कहिल्यै मन नपरेको गुरु पूर्णिमा

असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा। यस दिन आफूलाई शिक्षा दिने गुरुहरूप्रति सम्मान प्रकट गर्ने गरिन्छ।

हुन त म यहाँसम्म आइपुग्न गुरुहरुको प्रेरणा र सहयोग नभएको होइन तर गुरु पूर्णिमाको दिन कुनै गुरुहरुलाई सम्झने र शुभकामना भने दिने गर्दिनँ।

हामी सबैको जीवनमा एक त्यस्तो महत्वपूर्ण गुरु हुन्छन्, जसले हामीलाई सधैँभरि ज्ञान दिन तत्पर रहन्छन् तर मेरो लागि भने त्यस्तो कुनै पनि गुरु भएनन्। जसलाई सम्झिएर सम्मान र शुभकामना दिउँ। एउटा यस्ताे शिक्षक, जसलाई म कुनै समय मनपर्ने गुरुहरुको पंतिमा राख्न रुचाउथेँ। तर मैले जुन शिक्षकलाई रक्षक मान्थेँ, त्यही मान्छे भक्षक निस्कियो।

तिनै शिक्षक- जसलाई मेराे घरपरिवारले भगवानको दर्जा दिएर राखे, उसैले मेरो जीवन नरक बनाएर छाड्यो।

पढ्नमा रुचि राख्ने मलाई पढाइदेखि रिस उठ्दै जान थाल्यो। जीवन नै बेकार लाग्न थाल्यो। बाँच्ने आशा हराउँदै गयो। बारम्बार ज्यान लिन पनि कोसिस गरेँ।

कक्षा सातमा पढ्ने म दिनहुँ आफ्नै घरमा बसेको शिक्षकबाट शोषित हुन थालेँ। लगातार चार वर्षसम्म मैले शारीरिक तथा मानसिक रुपमा यातना झेलिरहेँ। प्रतिकार गर्न खाेज्दा मेरो आवाजलाई उसले दबाएर राख्यो, मैले आवाज उठाउने मौकासमेत पाइनँ।

समाजले मेरो चरित्रमा प्रश्न उठायो तर त्याे शिक्षकले ममाथि गरेको अत्याचार देखेन। बार-बार आफ्नो गल्ती ढाकछोप गरेर ऊ महान भयो तर म भने पीडा खेपेर बस्न बाध्य भएँ अनि समाजमा बदनामी।

त्यही शिक्षक, जसलाई म विश्वास गर्थेँ। नजानेका, नबुझेका हरेक कुराकाे प्रश्न गर्थेँ। त्यही व्यक्ति घृणाकाे पात्र बन्न पुग्यो। जसले आफ्नो शरीरको प्यास मेटाउन आफ्नाै भक्तलाई निमोठिरह्याे।

साेही कारण मलाई गुरु पूर्णिमा खास लाग्दैन। यही यस्तै पात्रकाे कारण मलाई शिक्षा दिने कुनै पनि शिक्षकलाई गुरु भन्न मन लाग्दैन।

गुरु त्यो हो, जसले आफ्ना चेलाहरुलाई सही मार्गमा लाग्न हाैसला र प्रेरणा दिइराख्छन्। तर आजकाल खास शिक्षा दिने गुरु नै धेरै छैनन्, बस आफ्नो फाइदा हेर्ने विकाउ शिक्षक मात्र छन्।

कसलाई दिउँ म गुरु पूर्णिमाको शुभकामना। कुन शिक्षकलाई सम्झेर भेट्न जाउँ गुरु पूर्णिमाको दिनमा। जसले मलाई कक्षा कोठामा नै मरणासन्न हुनेगरी पिटेर बेहोस हुँदासम्म के भयो भनेर बुझ्न नखोज्ने शिक्षक, कक्षाको सबैभन्दा जान्ने विद्यार्थी, त्यसमाथि कहिल्यै फेल नहुने किन के कारणले एउटा विषयमा फेल भयो भनेर जान्न नखोज्ने शिक्षक, स्कुलको नाम बदनामी हुने डरले शिक्षककाे अत्याचारका बावजुद विद्यार्थीलाई गलत देखाउने शिक्षक या भनुँ ‘ममाथि यौन हिंसा भयो’ भन्दा ‘नाटक गरेको, तँ नै त्यस्तो हो’ भन्ने शिक्षक। खै कसलाई दिउँ म गुरु पूर्णिमाको शुभकामना!

तिनै शिक्षक, जो मानवता बेचेर विद्यार्थीमाथि अत्याचार गरेर धन कमाउन व्यस्त छन्। जसको कारण मैले समाजमा बेइमानी तथा गातीछाडाको उपाधि पाएँ। मासिक रोगी भएर जीवनभर औषधि खानुपर्ने उपहार पाएँ। कदापि सम्झन चाहन्नँ ती नामका शिक्षकहरुलाई, जसले मेरो जीवन नरक बनाएर गयो।

प्रकाशित मिति: : 2022-07-13 15:03:00

प्रतिकृया दिनुहोस्