हिमामा माओवादी र मप्रति जनताको आशा छ : अम्मरराज शाही

Breaknlinks
Breaknlinks

२०७४ को स्थानीय तह निर्वाचनको बेला रोचक मतान्तरले नेकपा (माओवादी केन्द्र) विजयी भएको थियो। त्यसबेला जम्मा तीन मतान्तरमा निकटतम प्रतिद्वन्द्वी बनेको नेकपा एमाले विभाजित भएर समाजवादी र एमाले बनेको छ।

यस हिसाबले माओवादीलाई सहज छ। त्यसमाथि माओवादी केन्द्रबाट उम्मेदवार बनेका अम्मरराज शाही उमेरले जिल्लाकाे सबै पालिकाका उम्मेदवारभन्दा कान्छा छन्। युवा जोस र जाँगरलाई सदुपयोग गर्न पार्टीले टिकट दिएपछि उनी उत्साहका साथ चुनावी मैदानमा उत्रिएका छन्।

युवा उमेरका उनले आफ्नो कार्यक्रम पनि युवा लक्षित नै अगाडि सारेका छन्। ‘एक युवा एक उत्पादन’ उनको पहिलो प्राथमिकतामा हो।

शाहीले समाजवाद उन्मुख समृद्धि, आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि, पालिकास्तरमा एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान, रैथाने बालीहरुको संरक्षण र प्रवर्द्धनसहित कृषिको आधुनिकीकरण, यान्त्रिकरण र व्यवसायीकीकरणको ग्यारेन्टी, उद्यमशीलताको विकास र रोजगारीको विस्तारसहितका महत्वाकांक्षी तर पूरा गर्न सकिने योजना अगाडि सारेका छन्।

‘हामीले निः शुल्क आधारभुत स्वास्थ्य सेवाको सुनिश्चितताका लागि एक वडा एक स्वास्थ चौकी, केन्द्र र पालिकास्तरमा आधारभूत अस्पताललाई पूर्ण क्षमतामा संचालन गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘हामीप्रति जनताको आशा र भरोसा छ। जित्ने र काम गरेर देखाउन सक्ने क्षमता पनि हामीसँगै छ।’

उनले वडा नं. ७ धाँचुगाउँमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गरेर जनशक्ति थप गरी हिमाको आधारभूत स्वास्थ्य केन्द्रमार्फत विशेषज्ञ सेवा प्रदान गरिने बताए।

‘हिमा गाउँपालिका भित्रका सम्पूर्ण नागिरकहरुको निशुल्क स्वास्थ्य बीमा गरिनेछ,’ उनले भने, ‘सुत्केरीहरुलाई सुत्केरी स्याहार भत्ता स्वरुप एकमुस्ट पाँच हजार प्रदान गरिनेछ।’

उनले सार्वजनिक गरेको कार्यक्रमहरुमा रैथाने बालीको संरक्षण र प्रवर्द्धनका साथै कृषि क्षेत्रको आधुनिकीकरण गरी बढी भन्दा बढी उत्पादन लिने छ भने साना र मझौला किसानहरुको श्रम सहकारी संगठन, समूहको निर्माण गरिने उल्लेख छ।

’हामी किसानलाई सहुलियत ऋण, अनुदान, व्यावसायिक तालिम प्रविधि, प्राविधिक जनशक्ति र बजारीकरणमा आवश्यक सहुलियतको ग्यारेन्टीसहित कृषकलाई कृषि बिमाको व्यवस्था गर्नेछौं,’ उनले भने, ‘कृषकलाई पशुपालनमा उत्प्रेरित गरी पशु बीमाको व्यवस्था गरिने छ। स्याउ खेतिमा उत्प्रेरित गरी स्याउ बिमाको व्यवस्था गरिनेछ।’

उनले गाउँका युवाहरुमा देखिएका बेरोजगारी समस्यालाई समाधान गर्ने विषयमा प्रभावकारी योजना सार्वजनिक गरेका छन्। ‘आम बेरोजगारको समस्या समाधान गर्न गरिबी निवारणका कार्यक्रम ल्याइनेछ,’ उनले भने, ‘टोलटोलमा सहकारी, घरघरमा रोजगारीको व्यवस्था गर्ने गरी योजना बनाउँनेछौं।’

हालसम्म हिमा गाउँपालिकामा १२ कक्षासम्म पढाइ हुने एक विद्यालयबाहेक प्राविधिक शिक्षा पढाइ हुने स्कुल, कलेजहरु छैनन्। यो समस्यालाई समाधान गर्न अम्मरराजले युग सुहाउँदो प्राविधिक उत्पादन गर्ने तथा प्रविधिमैत्री शिक्षा बनाइने प्रतिबद्धता जनाएका छन्।

‘शिक्षा नीतिलाई आवश्यकताका आधारमा परिमार्जन गरी गुणस्तरीय शिक्षाका लागि ठोस कार्ययोजना कार्यान्वयनमा ल्याइनेछ,’ उनले थपे, ‘प्राविधिक शिक्षालाई जोड दिँदै पालिका स्तरमा बहुप्राधिक शिक्षालय स्थापना गरिने छ भने हिमा आवासीय विद्यालयको थप स्तरोन्नतिसहित स्थायी सञ्चालनको सुनिश्चितता गरिनेछ।’

प्रत्येक शैक्षिक संस्थाहरुलाई भौतिक पूर्वाधार र सुचना प्रविधिसँग जोडिने, शैक्षिक संस्थाहरु पूर्ण क्षमतामा सञ्चालन गर्न शिक्षक दरबन्दीको सुनिश्चितता गरिने र यसरी उत्पादित जनशक्तिले खस सभ्याताको खोजी तथा अध्ययन अनुसन्धान गर्ने विषय पनि उनको प्राथमिकतामा परेका छन्।

उनले वातावरणमैत्री पूर्वाधारलाई दिगो विकासको आधार मानेका छन्। ‘पालिका केन्द्रसम्म ग्राविल सडकसहित सबै वडाक केन्द्रसम्म सबै मौसममा यातायात सुचारु गर्न सकिने सडक सञ्जाललाई पूर्णता दिइनेछ,’ उनले भने, ‘यातायातमा सबैको सुलभ र सहज पहुँचका लागि पालिकाले हिमा सार्वजनिक यातायात सेवा सुचारु गर्नेछ। यसले थप रोजगारीको सिर्जनासहित पालिकाको आर्थिक समृद्धिमा टेवा पुर्याउने मेरो विश्वास छ।’

उनले हिमामा नेकपा माओवादी केन्द्र विजयी हुने र काम गरेर देखाउनेमा दुईमत नरहेको बताए। ‘हिमाको विकास हामीले गर्न सक्ने विषयमा जनता विश्वस्त रहेकाले निर्वाचन जितिने पक्का छ।’

प्रकाशित मिति: : 2022-05-09 19:40:00

प्रतिकृया दिनुहोस्