पृथ्वी जयन्ती

‘पृथ्वीपथ’ कि ‘पृथ्वीवाद’

‘राज्य भवानीको हो, संरक्षक म हुँ’

करिब ६ हजार वर्षको गाैरवमय ‘सप्रमाण इतिहास’ भएको देश संसारमै छैन। नेपाल विश्वको सबैभन्दा पुरानो देश भएको प्रमाण नेपाल नामसहित ‘अथर्व परिशिष्ट’ र ‘कौटिल्यको अर्थशास्त्र’ले दिएको छ।


नेपालको नाम जातका आधारमा रहेको पनि चर्चा इतिहासमा छ। नेपाल हिन्द, इन्दर सिन्ध सभ्यताको जग हो। नेपालले पुष्पासनको मध्य, उत्तर र नवकालको समयपछि रामापिथेकसले महाभारत चुरेका डाँडा–टाकुरामा खेलेको सप्रमाण अनुभव बाेकेको छ। वानरपछिको नरवानर, रामनरवानर र दक्षिणी नरवानरको उत्पति र विकासको अनुभव संगालेको देश पनि नेपाल हो।

विश्वको अग्लो शिखर सगरमाथा नेपालमा उत्पति हुनु र गौतम बुद्ध नेपालमा जन्मिनु संयोग मात्र होइन। मिथिलामा जनक र कपिवस्तुमा बुद्ध जन्मेको सप्रमाण इतिहास छ। यी इतिहासका बाबजुत प्राचीन गोपाल राजवंसमा भूमिगुप्तदेखि यक्षगुप्तसम्म करिब ४३६ वर्ष ३ महिना ८ राजाले शासन गरेको, महिषपाल राजवंसमा वरशिंहदेखि भुवनशिंहसम्म करिब १६१ वर्ष २ महिना ३ राजाले शासन गरेको, किरात राजवंसमा श्री एलमदेखि राजाश्री खिगुसम्म ३२ राजाले शासन गरेको र लिच्छवी राजवंसको पहिलो राजा सुपुष्षदेखि २३ राजामध्ये प्रमाणिक पहिलो राजा मानदेव लिच्छवी राजवंसका छैटौँ राजा थिए।

प्रमाणिक राजवंसमा लिच्छवीकालमा मानदेव र अंसुबर्मा, खस मल्ल राजवंसमा नागराज र जितारी मल्ल, कल्याल राजवंसमा बलिराज, तिरहुतका कर्नाटबंसी नान्यदेव, नेपालमण्डलका अरी मल्ल र जयस्थिति मल्लको नाम इतिहासको पानामा सुन्दर अक्षरले कोरिएका छन्।

सँगसँगै कर्णालीका बाइसे र गण्डकीका चौबिसे राज्यको राजवंशको इतिहास शून्य प्रकारको छ। आधुनिक नेपाल अधिराज्यको इतिहास गोरखा राज्यको शाहवंशको सानो राज्यसँग जोडिएको छ। यो इतिहासको सर्जक नरहरी शाह, द्रब्य शाह, चेपे नदी र लिगलिगे दौडसँग छ।

गोरखाका राजा द्रब्य शाहका वंशज ‘श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहले देखेको सपनाको देश’ आजको नेपाल र हामी देशवासी नेपाली हौँ। तर इतिहास तथ्य होस् कि साहित्य जे होस्, यो उनको थालनीको मुर्तरूप हो। ऐतिहासिक तथ्यका जगमा लेखिएको ‘साहित्यिक इतिहास’ जतिसुकै अनैतिक र पक्षपाती भएपनि ‘पृथ्वीनारायण शाह’ आधुनिक नेपाल अधिराज्यका निर्माता हुन्।

उनको जन्म वि.सं. १७७९ पुष २७ गते बिहीबार पिता नरभूपाल शाह र माता रानी कौसल्यावतीको कोखमा भएको थियो। उनको हेरविचार महारानी चन्द्रप्रभावतीले गरेकी थिइन्। सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण थिए। उनको जन्मदिन पुष २७ पौरखीका अगाडि शिर निहुरिने दिन वा राष्ट्रिय एकता वा नेपाल जन्मेको दिवस हो। त्यसैको परिणाम मेरो यो लेख हो।

नेपाल अधिराज्य निर्माताको पथयात्रा

‘पथ’ भनेको बाटो हो। पथको तयारी राजा, जनता र राजाबाट हुने विश्वास ‘श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाह’ थिए। उनको राष्ट्रिय एकतामा रहेको देशभक्तिको यात्रा नै ‘पृथ्वीपथ’ हो। राष्ट्रिय एकताको पथका सर्जक उनका पिता नरभूपाल शाह हुन् भन्दा अन्याय हुँदैन।

वि.सं. १७९९ मा राजा श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाह २० वर्षको उमेरमा गोरखाका राजा भएका थिए। उनले माहिला भाइ महिद्दाम्कीर्ति शाहलाई चौतारा र काजी कालु पाँडे कज्याईं दिई मुख्यमन्त्री बनाएका थिए। राजा हुनुअगावै उनले वि.स. १७९८ मा काठमाडौँ उपत्यकाको राम्रोसँग अध्ययन गरिसकेका थिए। उनको काठमाडौँ उपत्यका र पूर्वीक्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसँग वि.स. १७९९ मा एक सन्धि गरेका थिए।

