म्यान्मार 'जुन्ता' सरकारद्वारा १० जनाको हत्या, गाउँ–गाउँमा आगजनी

म्यान्मारको द्वन्द्वग्रस्त सागिङ क्षेत्रको मुस्लिम बाहुल्य गाउँमा छापा मार्दा जुन्ता सेनाले कम्तिमा दश जनाको हत्या गरि करिब पाँच सय घरमा आगजनी गरेको स्थानीय बासिन्दा र सशस्त्र विपक्षी सदस्यहरू बताएका छन्।

जुलाई १८ मा सेनाले गरेको आगजनीमा परेका १० मध्ये ७ को मृत्यु भएको र बाँकी ३ लाई स्थानीय बौद्ध गुम्बाभित्र 'कुटपिट गरि गोली हानी मारिएको' सागिङको कानबालु टाउनशिपको के.सु गाउँका स्रोतले बताएका छन्।

जुन्ता सेनाले उक्त क्षेत्र छोडेपछि बासिन्दाहरू मङ्गलबार गाँउ फर्किदा उनीहरुको शव फेला परेको थियो।

सेनाले हत्या गरेको तीन जनामा ​​२० वर्षीय मो थिन, २० वर्षीय टिन स्वे र ४५ वर्षीय माउङ ग्याई रहेको स्थानीयले जनाएका छन्। 

आगलागीमा परी मृत्यु भएका सात जनाको शव चिन्न नसकिने भएकाले पहिचान हुन नसकेको स्थानीयले बताएका छन्।

झण्डै ५,००० मुस्लिम र बौद्ध धर्मावलम्बीहरूको बसोबास रहेको मध्य म्यान्मारको गाउँमा जुन्ता सेनालाई हेलिकप्टरबाट त्यहाँ पुर्याएपछि उनीहरुले छापा मारि आतंक मच्चाएको नाम नखुलाउने तर आफूलाई मो थिनको भाइ भनेर चिनाउने के सुका एक बासिन्दाले भने।

'हामी गाउँमा बसिरहेका बेला अचानक दुईवटा हेलिकप्टर आएर हामीमाथि गोली चलाउन थाले। अन्य हेलिकप्टरहरूले सिपाहीहरूलाई खसाले, त्यसपछि उनीहरु मुख्य सडकमा आएर अन्दाधुन्द गोली हाने र गिरफ्तार गरेर घरहरूमा आगो लगाए,' उनले भने, ‘आगलागीमा करिब ५०० घर जलेर नष्ट भएका छन्। मेरो भाइको हत्या भयो। सबै कुरा गुमाइसकेपछि हामी अब अन्त्यसम्म उनीहरूसँग लड्न पहिलेभन्दा धेरै दृढ छौं।'

९०० घरमध्ये आधाभन्दा बढी आगलागीमा ध्वस्त भएको र ती घरहरु  मुख्यतया गाउँको दक्षिणी मुस्लिम खण्डमा रहेको स्थानीयले बताएका छन्।

बौद्ध समुदायको बसोबास रहेको गाउँको उत्तरी भागमा मात्रै करिब १० घरमा आगजनी गरिएको स्थानीय बताउँछन्।

सन् २०२१ को फेब्रुअरीमा निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि  जुन्ता सेनाले सागिङ क्षेत्रमा सबैभन्दा चर्को सशस्त्र प्रतिरोधको सामना गरेको छ।

सागिङका अधिकांश ३४ वटा टाउनसिप र ​​५,९०० भन्दा बढी गाउँहरू सैन्य बल र विरोधी जन्ता पिपुल्स डिफेन्स फोर्स (पीडीएफ) का सदस्यहरूबीचको लडाइँबाट प्रभावित भएका छन्। (एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: : 2022-07-22 10:53:00

प्रतिकृया दिनुहोस्