रोल्पाको त्रिवेणीमा एमाले–कांग्रेसकाे गठबन्धन, के होला परिणाम ?

चुनावको मिति नजिकै आउँदासमेत अन्यौलमा रहेको रोल्पाको त्रिवेणीमा एमाले–कांग्रेसकाे गठबन्धन अन्तत सफल भएको छ।

उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिने समयसम्म कुरा नमिलेको गठबन्धनको कुरा समय घर्केसँगै मिलेको छ।

कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका आशा केसीले आफ्नो उम्मेदवारी फिर्ता दिएपनि एमालेको तर्फबाट उपाध्यक्षको उम्मेदवार जानकी बुढाले भने फिर्ता लिएका थिएनन्।

तर, अहिले दुई दलबीचको सहमतिअनुसार अध्यक्षमा एमालेका कर्ण बाँठा र उपाध्यक्षमा कांग्रेसका लेखमणी डाँगीलाई अघि सार्ने सहमति भएसँगै गठबन्धनको टुङ्गो लागेको हो। गठबन्धनको टुङ्गो लागेसँगै अहिले उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन्।

एउटा वडामा पनि गठबन्धन

गाउँपालिकामा गठबन्धन गरेको कांग्रेस र एमालेले त्रिवेणीका सबै वडामा गठबन्धन गर्ने प्रयास गरेपनि त्यो भने सफल भएन।

गाउँपालिकाको सबै वडामा गठबन्धनको प्रयास भएपनि सहमति हुन नसकेपछि १ नम्बर वडामा मात्र गठबन्धन भएको छ। १ नम्बर वडामा वडाध्यक्ष र दुईटा सदस्य कांग्रेसले लिएको छ भने दुईटा सदस्य एमालले लिएको छ।

के होला परिणाम !

अघिल्लो निर्वाचनमा एक्लै जित हासिल गरेको एमालेले यस पटक भने कांग्रेसको साथ खोजेको छ। अघिल्लो निर्वाचनमा एमालेका शान्तकुमार ओली ३ हजार ३ सय ३३ मतका साथ विजयी हुँदा माओवादी केन्द्रका गंगाप्रसाद बुढाले ३ हजार १ सय १२ मत प्राप्त गरेका थिए।

नेपाली कांग्रेसका कमलप्रसाद बुढाले ९ सय ८४ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार कुलानन्द गिरीले ७ सय ५८ मत पाएका थिए। अघिल्लो निर्वाचनको परिणाम हेर्दा अहिले गठबन्धनलाई केही सहज देखिए पनि एमाले विभाजनको असर र नयाँ मतदाता नै निर्णायक हुने देखिएको छ।

प्रकाशित मिति: : 2022-05-09 17:05:00

प्रतिकृया दिनुहोस्