तिहार

युवा जाेशले बाँझो जमिनमा फक्रिएका फूलहरू [भिडियाे]

सिंचाईका लागि कुलो छैन। पोखरी छैन। वरपर बडेमानका घरहरू छन्। आसपासमा कतै पनि छैन खेतिपाती। घरमाथि घर देखिन्छन्। तर, यहीँ बडेमानका घरहरुको बीचकाे थोरै जमिनमा ढकमक फुलेका छन् सयपत्री फूलहरु। यी फूलहरू सानो आँट र साहसले फुलेका भने हाेइनन्। 

अहिले फूलहरू फुलेको जमिनमा कुनै उब्जनी नहुने भएपछि छोडिएको थियो। बस्ती विस्तार नहुँदा खेती गरिने जमिनमा पछि बस्ती विस्तारसँगै सबै जमिन घडेरीमा परिणत भएका थिए।

त्यहीँ घडेरीका लागि राखिएको करिब १६ कट्ठा जमिन खाली थियो। झाडीहरू उम्रिएका थिए। फुटबल खेल्ने खेल मैदान थियो। साँझ विहान वरपरका बडेमानका घरहरूमा बस्नेहरूको भेटघाट हुने थलो थियो। तर, त्यहीँ थलो। त्यहीँ खेल मैदान। त्यहीँ उब्जनी नुहुने जमिन। त्यहीँ झाडीहरू उम्रिएको जमिनमा एक युवाको समूहले भने अहिले तिहारका लागि ढकमक्क सयपत्रीका फूलहरू फुलाउन सफल भएका छन्।

दाङ घोराही उपमहानगरपालिका वडा- १५ भरतपुरमा कपिलवस्तुबाट आएका युवाहरुको समूहले उक्त फूल फुलाउन सफल भएका हुन्।

गत साउनमा फूल खेतिका लागि जमिन तयार गर्दैगर्दा कैयौँ जनाले लगानी उठाउन नसक्ने आँकलन गरेका थिए। उक्त आँकल अहिले भने गलत सावित भएको छ।

‘किन यस्तो बाँझो जमिनमा खेती गर्न लागेको हो भन्दै सुरुमा त कतिपयले लगानी समेत उठाउन सक्दैँनौ पनि भनेका थिए,’ फूल खेती गर्ने मध्येका एक युवक वसन्त छहरी मगरले भने।

तर, आफूहरूले नयाँ प्रविधिको प्रयोग गरेर खेती गरेको भन्दै उनले अहिले फूल फुलाउन सफल भएको बताए। अहिले १६ कट्ठा जमिन मध्यमा  करिब १० कट्ठामा यसपत्री फूलेको खेति रहेको छ। अन्य बाँकी ४ कट्ठामा तरकारी खेती रहेको छ।

तरकारी तथा फूल खेति गर्नका लागि करिब ५ लाख लगानी गरेका १० जना युवाहरुले उक्त लगानी फूलबाट मात्र उठाएका छन्। ‘हाम्रो कुल लगानी त यहि फूलले मात्र उठाउँछ,' छहरी मगरले भने। 

प्रोजेक्ट वान हन्ड्रेड एट संस्थाबाट एक वर्षको कृषि सम्बन्धि तालिम लिएका उनले उक्त संस्था कै सहकार्यमा फूल तथा तरकारी खेती गरेको बताए।

उनले अबको कृषि आधुनिक प्रविधिको हुनु पर्ने धारणा ब्यक्त गरे। कम मेहनतमा धेरै उत्पादन लिनका लागि परम्परागत कृषिबाट सम्भव नहुने छहरी मगरको भनाई छ।

अरुले केही हुँदैन भन्ने ठाउँमा थोपा सिंचाईको प्रयोग गरेर फूल तथा तरकारी खेति गरिरहेको र राम्रै प्रतिफल मिलेको उनले बताए। अब फूलको सिजन सकिएपछि थप तरकारी खेति गर्ने योजना रहेको छहरी मगरले सुनाए।

माग अनुसार पुर्‍याउन कठीन

यसपत्री फूल माग अनुसार पुर्‍याउन कठिन भएको फूल कृषक छहारी मगरले बताए। आफूहरुलाई २५ हजार मालाको माग आइसकेको बताउँदै उनले त्यो माग पूर्ति गर्न धौ भइरहेको बताए।

उनले आफूहरुले ४ हजार माला बनाइसकेको र अब करिब ५ हजार माला बनाउन बाँकी रहेको भन्दै २५ हजारको माग पूर्ति गर्न अन्य जिल्लाबाट यसपत्री फूल ल्याउनु परेको बताए।

उनले कास्की तथा कपिलवस्तुमा आफ्नै युवाको समूहले फूल खेती गरेको र त्यहींबाट ल्याएर उक्त माग पूरा गरिने बताए। २५ हजार मालाको माग कपिलवस्तुबाट आएको भन्दै उनले दाङबाट छुट्टै माग भएको बताए। छहरी मगरले फूलेको मूल्य १ सय ५० देखि २ सयसम्म रहेको जानकारी दिए।

प्रकाशित मिति: : 2021-11-04 07:48:00

प्रतिकृया दिनुहोस्