पिता नरभूपालको एकीकरणको सपना साकार पार्न पृथ्वीनारायण शाहले वि.सं. १८०० मा नुवाकोट आक्रमण गरेका थिए तर पराजय भाेग्नुपर्याे। युद्धमा पराजयको सामना गर्नुपरेकाले आवश्यक हातहतियारहरू सङ्कलनार्थ उनी वनारस पुगेकाे इतिहासमा उल्लेख छ।

दोस्रोपटक पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा कालु पाँडेको सेनापतित्वमा नुवाकोटमाथि हमला गरेका थिए। यसपटक गोरखाका १२–२० वर्षसम्मका सबै युवाहरूलाई सशस्त्र तयारी गरिएको थियो भने सैनिकहरूको सङ्ख्या १ हजारभन्दा बढी थियो। यीमध्ये केही सैनिक खेतालाहरूको रूपमा नुवाकोट पुर्याइएकाे थियो। तत्पश्चात कालु पाँडेले नुवाकोट रक्षा तैनाथ रहेका जयन्त रानालाई गोरखामा मिल्नुबाहेक उनको लागि अन्य भलाई नभएको पत्र पठाएका थिए। तर जयन्त रानाले काठमाडौँ पुगी गोर्खालीहरूबाट सम्भावित आक्रमणको जानकारी दिँदै थप सैनिक र हातहतियार माग गरेका थिए।

उपत्यकामा इन्द्रजात्राको चहलपहल चलिरहँदा जयप्रकाश मल्लले जयन्त राणाको मागको उपेक्षा गरेका थिए। जयन्त रानाको छोरा शङ्खमणी राणाले नुवाकोटको सुरक्षामा तैनाथ रहेको समयमा गोरखाबाट पृथ्वीनारायण शाह, दलदर्मन शाह, चौतारा विष्णु शाह, काजी शुरप्रताप शाह आदिले नुवाकोटलाई घेरा हाली एकैपटक आक्रमण गरेका थिए।

दलमर्दन शाहको हातबाट शखमणी राणाको मृत्यु भयो र पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय प्राप्त गरेका थिए। नुवाकोटमा गोर्खालीहरूको कब्जा भएकाले नुवाकोटका सिपाहीहरू भागेर वेलकोटमा अड्डा जमाई बसेकाेले कालु पाँडेको तत्काल हमला नगर्ने सल्लाहलाई उपेक्षा गरी पृथ्वीनारायण शाहले वेलकोटमा हमला गरेका थिए।

नुवाकोट र वेलकोटको विजयपछि गोर्खालीहरूले लामीडाँडा कब्जा गरेका थिए। तनहुँद्वारा लामीडाँडा कब्जा गर्ने इच्छा रहेकाले तनहुँ र गोर्खालीहरूबीच भिडन्तको सम्भावना बढेको थियो। पृथ्वीनारायण शाहले गुरु गौरेश्वर पन्तलाई पठाइ तनहुँका राजासॅंग सन्धि गर्ने भन्ने खबर पठाएकाले तनहुँका राजा त्रिविक्रम सेनबीच केही समय वार्तालाप भएपछि निर्धारित समयानुसार तिरमा लुकी बसेमा गोर्खाली सैनिकहरूले त्रिविक्रम सेनलाई बन्दी बनाई छोटो समयका लागि तनहुँमाथि कब्जा गरेका थिए।

लमजुङ, कास्की, पर्वत आदि क्रुद्ध हुन सम्भावना भएकाले वि.स. १८१० मा त्रिविक्रम सेनलाई मुक्त गरेका थिए। वि.स. १८१२ मा गोर्खाली सैनिकले लमजुङ र तनहुँका संयुक्त फौजसँगको युद्धमा ठुलो जनधनको क्षति बेहोर्नु परेको थियो। तर नालदुम, दहचोक, महादेव पोखरी, सिरानचोकको साथै कुलेखानी, इपा, माल्टा आदिमा कब्जा भएकाले गोरखाको सिमाना मकवानपुरसम्म पुग्यो।

वि.स. १८१४ मा पृथ्वीनारायण शाहले कीर्तिपुरमा आक्रमण गरेका थिए। यसमा गोरखाको तर्फ १२०० सैनिक थिए। तर कीर्तिपुरले काठमाडौँ, ललितपुर र भक्तपुरका सैनिकसमेत सहयोग मागेकाले कीर्तिपुरतर्फ ३०० जति सैनिक थिए। यी दुईपक्षबीच बल्खु खोलामा ६ घन्टासम्म लडाइँँ हुँदा धेरै गोर्खालीहरूले वीरगति प्राप्त गरेका थिए।

कीर्तिपुरको कब्जामा परेका पृथ्वीनारायण शाह राजवध गर्न नहुने नैतिक नियमको कारणले मात्र बाँचेका थिए। कीर्तिपुरको पहिलो युद्धमा विरगती प्राप्त गरेका काजी कालु पाँडेका ठाउँमा उनको छोरा वंशराज पाँडेलाई र सेनापति पदमा शिवराम सिंह बस्न्यातका छोरा केहरसिंह बस्न्यातलाई नियुक्त गरी सैनिक पुनर्गठन गर्ने अभिभारा सुम्पिएका थिए।

