जीवराज आश्रितमार्गको रोल्पा खण्ड स्तरोन्नतिको काम अन्योलमा

लुम्बिनी प्रदेशकै गौरवको आयोजना जीवराज आश्रितमार्गको रोल्पा खण्डको स्तरोन्नति गर्ने काम ३ वर्षदेखि रोकिएको छ।

सडक पूर्वाधार विकास कार्यालयले आह्वान गरेको टेण्डरमा आफूले मात्र प्रक्रिया पूरा गरेको भन्दै एक जना निर्माण व्यवसायीले मुद्दा हालेपछि सडक कालोपत्रे हुन नसकेको हो।

आर्थिक वर्ष २०७६/७७ मा सडक पूर्वाधार विकास कार्यालयले रोल्पाको दहवनदेखि निगालपानीसम्मको साढे ११ किलोमिटर सडक कालोपत्रे गर्न टेण्डर आह्वान गर्यो।

टेण्डरका लागि ६ वटा निर्माण कम्पनीले आवेदन दिएकोमा कसैले पनि प्रक्रिया नपुर्याएको भन्दै पूर्वाधार कार्यालयले पुनः टेण्डर आह्वान गर्यो। तर ६ जना मध्येको आवेदनकर्ता ओसिस ब्युल्डर्स एण्ड कम्पनीले आफूले प्रक्रिया पुरा गरेको दाबी गर्दै सर्वाेच्च अदालतमा मुद्दा दर्ता गरेपछि सडक कालोपत्रेको काम अन्यौलमा परेको हो।

सर्वाेच्चको स्टे अर्डरका कारण सडक स्तरोन्नतिको काम हुन नसकेको सडक पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुख दिपक खड्काले बताए।

‘वर्षेनी म्याद थप गरिरहेका छौं’ खड्काले भने ‘तर अदालतबाट पेसी सरेको सर्यै छ।’ अदालतको आदेश नआउँदासम्म सडक कालोपत्रेको काम नहुने भएको छ।

पाल्पाको रामपुरदेखि अर्घाखाची–प्यूठान–रोल्पा हुदै सल्यानको कपुरकोट जोड्ने यो मार्गको अन्य खण्डमा भने निर्माण कार्य भइरहेको छ। रोल्पा खण्डमा मात्रै सडक स्तारोन्नतिको काम अन्यौलमा पर्दा स्थानीय निराश भएका छन्।

सडक कालोपत्रे हुँदैछ भनेको वर्षाैँ बितिसक्दा पनि हालसम्म कुनै काम हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परेको स्थानीय दिपेन्द्र बुढाको गुनासो छ। ‘गत वर्ष नै कालोपत्रे भैसक्नुपर्ने सडक अहिले हिलाम्मे छ’, बुढाले भने, ‘वर्षायाममा हिलो र हिउँदमा धुलोले सडकमा यात्रा गर्न समस्या भएको छ।’

स्थानीय सरकारसँग सडक स्तरोन्नतिको माग गर्दा पनि कुनै सुनुवाई नभएको अर्का स्थानीय रेगबहादुर बस्नेतले बताए। ‘गाउँपालिकामा गएर सडकको बारेमा बुझ्दा कुनै जानकारी दिँदैनन्’, उनले भने, ‘सडकबारे कुनै पनि निकायले केहि जानकारी नदिदा हामी अन्यौलमा परेका छौं।’

सडक स्तरोन्नतिका लागि वर्षेनी प्रदेश सरकारले बजेट विनियोजन गर्दै आइरहेको भएता पनि मुद्दा टुङ्गो नलाग्दा उक्त बजेट फ्रिज हुने गरेको छ।

प्रकाशित मिति: : 2022-07-12 16:57:00

प्रतिकृया दिनुहोस्