निर्वाचनकाे अन्तिम परिणाम सार्वजनिक, प्रतिनिधिसभातर्फ ३३.१० प्रतिशत महिला निर्वाचित

निर्वाचन आयोगले आमनिर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक गरेको छ। बुधबार आयोग कार्यालयमा भएको पत्रकार सम्मेलनमार्फत् आम निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको हो।

यस्तै आयोगले प्रतिनिधिसभातर्फको अन्तिम मतपरिणाम भोलि बिहीबार राष्ट्रपतिसमक्ष पेस गर्ने जनाएको छ। प्रदेशसभातर्फको अन्तिम मतपरिणाम आउँदाे २ पुसमा  प्रदेश प्रमुखसमक्ष बुझाइने निर्वाचन आयाेगले जनाएकाे छ।

आयोगले तयार पारेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन्। जसमध्ये प्रतिनिधिसभातर्फ १८४ जना पुरुष (६६ दशमलव ९० प्रतिशत) र ९१ जना महिला (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएका आयोगले जनाएको छ।

यता प्रदेशसभातर्फ ३५० जना पुरुष  (६३ दशमलव ६४ प्रतिशत) र महिला २०० जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएका छन्।

यसपटकको आम निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८६ वटा राजनीतिक दलमध्ये ६१ वटा र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका आयोगले उल्लेख गरेको छ।

प्रकाशित मिति: : 2022-12-14 15:16:00

प्रतिकृया दिनुहोस्