वि.स. १८१६ मा शिवपुरी र काभ्रेमाथि विजय प्राप्त गरेका थिए। वि.स. १८१९ को भदौ महिनामा वंशराज पाँडे र केहरसिंहले सङ्गठन गरेको सैनिक साथै महोद्दामकिर्ति शाह, दलमर्दन शाह, शुरप्रताप शाह, नन्दु शाह, दलजित शाहहरूका साथ पठाएको ठूलो सङ्ख्यामा मकवानपुरमा आक्रमण गरेका थिए। त्यहाँ १० घन्टासम्म लडाइँँ चलेको थियो र अन्तत: दिग्वन्ध्न सेनले आत्मसम्पर्ण गरेका थिए।

वि.स. १८२० मा दिग्वन्धन सेनलाई मद्दत गर्ने निहुँमा तनहुँका राजा त्रिविक्रम सेन, पाल्पाका राजा मुकुन्द सेन तृतीय, कास्कीका राजा सिद्धिनारायण शाहको संयुक्त सैनिकले गोरखाको अधिनमा रहेको हर्मी, भिरकोट, धापकोट, चवाङ्गली, धौराली, लकान्कोटमाथि आक्रमण गरी लुटपाट गरेका थिए।

वि.स. १८२१ को भदौ महिनामा शुरप्रताप शाह, दलजित शाह र श्री हर्ष पन्तको नेतृत्वमा कीर्तिपुरमाथि दोस्रो आक्रमण भएको थियो। यस युद्धमा पनि कीर्तिपुरलाई पहिलेजस्तै उपत्यकाबाट सैनिक सहयोग प्राप्त नभएपनि कीर्तिपुरका जनताले गोर्खाली सैनिकलाई गोपुर किल्ला तोडी कीर्तिपुरमा प्रवेश गर्ने मौका दिएनन्।

युद्धमा कीर्तिपुरद्वारा निसाना लगाइएको तीरबाट शुरप्रतापको आँखा फुट्नुका साथै अन्य केही फौज फर्कन बाध्य भएका थिए। कीर्तिपुरमाथि तेस्रोपटकको युद्धको नेतृत्व काजी वंशराज पाँडेले लिएका थिए। उनले चारैतिरबाट गोपुर किल्लालाई घेरी खेतालाका रूपमा केही सैनिक कीर्तिपुर पठाएका थिए। त्यसबखत कीर्तिपुरमा धान भित्र्याउने समय परेकाले वंशराज कीर्तिपुरेहरूलाई आत्मसम्पर्ण गर्न भनेका थिए।

वि.स. १८२२ चैत ३ गते धनवन्त काजीले गोपुर किल्लामा आत्मसम्पर्ण गरेका थिए। श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहले वि.स‍. १८२३ मा सल्यानी राजा श्रीकृष्ण शाहका छोरा रणभीम शाहसँग आफ्नी छोरी विलासकुमारीको विवाह गराए र मैत्री सम्बन्ध कायमै राखे। अनि छिल्ली, दाङ–देउखरीलाई दाइजोको रूपमा दिए।

कीर्तिपुर गोरखाको कब्जामा पर्न गएका निकट भविष्यमै उपत्यकामा आक्रमण सम्भावना भएकाले जयप्रकाश मल्लले ललितपुर र भक्तपुरका राजाहरूसँग बैठक गरी गोरखा सैनिकविरुद्ध सशक्त सैनिक अभियान गर्नुपर्ने विचार व्यक्त गरेका थिए। तर ललितपुर र भक्तपुरका राजाले अनुकूल प्रतिक्रिया नजनाएको र गोर्खालीको पहिलो आक्रमण कान्तिपुरमै हनेछ भन्ने ठानी जयप्रकाश मल्लले अङ्ग्रेजहरूसँग सैनिक तथा हातहतियारको सहयोग मागेका थिए।

राजा जयप्रकाश मल्ललाई सहयोग गर्न वि.स. १८२३ मा किनलकको नेतृत्वमा २४०० सैनिक पूर्वी नेपालको सिन्धुलीगढी हुँदै काठमाडौँतिर बढेको थियो। पृथ्वीनारायण शाहलाई पहिले नै भएकाले सिन्धुलीगढीको रक्षार्थ बिरभद्र पाँडे र वीरभद्र उपाध्याय र वंशु गुरुङको समूह ढुङ्गेवासमाथि आइपुग्दा वंशु गुरुङले प्रत्यासित रूपमा चढाई गरेभने अघि बढिसकेको फौजमाथि वंशराज र वीरभद्र उपाध्यायको फौजले पौवागढीमा आक्रमण गरेकाले सारा अङ्ग्रेज फौजसँग रहेको हातहतियार र बन्दुकहरू छाडी प्राण बचाउन जङ्गलतर्फ भागाभाग गरेका थिए। पृथ्वीनारायण शाहले उपत्यकालाई चारैतर्फबाट घेरी नाकाबन्दी गरेकाले उपत्यकामा चरम आर्थिक सङ्कट छाएको थियो।

काठमाडौँका राजा जयप्रकाशको स्थिति बुझेर पृथ्वीनारायण शाहले वि.स. १८२५ असोज १३ मा इन्द्र जात्राको समय पारी नरदेवी, टुँडिखेल र भिमसेनस्थान गरी ३ तर्फबाट आक्रमण गरी कान्तिपुरमाथि विजय गरेका थिए। राजा जयप्रकाश मल्ल भागेर ललितपुरका राजा तेजनरसिंह मल्लकहाँ गई शरण लिएका थिए।

