पूर्वमा बाढीको वितण्डा : कतै डुवान, कतै जमिन भासियो

प्रवेश बिष्ट

विराटनगर 
Breaknlinks
Breaknlinks

मंगलबार बिहानदेखि परेको अविरल वर्षाका कारण प्रदेश १ अधिकांश जिल्ला उच्च जोखिममा परेका छन्।

बाढीका कारण पहाडी जिल्ला पहिरो र तराई क्षेत्र बाढी र डुवानको उच्च जोखिममा परेको हो। पूर्वी नेपालका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ।

डुबान र बाढीका कारण मोरङमा ३६७ घर विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार बिहानसम्ममा १ हजार ३ सय ६७ जना डुबानमा परेका छन्। उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ।

मोरङको विराटनगरमा सिंघिया र केशलिया नदीका कारण बस्ती डुवानमा परेको हो। विराटनगर महानगरपालिका वडा नम्बर ८ को सुकुम्बासी बस्तीमा सिंघिया खोला पस्दा २५ घरका ९५ जनालाई सुरक्षित स्थानमा सारिएको छ। त्यस्तै विराटनगर ७ मा ३८ घरका १४५ विस्थापित भएका छन्।

यसैगरी सिंघिया खोलामा आएको बाढीका कारण मोरङको कटहरी गाउँपालिकाको १ नम्बर वडा पनि डुवानमा परेको छ। कटहरी १ टाईगर टोलका डुवान प्रभावित १३० घरका करिब ५२० जनालाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ।

यस्तै मोरङको बेलबारी, उर्लाबारी, सुनवर्षी र रतुवामाई नगरपालिका बाढीको उच्च जोखिममा रहेको प्रहरी बताएको छ।

अविरल वर्षाको कारण झापाका विभिन्न स्थानमा डुवानमा परेका करिब १०३ घरका २३७ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

झापाको गौरीगंज गाँउपालिका १ का केही क्षेत्र माई नदी र कमल खोलाका कारण डुवानमा परेका छ। टप्पु र कुन्जीबारी बजारका बस्तीमा डुवान हुँदा ३८ घरका करिब १५० जनालाई सुरक्षित स्थानमा सारिएको छ।

डुवान प्रभावित घरका खाद्यान्नलगायत विभिन्न सामाग्रीहरुसमेत सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

त्यसैगरी बाह्रदशी गाउँपालिका-२ मा रहेको सुकुम्बासी बस्ती पनि डुवानमा परेको छ। त्यहाँका करिब ६० घर विस्थापित भएका छन्।

सोमबार मध्यरातदेखिकाे निरन्तर वर्षाको कारण तराई क्षेत्रका अधिकांश स्थान जलमग्न भएको छ। वर्षा भइरहेका कारण विस्थापित हुनेको संख्या बढ्नसक्ने भएकोले सतर्क रहन आग्रह गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।

सम्भावित जोखिम क्षेत्रमा प्रहरी परिचालन गरेर उद्धारको काम भइरहेको उनले बताए।

जमिन भासिँदा कटारीका १७ घर जोखिममा

उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० तिल्केचौर क्षेत्र बस्तीभन्दा दुई सय मिटर धाँजा परेर जमिन भासिएको छ।

जमिन भाँसिदा १७ घर परिवार पहिरोको जोखिममा परेको कटारी नगरपालिका-१० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताए।

तीन वर्षदेखि पहिरोको जोखिममा रहेको बस्ती सम्बन्धीत निकायले चासो नदिँदा अझै स्थानान्तरण हुन नसकेको उनले बताए।

गत वर्ष कटारी नगरपालिकाको कार्यपालिका बैठकले तिल्केचौरका १७ घर विस्थापित हुने अवस्थामा पुगेकाले भूगर्भविद् झिकाएर बस्न नसक्ने अवस्था आए नगरपालिकाले बसोबास योग्य उपयुक्त स्थानमा बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको थियो। तर त्यो निर्णय कार्यान्वयन हुन सकेको छैनन्।

तिल्केचौरका गाउँ नै भासिएको अवस्थामा पनि अझै बस्ती स्थानान्तरण हुन नसकेको प्रदेशसभा सदस्य कला घलेले बताइन्। उनले पटकपटक प्रदेशसभामा कुरा उठाउँदा पनि कुनै सुनुवाइ नभएको बताइन्।

‘२०७७ असोजमा कटारी १० तिल्कीचौरी भासिएको थियो,’ उनले भनिन्, ‘भासिएको गाउँका १७ घरधुरी जोखिममा छन्।’

भूगोलविद्ले जमिन भासिएपछि जोखिममा परेका १७ घरधुरीलाई २ महिनाभित्र बस्ती स्थानान्तरण गर्न भनिए पनि अहिलेसम्म नभएको भन्दै उनले तत्काल बस्तीलाई सुरक्षित स्थानमा सार्न केही दिनअघि प्रदेश १ सभाको शून्य समयमा बोल्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन्।

प्रकाशित मिति: : 2022-06-29 14:16:00

प्रतिकृया दिनुहोस्