आइतबार, ०३ अगस्ट २०२५

किन घट्यो एमालेको लोकप्रिय मत?

File Photo
• • •

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को लोकप्रिय मत घटेको छ। २०६९ वैशाखमा भएको स्थानीय तह निर्वाचन भन्दा हालै भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेको लोकप्रियता घटेको तथ्यांकले देखाएको छ।

एमालेसंगै जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को समेत लोकप्रिय मत घटेको देखिन्छ। निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक तर्फको मतपरिणामको तथ्यांक अनुसार एमाले, जसपा र माओवादी केन्द्रको मत घटेको हो।

स्थानीय तहको निर्वाचनमा पाएको मत भन्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेको ७.०५ प्रतिशत, जसपाको १.०२ प्रतिशत र माओवादी केन्द्रको ०.७७ प्रतिशत मत घटेको छ।

स्थानीय तहको निर्वाचनमा १ करोड १२ लाख ८ हजार १९५ मत सदर रहेको थियो। यस्तै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर रहेको छ। एमालेले प्रतिनिधिसभा तर्फ ३८ लाख ९ हजार ६९८ मत अर्थात ३४ प्रतिशत मत स्थानीय तहको निर्वाचनमा पाएको थियो भने अहिलेको निर्वाचनमा २८ लाख ४५ हजार ६४१ मत अर्थात २६.९५ प्रतिशत मात्रै मत पाएको छ। जसअनुसार एमालेको ७.०५ प्रतिशत मत घटेको छ।

यस्तै जसपाले स्थानीय तह निर्वाचनमा ५ लाख ५७ हजार ५२४ मत अर्थात ५ प्रतिशत पाएको थियो भने अहिलेको आम निर्वाचनमा समानुपातिक तर्फ ४ लाख २१ हजार ३१४ अर्थात ३.९८ प्रतिशत मात्रै हो। यस हिसावले जसपाको १.०२ प्रतिशत मत घटेको छ।

यसैगरी माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा १३ लाख ३७ हजार ९०५ मत अर्थात ११.९ प्रतिशत मत पाएको थियो। तर अहिलको निर्वाचनमा समानुपातिक तर्फ माओवादीले ११ लाख ७५ हजार ६८४ मत अर्थात ११.१३ प्रतिशत मात्रै हो। यस हिसाबले माओवादी केन्द्रको ०.७७ प्रतिशत लोकप्रिय मत घटेको देखिन्छ।

मधेसमा पनि एमालेको लोकप्रिय मत घटयो

देशैभरी एमालेको लोकप्रिय मत घटेसंगै मधेस प्रदेशमा समेत एमालेको लोकप्रिय मत घटेको देखिन्छ।

स्थानीय तह निर्वाचन–२०७९ मा कुल सदरमत मत २२ लाख ५७ हजार ४२० रहेकोमा एमालेको ४ लाख ९८ हजार ५७ मत (२२.०६ प्रतिशत) रहेको छ। तर संसदीय निर्वाचन–२०७९ कुल सदरमत मत २० लाख ८६ हजार २९८ रहेकोमा एमालेको ३ लाख ५१ हजार ७६८ मत (१६.६८प्रतिशत) मात्रै रहेको छ।

किन घट्यो एमालेको लोकप्रिय मत?

देशभरिका साथै मधेसमा समेत एमालेको लोकप्रिय मत घटेपछि एमाले नेताहरु चिन्तित छन्। एमालेले विचार, सिद्धान्त तथा कार्य शैली नै नमिल्ने पार्टीसंग चुनावी तालमेल गर्नु र निर्वाचनअघि नै शीर्ष नेताहरुले पार्टी परित्याग गर्नुले प्रभाव परेको राजनीतिक विश्लेषक बताउँछन्।

राजनीतिक विश्लेषक संजय तिवारीका अनुसार एमालेबाट स्थायी कमिटीका सदस्य प्रभु साहसहितले पार्टी परित्याग गर्नुका साथै विचार नमिल्ने पार्टी जसपा, राप्रपालगायतसंग चुनावी तालमेल गरेकाले एमालेको लोकप्रिय मत घटेको हो।

‘निर्वाचन अघि विभिन्न पार्टीबाट एमाले प्रवेश गर्नेको लहर चलेको थियो। तर त्यो सबै लहर निर्वाचनमा हरायो। प्रभु साह जस्ता नेताहरुले एमाले परित्याग गरेपछि मधेसका साथै देशैभर एमालेको लोकप्रिय मत घटेको हो’, तिवारीले भने, ‘घनश्याम भुसाल, भिम रावल जस्तालाई एमालेले टिकट नदिनु, रवि लामिछानेको पार्टी जबरजस्त आउनुलगायतका कारणहरु छन्।’

तत्कालीन नेकपा विघटन हुँदा माओवादीमा रहेका नेता प्रभु साहले एमाले रोजेका थिए। साहको एमाले प्रवेशले स्थानीय तह निर्वाचनमा मधेसमा राम्रो नतिजा आएको थियो। लोकप्रिय मत बढेको तथ्यांकले देखाउँछ भने साहले एमाले परित्याग गरेपछि आम निर्वाचनमा लोकप्रिय मत घटेको स्पष्ट नै देखिएको उनको विश्लेषण छ।

कसले कति सिट पाए?

एमालेले लोकप्रिय मत नल्याए पनि अरु दलभन्दा बढी मत ल्याएर समानुपातितर्फ ठुलो दलको रुपमा बनेको छ। एमालेले ३४ सिट कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, स्वतन्त्र पार्टीले १३ सिट, राप्रपाले ७ सिट, जसपाले ५ सिट र जनमत पार्टीले ५ सिट समानुपातिक तर्फबाट पाएका छन्।

बिहिबार, मंसिर २२, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)