वि. स. १८२५ असोज २५ गते पृथ्वीनारायण शाहले धनवन्त र केहरसिंहलाई ललितपुर पठाई आत्मसम्पर्ण गराउन पठाएका थिए। पाटनका राजा बिना कुनै युद्ध भागेका थिए। काठमाडौँका राजा जयप्रकाश मल्ल र ललितपुरका राजा तेजनरसिंह मल्ल भागेर भक्तपुरका राजा रणजित मल्लको शरणमा पुगेका थिए। राजा रणजित मल्लले आत्मसम्पर्णको सट्टा छिमेकी राज्य र अङ्ग्रेजसँग समेत सहयोग मागेकाले अनावश्यक ढिलासुस्ती गर्न नहुने सम्झी भक्तपुरमाथि आक्रमण गर्न वंशराज पाँडे, कहरसिंह बस्न्यात, रामकृष्ण कुँवर, अमरसिंह थापा, कालीदास खड्का आदिका साथ १५०० सशस्त्र फौज पठाएका थिए।

भक्तपुरमा युद्ध भयो, जसमा ठुलो जनधनको क्षति भएको थियो। झन्डै २००० भन्दा बढीको मृत्यु र ५०० भन्दा बढी घर ध्वस्त भएको थियो। हार स्वरूप वि.स. १८२६ मङ्सिर १ गते रणजित मल्लले आत्मसमर्पण गरे। यसै युद्धमा जयप्रकाश मल्लको खुट्टामा गोली लागेको थियो। उनको इच्छाअनुसार पृथ्वीनारायण शाहले उनलाई पशुपति जाने व्यवस्था मिलाई दिएका थिए, ६७ वर्षीय वयोवृद्ध मितबाबु रणजित मल्लले इच्छा बमोजिम उनलाई काशीबासको उचित व्यवस्था मिलाएका थिए। त्यहाँ पुगेको १८ महिनापछि उनको मृत्यु भएको थियो।

ललितपुरका राजा तेजनरसिंह मल्लले कुनै इच्छा व्यक्त नगरेकाले उनलाई आजीवन भक्तपुर दरबारमा कैद गरिएको थियो। उपत्यकाका तिनैवटा शहरमा अधिकार कायम भएपछि पृथ्वीनारायण शाहले पश्चिममा चौबिस राज्य विजय गर्न वि.स. १८२८ मा वंशराज पाँडे र केहरसिंह बस्न्यातको नेतृत्वमा पठाएको फौजले हार ब्यहोरेतापनि विचलित नभइ साहस, बिरता र धर्यताको राम्रो उदारण दिएका थिए।

नेपाल अधिराज्य निर्माताको नीतियात्रा

आर्थिक नीति: पृथ्वीनारायण शाह पूर्वीय दर्शनको वैदिक साम्यवादका अनुवाइ भएकाले सदैब आर्थिक समृद्धिका साथै आर्थिक अनुशासनको बारेमा धेरै विचार व्यक्त गरेका छन्। मुलुक गरिब भयो भने सुरक्षित रहन सक्दैन भन्ने उनको मान्यता रहेको थियो। सरकारले कर उठाउनका लागि कसैलाई ठेक्का नदिइकन आफैँले सो कार्य गर्नुपर्छ भन्ने उनले धारणा रहेको थियो।

तत्कालिक समयमा नै उनले पूर्व र पश्चिमको बाटोहरू बन्द गर्दै काठमाडौँसम्मको यातायातको बाटो खुलाउने इच्छा राखेका थिए। पृथ्वीनारायण शाहले स्थानीय उत्पादनलाई जोड दिएका थिए। उनको कृति दिव्योपदेशमा उनले विदेशी व्यापारीहरू नेपाल प्रवेश गरे भने यसलाई मरुभूमि बनाएर छोड्ने धारणामा रहेका थिए। यस्तै सन्दर्भमा उनले विदेशी कपडा लगाउनलाई बहिष्कार गर्ने सल्लाह दिएका थिए र स्थानीय मानिसहरूलाई कपडा बुन्न प्रशिक्षणसमेत दिएका थिए।

स्थानीय सम्पत्ति देशबाट बाहिर जान नहुने उनको विश्वास रहेको थियो। उनले नेपाली जडीबुटीलाई विदेशी भूमिमा बेच्न र यसबाट प्राप्त सम्पत्तिलाई देशमा फिर्ता ल्याउन प्रोत्साहित गरेका थिए। उनी पैसा देशभित्र मात्र रहेको हेर्न चाहन्थे। उनले प्रसिद्ध भनाइमा उनले, ‘प्रजा मोटो भए दरबार पनि बलियो रहन्छ’ भनेर बताएका थिए।

रक्षा नीति: पृथ्वीनारायण शाहले भूगोल र वन जंगललाई सैनिक हितमा उपयोग गरेका थिए। देशरक्षामा किल्लाहरू निर्माणमा गरेका थिए। उनले नेपालको भूमिलाई भगवानले बनाएको प्राकृतिक किल्लाको रूपमा लिएका थिए। उनले शिवपुरी, फूलचौकी, चन्द्रगिरी, महादेवपोखरी, पालुङ, डापाचा र काहुलेमा बलियो किल्ला तयार पार्न र प्रत्येकमा तोप राखेका थिए। स्थायी ब्यारेकको स्थापना गरेका थिए। भन्ज्याङमा फलामका ढोकाहरू निर्माण गर्न र ती सबैमा तोपहरू तयारी अवस्थामा राख्नेगरी उनले निर्माण गराएका थिए। युद्धमा आर्थिक नाकावन्दी, जासुस नीति, शत्रुहरूमा विभाजन र शत्रुका कर्मचारीलाई आफ्नो पक्षमा पार्ने नीति लिएका थिए।

