनि प्रतिनिधिसभातर्फ शक्तिबहादुर बस्नेतले ३२ हजार दुई सय ८१ मत मात्रै पाए। जबकी बस्नेतकै प्रतिस्पर्धी कांग्रेसका उम्मेद्वार राजिवविक्रम शाह एक्लैले २३ हजार दुई सय ८९ ल्याए। दुई प्रदेशमध्ये माओवादी र एमालेले एक–एक वटा भाग भाँडेर चुनाव जिते।

माओवादीको ओरालो यात्रा यतिकैमा रोकिएन्। २०७९ सम्म आइपुग्दा प्रदेशका दुबै क्षेत्र कांग्रेसलाई बुझाएर प्रतिनिधिसभामा जिताइदिनुपर्ने बिन्ति बिसाउनुपर्‍यो। गएको मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा कांग्रेसको साथ पाउँदा पनि शक्तिबहादुर बस्नेतलाई बस्नेतले ३४ हजार १ सय ५१ मत मात्रै ल्याए। जवकी पहिलो पटक चुनाव लडेका एमालेका निरज आचार्य एक्लैल २५ हजार १ सय २० मत ल्याए। यसरी १५ वर्षको अवधिमा माओवादीलाई आफ्नै लालकिल्ला जोगाउन धौ–धौ पर्ने अवस्था आएको छ। माओवादीको किल्ला ढल्नै लाग्दा नेताहरूमा जनयुद्धको धङधङी अझै हटेको छैन।

आधार इलाका उदाउँदै कांग्रेस

जुनीचाँदे गाउँपालिका–७ को जुनी बस्तीलाई माओवादीले आफ्नो विशेष आधार इलाका दाबी गर्छ। सशस्त्र विद्रोहमा ठूलो क्षति व्यहोरेको जुनी बस्तीमा कुनै बेला माओवादीमय थियो। तर पछिल्लो समय भने माओवादीको यो आधार इलाकामा नेपाली कांग्रेस उदाउन थालेको छ। गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा कांग्रेस मदनबहादुर बुढा मगर विजयी भए। २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र नेपाली काग्रेसलाई २१ मत गएको थियो। तर २०७९ कांग्रेसबाट जियी बुढाले १ सय ६२ मत प्राप्त ल्याउन सफल भए। उसो त जुनी बस्तीमात्र हैन माओवादीको साख ढल्दै गएको छ। २०७४ स्थानीय तह निर्वाचन जुनीचाँदे गाउँपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिका उपाध्यक्षसहित बिजय हासिल गरेको माओवादीले यसपालि बिरासत जोगाउन सकेन। माओवादी कमजोर हुँदै जाँदा कांग्रेस थप बलियो बन्दै गएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!