मोरङ कारागारका ५४ कैदीबन्दीमा कोरोना संक्रमण

अनिवार्य मास्क लगाउन प्रशासनको आग्रह

जिल्ला कारागार मोरङका ५४ जना कैदीबन्दीलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। शनिबार कोरोना परीक्षण गरिएका ४८ मध्ये थप ३५ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

यसअघि शुक्रबार १९ जना कैदीबन्दीमाकोरोना पुष्टि भएको थियो। कारागारका ५४ जनामा कोरोना देखिएपछि कारागारमा रहेका ६ सय २० जनालाई कोभिड संक्रमणविरुद्धको कोभिडशिल्ड खोप लगाइएको छ।

कैदीबन्दीलाई अत्याधिक ज्वरो र स्वास फेर्न गारो हुने समस्या देखिएपछि गत शुक्रबार उपचारका लागि कोसी अस्पताल लगिएका १९ जना कैदीबन्दीमध्ये १६ जनाको एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो। शनिबार ४८ जनाको स्वाब परीक्षण गरेकोमा ३६ को रिपोर्ट पोजेटिभ आएको मोरङ कारागारका निमित्त जेलर निमित्त जेलर तुलसीराम भगतले बताए।

ज्वरो आएपछि कोशी अस्पतालमा भर्ना गरिएका मोरङ कारागारका कैदी ३९ वर्षीय नीरबहादुर नेपालको बिहीबार अपरान्ह मृत्यु भएको थियो।

अनिवार्य मास्क लगाउन प्रशासनको आग्रह

मोरङमा पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्न थालेपछि प्रशासनले कडाइ गर्न थालेको छ। जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको जिल्ला कोरोना व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्ने निर्णय गरेको हो।

कोरोना संक्रमणको दर बढ्न थालेपछि संक्रमण रोकथामका लागि सबै क्षेत्रमा मास्क अनिवार्य गर्ने निर्णय गरी सबैलाई सार्वजनिक आह्वान गर्ने तयारी गरिएको छ।

कोरोना विरुद्ध खोप लगाएपछि केही समययता संक्रमण न्यून थियो। संक्रमण घटेसँगै मानिसहरुले मास्क लगाउन पनि छोड्दै गएका थिए। पछिल्लो समय मोरङ जिल्ला कारागारमा कोरोना संक्रमण फैलिएपछि बसेको आकस्मिक बैठकले मास्क अनिवार्य गर्ने निर्णय गरेको हो।

बन्द रहेका कोभिड अस्पताल सञ्चालनमा

कोरोना संक्रमण कम हुँदै गएपछि बन्द रहेको कोशी कोभिड अस्पताल पुनः संचालनमा ल्याइएको छ। कारागारका कैदीबन्दीमा कोभिड संक्रमण पुष्टि भएपछि कोभिड अस्पताल पुनः संचालनमा ल्याइएको हो।

गत चैत १५ गतेदेखि बन्द भएको कोभिड अस्पताल तीन महिनापछि पुनः संचालनमा ल्याइएको अस्पतालले जनाएको छ।

बिहीबारबाट संक्रमित भर्ना हुन थालेपछि ओपीडी सेवा जारी रहेको कोशी कोभिड अस्पतालका निमित्त प्रमुख अनुपम राजवंशीले बताए। संक्रमण बढ्दै गएर आइसोलनको आवश्यकता हुन थालेपछि साढे तीन महिनापछि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको राजवंशीले बताए।

बढ्दै बिरामीको चाप

पछिल्लो समय अस्पतालमा कोरोनासँग मिल्दो जुल्दो लक्षणसहितका बिरामी बढ्न थालेका छन्।

अत्यधिक तापक्रममा तातो बाफजस्तो हावा दिनभर चल्ने भएकाले ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी खसखस हुने गरेको लक्षण भएको बिरामी आउने गरेको कोशी अस्पतालले जनाएको छ।

चिकित्सकहरुले गर्मीयाममा दिउँसो जथाभावी बाहिर नहिँड्न, हिँड्नै परे शरीर छोपिने कपडा लगाउन र पर्याप्त मात्रामा शुद्ध तथा सफा पानी पिउन, आँखालाई संरक्षण हुने चस्मा प्रयोग गर्न सुझाव दिएका छन्।

प्रकाशित मिति: : 2022-07-17 11:56:00

प्रतिकृया दिनुहोस्