धार्मिक नीतिः पृथ्वीनारायण शाहमा धार्मिक श्रद्धा निकै रहेको थियो। यिनी काली र गोरखनाथका उपासक थिए। उनले आफ्ना छापमा आफ्नो नाम नलेखी कालीको नामान्तर भवानी र यिनको हतियार खड्ग राखिदिए। कालीका पूजामा सिन्दूरको प्रयोग हुने भएकाेले यो छापमा लगाउँदा पनि सिन्दूरकै व्यवहार गर्ने नियम गरे। यस कारण यो छाप लालमोहर भन्ने नामले प्रसिद्ध भयो। राज्य भवानीको हो, संरक्षक म हुँ भन्ने भावना यिनको मनमा थियो।

पृथ्वीनारायण शाहले चाँदीका टकमा एकापट्टी आफ्नो नाम राखेर अर्कापट्टी भवानी र गोरखनाथको नामसमेत छपाउने नियम गरे। पृथ्वीनारायण शाह सनातन धर्मका पक्षपाती भए पनि बौद्ध धर्मको आदर गर्दथे। नुवाकोट दखलपछि भोटका सक्य लामाले सिम्भु चैत्य मर्मत गर्न लाग्दा मेरुदण्डको लागि चाहिने अग्राखको लिङ्गो नुवाकोटबाट पठाइदिएका थिए। कीर्तिपुर दखल हुनेबित्तिकै चैत्यका निमित्त केही जमिन दान दिए। सेसातका मल्ल राजाहरोका इष्टदेवता टावर वा तलेज्यूका पूजाआज्ञा पनि पूर्ववत् कायम राखे।

नयाँ रियासत जितिएपछी त्यहाँका देवीदेवताका देवलहरू मर्मत गर्ने र यिनका आजापूजालाई गुठी जमिन बढाइदिने भारदारहरूको पहिलो काम हुन्थ्याे। उनले १६२८ मा मल्ल राजा शिवशिंह मल्लको पालामा नेपाल आएका केपुचिन पादरीलाई देश निकाला गरी तलहट्टी समाधान गरेका थिए।

कानुन नीतिः  श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाह धार्मिक, रक्षा र आर्थिक नीतिका पेणेता मात्र होइनन्। उनले लिखित संहिताबद्द कानुनबाट न्याय सम्पादन र दण्ड प्रदान गर्न दण्ड बिधान बनाइ लागू गरेका थिए। उनी यति सचेत थिए कि उनले राजगद्दी ऐन ज्१८२५ समेत बनाइ लागू गरेका थिए।

आधुनिक नेपालका प्रख्यात नेता तथा संस्थापक पृथ्वीनारायण शाह महान् एकतावादी मात्र नभएर न्याय प्रेमी पनि थिए। उनले देशमा राम्रो न्याय प्रणाली स्थापनाको महत्व बुझे र आफ्नो शासनकालमा यो लक्ष्य हासिल गर्न लागे। एकीकरण कार्यमा केन्द्रित भएकाले उनको प्रयास केही सीमित भए पनि काठमाडौँमा मुख्य अदालत स्थापना गर्नमा पृथ्वीनारायण शाहले निर्णायक भूमिका खेले।

उनले अन्याय रोक्न राजाको कर्तव्यको महत्वमा जोड दिए र न्याय शास्त्रको सिद्धान्तमा आधारित हुनुपर्छ भन्ने विश्वास गरे। यसबाहेक, उनले अदालत प्रशासनमा ठकुरी र विचारक पदमा मगर र न्यायशास्त्रका अन्य विज्ञहरू जस्तै अदालत प्रशासनमा जानकार र दक्ष व्यक्तिहरू हुनुको महत्व बुझे।

अदालतमा परीक्षक, विज्ञ न्यायाधीश र विद्वान उपस्थित हुनुपर्ने र न्यायशास्त्रले अदालतको कारबाहीलाई मार्गदर्शन गर्नुपर्छ भन्ने उनको विश्वास थियो। पृथ्वीनारायण शाहले अदालतको आम्दानीलाई दरबारबाट अलग राखेर जनताको हितमा प्रयोग गर्नुपर्नेमा जोड दिए। दक्षिणा, भोजन, धोती, रुमाललगायत अत्यावश्यक काममा कोष प्रयोग गर्नुपर्ने र फकिर, अतित (अतिथि), जोगी, सन्यासी, ब्राह्मण जस्ता पाहुनालाई सहयोग गर्नुपर्ने उनको धारणा थियो। समग्रमा न्याय र कानुनमा पृथ्वीनारायण शाहको योगदान महत्वपूर्ण थियो र उनको प्रयासले नेपालमा बलियो न्याय प्रणालीको जग बसायो।

दिव्योपदेश वाद व्याख्याको पर्खाइमा

वाद एउटा प्रत्यय हो जुन कुनै शब्दको पछाडि जोडिएर त्यस शब्दको अर्थलाई बृहत्तर रुपमा सिद्धान्त, विचारधारा, दर्शन वा व्यवस्थाको रुपमा वर्णित गरिदिन्छ।

