भारतको घातक आक्रमणपछि पाकिस्तानले पनि जवाफी कारबाही सुरु गरेको छ। मंगलबार राति भारतीय सैनिकले पाकिस्तान नियन्त्रित जम्मु कश्मिर क्षेत्रमा रहेका आतंकवादीका आश्रयस्थलहरूलाई निशाना बनाउँदै ठूलो आक्रमण गरेको थियो।
‘अपरेशन सिन्दूर’ नाम दिएर भारतका तिनै सैनिक संगठनहरू मिलेर पाकिस्तानमाथि आक्रमण गरेका थिए। त्यसमा कम्तीमा पनि ५० जनाभन्दा धेरै मानिस मारिएको बताइएको छ। यद्यपि यो हताहतिबारे भारत र पाकिस्तानले आआफ्नै दाबी गरेका छन्। भारतीय सञ्चारमाध्यहरूले त सय भन्दा बढीको मृत्यु भएको बताइरहेका छन्।
उक्त आक्रमणमा पाकिस्तान समर्थित कैयौ आतंकवादी नेताहरूको समेत मृत्यु भएको भारतीय सैनिकले दाबी गरेको छ।
त्यसको बदलामा पाकिस्तानी सैनिकले पनि सिमा रेखाहरू नजिकका भारतीय बस्तीमा आक्रमण सुरु गरेको छ। त्यो आक्रमणमा भारतीय सैनिकका एकजना अधिकृत (लेस नायक) दिनेश कुमारको मृत्यु भएको भारतीय सैनिकले जनाएको छ। उनी फिल्ड ५ रेजिमेन्टका हुन्।
पाकिस्तानी सैनिकहरूले बुधबारदेखि नै सिमा रेखा नजिकका स्थानहरूमा बमवारी र गोलीवारी गरिरहेको छ। त्यसका लागि भारतीय स्थल, जल र वायु सेनाहरू पनि पूर्णरुपमा तयार रहेको जनाएको छ। पाकिस्तानी बमवारीमा भारतीय क्षेत्रमा कम्तीमा १५ जनाको निधन भएको र ५० जना भन्दा धेरै घाइते भएको बताइएको छ।
गत अप्रिल २२ मा जम्मु कश्मिरको पहलगाममा आतंककारी आक्रमण भएको थियो। त्यो बेला आतंककारीहरूले एकजना नेपालीसहित २६ जना पर्यटकको हत्या गरेका थिए।
त्यसपछि दुबै राष्ट्रबीच तनाव चुलिएको थियो। एकअर्काले युद्धको चेतावनी दिइरहेका बेला भारतले मंगलबार राति पाकिस्तानमाथि कैयौ क्षेप्यास्त्रहरू प्रहार गरेको थियो।
यसलाई भारतले युद्धको सुरुवात भनेको छ। पाकिस्तानले पनि त्यसको कडा जवाफ दिने जनाएको छ। भारत र पाकिस्तान दुबै देशका सरकारहरूले आआफ्ना सैनिकहरूलाई आक्रमणका लागि खुला छोडिदिएका छन्।