रोल्पा–रुकुमका घटनाप्रति गृहमन्त्रीको चासो, आरोपितहरू धमाधम पक्राउ

रोल्पा र रूकुममा माओवादी कार्यकर्ताहरूले काँग्रेसका कार्यकर्ताहरूमाथि खुकुरी प्रहार गर्ने क्रम दैनिक बढ्दै गएपछि गृहमन्त्री बालकृष्ण खाँडले चासो दिएका छन्।

गृहमन्त्रीको निर्देशनपछि रोल्पा, रूकुम पूर्व र पश्चिमका विभिन्न घटनामा संलग्न माओवादी कार्यकर्ताहरू धमाधम पक्राउ परेका छन्।

सोमबार राति रोल्पाको गंगादेव गाउँपालिका–५ मा भएको घटनाका बारेमा सुरूमा प्रहरीले उजुरी लिन नमानेपनि गृहमन्त्रीको निर्देशनपछि बल्ल प्रहरीले उजुरी लिएको थियो। जिल्लामा काँग्रेस कार्यकर्ताहरूमाथि दैनिक खुकुरी प्रहार हुन थालेपछि मंगलवार गृहमन्त्रीले नेपाली काँग्रेसका जिल्ला सभापतिहरूसँग घटनाको जानकारी समेत लिएका थिए। गृहमन्त्रीको निर्देशनपछि जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विनोद घिमिरे अहिले घटना स्थलमा खटिएका छन्। प्रहरीले मंगलवार मात्रै खुकुरी प्रहारमा संलग्न एक व्यक्तिलाई सल्यानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा गंगादेव गाउँपालिका–५ का २४ वर्षिय प्रकाश केसी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। केसीलाई सल्यानको थारमारेस्थित रोशन ग्यारेजबाट पक्राउ गरेको हो।

सोमबार बेलुका करिब ८ बजेतिर गंगादेव गाउँपालिका –५ मा माओवादी केन्द्र निकटको वाइसीएलका राजेन्द्र परियार, नवराज महर र पक्राउ परेका केसीको समूहले खुकुरी प्रहार गर्दा कांग्रेस निकट तरूण दलका वडाध्यक्ष ३० वर्षिय मनबहादुर बुढा र २० वर्षिय कमल बुढा घाइते भएका थिए। घाइते मध्ये मनबहादुरको कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ।

रूकुममा पनि धमाधम पक्राउ

गत वैशाख १९ गते माओवादी र एमालेबीच भएको झडपमा परि बेपत्ता भइ सोमबार मृत फेला परेकी रूकुम पूर्वको पुथाउत्तरगंगा वडा न.११ कि एक महिलाको हत्यामा संलाग्न भएको आरोपमा प्रहरीले सोही वडाका बहालवाला वडा अध्यक्ष जय कुमार बुढा, माओवादीबाट हालका वडा अध्यक्षका उम्मेदवार कुमार सिंह र माओवादी कार्यकर्ता अर्जुन बुढालाई प्रहरीले पक्राउ गरेको छ। सोही वडाको उपल्लो सेरास्थित जंगलमा ३९ वर्षिया जुनमाया बुढा मगरको शव फेला परेको थियो। उक्त घटनाको विषयमा नेकपा एमाले रूकुम पूर्वले विज्ञप्ति जारि गर्दै माओवादीले अपहरण गरेर बलात्कार गरि हत्या गरेको जनाएको थियो।

यस्तै रूकुम पश्चिममा काँग्रेस कार्यकर्तालाई कुटपिट गर्न नपाएको भन्दै प्रहरी चौकी आक्रमण गर्ने नेकपा माओवादी केन्द्रका त्रिवेणी गाउँकमिटी रूकुम पश्चिमका अध्यक्ष गणेशबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

गत बिहिबार नेपाली काँग्रेसका कार्यकर्तासँग झपड भएको र काँग्रेसका कार्यकर्ताहरू ज्यान जोगाउन प्रहरी चौकी पुगेको बेला माओवादी कार्यकर्ताले त्रिवेणी गाउँपालिका–९ स्थित नुवाकोट प्रहरी चौकी तोडफोड गरेर काँग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए। यस बिषयमा गृह मन्त्रालयले प्रदेश कार्यालयबाट अनुगमन टोली समेत खटाएको थियो।

यस्तै, आठबीसकोटमा कांग्रेस कार्यकर्ताको मोटरसाइकल आगजनी गरेको आरोपमा प्रहरीले माओवादी कार्यकर्ताहरू आठबिसकोट नपा–१० का २३ वर्षीय विशाल ओली र १८ वर्षीय प्रेम प्रकाश ओलीलाई पक्राउ गरेको छ।

प्रकाशित मिति: : 2022-05-11 09:04:00

प्रतिकृया दिनुहोस्