राजा श्री ५ पृथ्वीनारायण शाह नुवाकोट गएका बेला आफ्नो अन्तिम अन्तिम समयमा भाइभारदारहरूलाई जम्मा गरी दिएको अर्ति एवं उपदेशलाई हाल पृथ्वीनारायणको दिव्य–उपदेश भनेर चिनिन्छ। दिव्य–उपदेश काजी अभिमानसिंह बस्नेतको घरमा थियो। अभिमानका घरमा बस्ने लेखापढीको काम गर्ने वंशधर मुखिया श्री भक्तबहादुरसँग यसको प्रति सुरक्षित रहेछ।

इतिहासकारद्वय बाबुराम आचार्य र योगी नरहरिनाथले अभिमानसिंहकै वंशधर बखतमान सिंह बस्नेतबाट यो प्राप्त गरका थिए। दिव्य–उपदेश पुस्तकका रूपमा २०१० साल पुस २७ मा छापिएको थियो। २००७ सालमा राणा शासनको अन्त्यपछि २००९ सालमा पहिलो पटक ‘पृथ्वीजयन्ती समारोह समिति’ गठन गरियो अनि राज्य तहैबाट पनि शाह वंश सतहमा देखियो। उनका उपदेशहरू आजपनि समय सान्दर्भिक रहेको छ।

१. दुई ढुङ्गाको तरुल: नेपाल राज्य दुई ढुङ्गाको तरुलजस्तो छ।

(२) चीनसँगको सम्बन्ध: चीनका वादशाहसित ठुलो घात राख्नू।

(३) अङ्ग्रेजसँगको सम्बन्ध: हिन्दुस्तानलाई दबाइराखेको दक्षिणी वादशाह महाचतुर छ, जाई कटक नगर्नू, झिकी कटक गर्नू।

(४) किल्लाको व्यवस्था: शिवपुरी, फुलचोकी, चन्द्रागिरि, महादेव पोखरी, पालुङ्ग दाप्चा र काहुलेमा सैन्यबलसहित किल्ला मजबुत राखेमा कसैको पनि केही चल्ने छैन भन्ने कुराको उल्लेख।

(५) उत्तर–दक्षिणको बाटो: पूर्व–पश्चिमको बाटो बन्द गरी नेपालको बाटो चलाउनू।

६) लोक स्थितिको रक्षा: जात विशेषका कर्म गर्नू।

(७) दहचोकमा राजधानी: तीन सहर चिसो ढुङ्गो भएकाले दहचोकमा दरबार बनाउने अभिलाषा व्यक्त।

(८) पर्सामा बजार: विदेशी महाजनलाई पर्सागढदेखि उँभो आउन नदिनू, आए भने हामीलाई कङ्गाल बनाउँछन्।

(९) स्वदेशी कपडाको व्यवहार: विदेशी कपडा लगाउन मनाही गर्नू र आफ्नो देशका कपडा बुन्न जान्नेलाई सहयोग गर्नू, यसो भए नगद विदेसिँदैन।

(१०) स्वदेशी वस्तुको निकासी: आफ्नो देशका सामान जडीबुटी विदेश लगी नगद खर्चनू, प्रजा मोटा भए दरबार बलियो हुन्छ।

(११) राजाको धन दुनियाँ हुन्: राजाका भण्डार भनेका रैतीहरू हुन्।

(१२) कर उठाउन ठेक्का नदिनू: कर उठाउन ठेक्का नदिई सरकारी तवरबाटै उठाएर फाटवारी तयार गर्नू।

(१३) भारदार र सैनिकहरूलाई धन कमाउन नदिनू: भारदार, सैनिक आदि कसैलाई पनि अतिरिक्त सम्पत्ति कमाउन नदिनू।

(१४) मैले आर्जेको मुलुक छोटा बडा सबै जातको साझा फुलबारी हो: मेरा साना दुखले आर्जेको मुलुक होइन, सबै जातको फुलबारी हो, यस फुलबारीका छोटा बडा सबै चारै जात छत्तिसै वर्ण (चार जात छत्तिस वर्ण नभएर चार वर्ण छत्तिस जात) ले कुल धर्म नछोड्नू।

(१५) वंशक्रमागत पद: ख्वामितको नुनको उद्धार गर्नू, कतै पनि कालु पाँडे, शिवराम बस्नेतका सन्तानलाई नछुटाउनू।

(१६) राजाले सेवकलाई घरमा नमार्नू: पाँडे, बस्नेत, पन्त, भैयाद, मगरलाई आलोपालो गरी खान (पद) दिनू, यी साझा सेवक हुन्, यिनले गल्ती गरेमा आफूले नमार्नू, लडाइँँमा झोसिदिनू, मरे–बाचे दुवै बेसै हुन्छ।) अन्याय हुन् नदिनू: राजाले ठुलो न्याय निसाफ हेर्नू, मुलुकमा अन्याय हुन् नदिनू।

(१७) घुस्याहालाई ठोक्नै पर्छ: निया–निसाफ बिगार्ने भनेका घुस दिने र घुस खाने दुवै हुन्। यिनको धन, जिउ, हरण गरे पनि पाप लाग्दैन, यी राजाका महाशत्रु हुन्।

