सुकुम्बासी बने तुलसीपुरकाे मेयर

Breaknlinks
Breaknlinks

तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार टीकाराम खड्का मेयर पदमा विजयी बनेका छन्। 

संघर्षमय जीवन गुजारेका उनी पाँच दलीय गठबन्धनलाई हराउँदै मेयर पद विजयी भएपछि तुलसीपुरमा बेग्लै उत्साह छाएकाे छ। कठिन परिस्थितिमा खड्काले तुलसीपुरमा एमालेको विरासत जोगाएकाे कतिपय चर्चा गर्छन्।

खड्कालाई हराउन पाँच दलीय गठबन्धन चुनावी मैदानमा उत्रियाे। जसका बाबजुद पनि उनलाई जनताले तुलसीपुरको नेतृत्व गर्न पठाएका छन्। जीवनमा कठिन संघर्ष गरेका खड्काले आफूलाई सधैं संघर्षका बीचमा मात्र सफलता मिल्ने बताउँछन्।

कुनै समय साहुको घरमा हली बसेर पढेका थिए– खड्का। आज उनै खड्का तुलसीपुरको मुली (मेयर) बनेका छन्। तुलसीपुर–१८ निवासी खड्का पार्टीभित्र इमान्दार र सादगी नेताका रूपमा चिनिन्छन्।

त्यससँगै उनी सर्वहारा नेता हुन्। उनको अहिले पनि आफ्नो जग्गा जमिन छैन। उनले ऐलानी जग्गामै घर बनाएका छन्, सानो बारी छ। त्योभन्दा अन्त कहिँ पनि जग्गा नभएको उनी बताउँछन्। ‘मेरो जग्गा यत्ति हो, यो पनि ऐलानी हो,’ उनले भने, ‘बुवाले जोतभोग गरेको ५/७ कठ्ठा ऐलानी जग्गा छ, त्यसैमा जोगभोत गर्दै आएको छु।’

०२३ मंसिर २० गते जन्मिएका खड्का आमा सुन्तली खड्काको काखमा हुर्कन पाएनन्। उनीले एक वर्षको हुँदा नै आमा गुमाए। १४ बर्षको हुँदा बुबा पनि गुमाए। त्यतिबेला उनको परिवारमा उनी र उनकी दिदी मात्रै थिइन्।

बुवाआमालाई गुमाएपछि उनले १४ बर्षदेखि जीवनमा संर्घष गर्नुपर्यो। उनी जमिनदारको घरमा हली बसे र युवा अवस्था हली बसेरै बित्यो। हली बसेको पैसाबाट उनी पढ्ने र आफ्नो गुजारा चलाउथे।

कक्षा १० सम्मको शिक्षा जनता संस्कृत माध्यामिक विद्यालय विजौरी दाङमा लिए। त्यसपछि उनले भारतको गोरखपुरबाट एसएलसी पास गरे। भारतमा काम गर्दै पढ्दै गरेका खड्काले भारतबाटै कमाएर घरको २५ हजार ऋण तिर्न सकेको बताउँछन्।

उनी १९ वर्षको ०३५/३६ सालतिर पञ्चायतविरूद्ध उभिँदै उनी माले निकट अनेरास्ववियुमा आवद्ध भएर राजनीतिक यात्रा सुरू गरे। त्यसपछि उनी पूर्णकालीन राजनीतिमा सक्रिय भए। उनी अनेरास्ववियुको जिल्ला कमिटी सदस्य हुँदै ०४३ सालमा सहसचिव भए। उनी पञ्चायतविरूद्धको आन्दोलनकै क्रममा २०४४ सालमा जेलसमेत परेका थिए।

०४५ सालमा अखिल नेपाल किसान संघको जिल्ला सदस्य हुँदादेखि नै पूर्णकालिन कार्यकर्ताको रूपमा भूमिगत भए। ०४६ सालको जनआन्दोलन अन्त्य भएपछि उनी रोल्पा जिल्ला कमिटी उपसचिव हुँदै जिल्ला सचिवसमेत भए। रोल्पामा पार्टी निर्माणमा खड्काको भूमिका खेलेका थिए।

उनी रोल्पाको सचिव हुँदा २०५१ सालमा भएको मध्यावधी निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए। त्यतिबेला राप्रपाका बलाराम घर्तीमगरसँग उनी पराजित भए। त्यसपछि उनलाई २०७४ सालमा भएको निर्वाचनमा लुम्बिनी प्रदेशबाट समानुपातिक उम्मेदवार बनाइएको थियो।

तर, समानुपातिक सांसदमा महिला, जनजातिलाई प्राथमिकता दिनुपर्ने भएपछि समानुपातिकमा पनि उनी परेनन्। उनले एकपटक राजनीतिक नियुक्त पाएका छन्। ०७२ सालमा उनी सुकुम्वासी समस्या समाधान आयोग दाङको अध्यक्षसमेत भए। तर, त्यसमा लामो समय काम गर्न पाएनन्।

३ महिना मात्रै काम गर्ने अवसर पाए। त्यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री भएको अवस्थामा उनले राजनीतिक नियुक्ति पाएका थिए। तर, तीन महिनामै आयोगका सन्दर्भमा मुद्दा परेपछि अदालतले कामकाज अगाडि नबढाउन भनेपछि त्यत्तिकै रोकियो।

उनी दाङमा जिल्ला कमिटीमा रहेर ०७२ देखि २०७८ सम्म नेकपा एमाले दाङको अध्यक्ष बनेर नेतृत्व गरे। खड्का तत्कालीन एमाले र माओवादी एकीकरण पश्चात बनेको नेकपा दाङको अध्यक्षसमेत बन्ने अवसर पाए। उनी हाल एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवालय सदस्य छन्।

प्रकाशित मिति: : 2022-05-25 17:09:00

प्रतिकृया दिनुहोस्