विमान दुर्घटना : मृतकका शव बुझ्नेबेला भावविह्वल बन्याे अस्पताल (भिडियाे रिपाेर्ट)

तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारले बुझेका छन्। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव पोस्टमार्टमपछि बिहीबार परिवारले बुझेका हुन्।

आइतबार पोखराबाट जाेमसाेमका लागि उडेको तारा एयरको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

उक्त विमान दुर्घटनामा परी चालक दलका तीन सदस्य, १३ नेपाली, चार भारतीय र दुई जना जर्मन नागरिकको मृत्यु भएको थियो। दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव मृतकका परिवार र आफन्तलाई बुझाइएकाे हाे।

दुर्घटनामा ज्यान गुमाएका मृतककाे शव बुझ्न अस्पताल पुगेका परिवार, आफन्त भावविह्वल अवस्थामा देखिन्थे। मृतकका परिवारलाई सम्हाल्न हम्मेहम्मे नै परेकाे थियाे।

यसैमध्येका एक परिवार हुन्, राजन गोलेका। राजनसहित उनकाे परिवारका सात जनाले दुर्घटनमा ज्यान गुमाए। अस्पतालमा शव बुझ्दै उनका परिवार निकै भक्कानिए।

एकैपटक सात जना आफ्नो मान्छेकाे शव देख्दा साह्रै दुख लागेको शव बुझ्न अस्पताल आएका एक आफन्तीले बिएल नेपाली सेवासँग बताए।

‘अहिलेसम्म विश्वास लागेको छैन कि उहाँहरु अब यो संसारमा हुनुहुन्न’, गहभरिका आँसु पुछ्दै उनले भने, ‘उहाँहरुको परिवारको हालत ठिक छैन।सबै जना शोकमा हुनुहुन्छ।’

विमान दुर्घटनामा राजनको निधन भएको खबर सुनेपछि श्रीमती दीपा सुवेदीको अवस्था नाजुक भएको ती आफन्तीले बताउँछन्।

‘दुर्घटनाको खबर सुनेपछि उहाँहरुको परिवारको अवस्था नाजुक नै छ’, उनले भने, ‘जतिखेर पनि रोइरहनु मात्र हुन्छ। छोराछोरी र श्रीमतीको हालत पनि उस्तै।’

प्रकाशित मिति: : 2022-06-02 20:20:00

प्रतिकृया दिनुहोस्