(१८) सिपाहीलाई पायक पर्ने खान पुग्ने जग्गा दिनू: जड कुरो राजालाई चाहिने सिपाही भएकाले तिनलाई उपयुक्त ठाउँमा घर खेत मिलाईदिनू।

(१९) लडाइँमा जस पाएकालाई माथि उकालिदिनू: सिपाहीको पदोन्नति गर्दा लडाइँमा विजय प्राप्त गरेकालाई प्राथमिकता दिनू।

(२०) लडाका जात: खस, मगर, गुरुङ र ठकुरी मिलाएर सेनामा भर्ना गर्नू, यी चार जातबाट बैरी त के इन्द्रको आसन पनि डग्मगाउँछ।

(२१) शस्त्र सङ्ग्रह: हजारौँ धनु, बन्दुक, तोप भए इन्द्रको आसन पनि डग्मगाउँछ।

(२२) लडाका र तिनका सहायक: लडाइँमा हान्ने र साथ दिने दुवै बराबर हुन्, जागिर र जग्गा दिँदा दुवैलाई बराबर दिनू।

(२३) मरवट: लडाइँमा मरेकाको छोरा खुँडा हान्ने नहुन जेल मरवट दिनू र खुँडा हान्न सक्ने भएपछि जागिरमा उकाली दिनू।

(२४) राजाले विवेक राख्नुपर्छ: राजाले विवेक राखिदिए देश–देशका गतिला सिपाही पनि आशा राखी आउँछन्।

(२५) सिपाही र दुनियाँ राजाका सार हुन्: सिपाही र रैती राजाका सार भएकाले चतुर राजाले यी दुवैलाई हात लिई राखेमा हुलदङ्गा हुँदैन।

(२६) सिपाहीलाई तिखार्दै रहनू: सिपाहीलाई तिखारिरहेमा तिनले सधैँ आफ्नो काम फत्ते गर्छन्।

(२७) दुर्गपालको छनाैट: गौडामा गुरुङ, मगर आदि पुराना छानेर राख्नू।

(२८) अजानपदलाई ठुलो अधिकार नदिनू: बाहिरिया मान्छेले दरबारमा बेथिति गराउने हुँदा पूर्व–पश्चिमका खस–बाहुन्लाई दरबारमा पस्न नदिनू।

(२९) लालमोहर राजाबाटै हुनुपर्छ: राजाको हुकुम जफत वा आफ्नै अधीन गरी राख्नू।

(३०) योग्य अन्तपालले देशको उन्नति गर्छन्: आफूले तीन थुमका बराहा उमराउलाई इन्द्र बज्र तुल्याएको, नगरा निशान दिएको, बारबीसको गाँठो बाधी दिएको र सल्यान, लिगलिग, धादिङका मुहुडामा फत्ते गर्थ्याे र त्यसै गर्नू।

(३१) पुराना योग्य मानिसलाई जाँची हजुरिया बनाउनू: दरबार बलियो बनाउन पुराना सेवकलाई आफ्नो निकट राख्नू।

(३२) प्रजालाई र सैनिकलाई अन्त लहसिन नदिनू: सिपाही र रैतीलाई हात लिई नुनको पछि लगाउनू।

(३३) शुद्ध चाँदीका मोहर रुपियाँ चलाउनू: टकसार पनि चोखो चलाउनू।

(३४) न्यायालय: अदालतमा ठकुरीलाई डिट्ठा, मगरलाई विचारी बनाई प्रत्येक कचहरीमा एक जना पण्डित राखी न्यायशास्त्र बमोजिम अदालत चलाउनू।

(३५) न्यायालयबाट आएको आम्दानी धर्मकर्मीमा लाउनू: अदालतको पैसा दरबार नभियाई माग्ने, जोगी, सन्न्यासी, ब्रामणहरूलाई दक्षिणा र भोजन दिनू, उब्रेका पैसाले कपडा किनिदिनू, त्यसो भए असत्यको दोष लाग्दैन।

(३६) गाउँ हटाएर पनि खानी चलाउनू: खानी भएका ठाउँमा गाउबस्ती भए त्यसलाई अन्यत्र सारी खानी चलाउनू।

(३७) घर हटाएर पनि खेत बनाउनू: उब्जनीयोग्य जमिनमा भएका घर हटाई खेती गर्नू। यस्ता वादका अक्षरहरू सदा सबैका लागि जिवन्त रहिरहनेछन्।

मूल्याकनको कसीमा अधिराज्य निर्माता

नेपाल अधिराज्य निर्माता श्री ५ पृथ्वीनारायण शाहले आधुनिक नेपालको जग बसाली सानो राज्य गरिरहेको शाहवंशलाई नेपालको राजवंशमा रूपान्तरण गरिदिए। उनी ग्रीक साम्राज्यवादी अलेक्ज्याण्डर द ग्रेट सरह नेपालको साम्राज्य बनाउन चाहन्थे। उनी जति वीर थिए, त्यति नै वीरहरूको कदर गर्न जान्दथे।

राजकीय व्यवहारमा कूटनीति, सरलता र दया उनका विशेषता थिए, तर दया र सरलतालाई कमजोरीका रूपमा कसैलाई उपयोग गर्न दिएनन। श्री ५ पृथ्वीनारायण शाह सांस्कृतिक अन्तरघुलनका संवाहक र नेपाल एकीकरणका जनक हुन् साथै आधुनिक अधिराज्य निर्माणका रणनीतिकार र कार्यान्वयनकर्ता पनि हुन्।

आधुनिक अधिराज्यका आधार जनता, सेना र राजा हुन् भन्ने उनको भनाइ अहिले अमेरिकाले प्रमाणित गरेको छ। उनीद्वारा सञ्चालित सैनिक अभियानको उल्लेखनीय पक्ष कूटनीति, सूचना, सैनिक र आर्थिक हुन्।

राज्य संन्चालन वा राजनीतिमा आर्थिक नीति, रक्षा नीति, धार्मिक नीति र कानुन नीतिको अपरिहार्यता दख्ने उनी सदैव स्वतन्त्र अर्थ नीति, असंलग्न परराष्ट नीति, सामाजिक नीति र मौलिक सनातन चरित्रको राज्यको पक्षमा रहेका थिए। उनको युद्द जीवनबाट धर्यता, चातुर्यता, वीरता, आर्दशता, उदारता र तपस्पीका स्पमा देख्न सकिन्छ।

पृथ्वीनारायण शाहलाई ‘पथ’का दर्ष्टिकोणबाट जर्मनीका विस्मार्क, अमेरिकाका जर्ज वासिङ्टन, इटालीका गेरीवाल्डीसँग तुलना गर्न सकिन्छ भने ‘वाद’का रूपमा कौटिल्य, प्लेटो, अरस्तु र बेकनसँग तुलना गर्न सकिन्छ।

उनी हिजोको जस्तो होइन, आजका महात्मा गान्धी, नेलसन मण्डेला, मार्टिन लुथर किंग जूनियर, विन्स्टन चर्चिल, बाराक ओबामा, नरेन्द्र मोदी, ली कुआन यू, मार्गरेट थ्याचर, जुलियस न्येरेरे, भ्लादिमिर पुटिनजस्ता राष्टवादी, असल र सफल राजनीतिज्ञको रूपमा, एडम स्मिथ, डेभिड रिकार्डो, र जे.ए. होब्सन माक्र्स भ्लादिमिर लेनिन बुखारिन सरहका हुन्।

उनी साम्यवादी अर्थशास्त्रीको रूपमा अगस्टे कोम्टे, कार्ल मार्क्स, एमिल दुर्खिम, म्याक्स वेबर, ह्यारिएट मार्टिनेउ, एलेक्सिस डे टोक्वेभिल, एन्टोनियो ग्राम्सी, माइकल फुको, राइट मिल्स, प्याट्रिसिया हिल कोलिन्स, रोबर्ट के मर्टन, हर्बर्ट स्पेन्सर, चार्ल्स होर्टन कूली, जर्ज हर्बर्ट मीड, जर्ज सिमेल, जुर्गेन हबरमास, एन्थोनी गिडेन्स, तालकोट पार्सन्स सरहका समाजशास्त्रीको रूपमा, सन जु, चंगेज खान, अलेक्जेन्डर महान्, ह्यानिबल, स्किपियो अफ्रिकास, नेपोलियन, कार्ल भोन क्लाउजविट्ज, इर्विन ‘डेजर्ट फक्स’ रोमेल, जोन डी रकफेलर र जेफ बेजोस सैनिक विचारक र युद्दकलाको रूपमा, रिचर्ड पोस्नर, इर्विन चेमेरिन्स्की, एलन डेरशोविट्स, लरेन्स जनजाति, जोन फिनिस, क्यास सनस्टीन, माइकल पोस्नर, मार्था मिनो, जेरेमी वाल्ड्रोन, एरिक पोस्नर जस्ता कानुनबेत्ताका रूपमा, इजिप्टका मुहम्मद अली, अर्जेन्टिनाका सैन्य कमाण्डर जोसे डे सान मार्टिन, क्यारिबियन समुदायका एरोल ब्यारो संयुक्त राज्य अमेरिकाका जोन एडम्स, बेन्जामिन फ्रैंकलिन, अलेक्जेंडर ह्यामिल्टन, जोन जे, थोमस जेफरसन, जेम्स म्याडिसन, र जर्ज वाशिंगटन, चीनका सन यात–सेन, माओ, भारतका महात्मा गान्धी, इजरायल थियोडोर हर्जल, जापानका सम्राट जिम्मु, जर्मनीका ओटो भोन बिस्मार्क, ग्रीसका एडमान्टियोस कोराइस, थियोफिलोस कैरिस, इटालीका अगस्टस ज्युसेप गारिबाल्डी र नेपोलियन बोनापार्ट, रूसका रुरिक, भ्लादिमिर लेनिन र बोरिस येल्तसिन जस्ता राष्टवादका प्रर्बतकका रूपमा, देशभक्त स्वाभिमानका प्रतिक र राष्ट निर्माताका रूपमा लिन सकिन्छ।

पृथ्वीनारायण शाहले शासकको एकमात्र दायित्व जनताको सेवा गर्नु हो भन्ने ठान्थे। ‘महान राजा पृथ्वीनारायण शाह’लाई दार्शनिक राजा भनेर चिन्नु र सम्बोधन गर्नु मात्र तर्कसँगत हुनेछ किनभने उनले आधुनिक संसारलाई जनप्रतिनिधि र सहभागिताबाट चल्ने लोकतान्त्रिक सरकारको उत्कृष्ट उदाहरण दिएका छन्। त्यसैले नेपालले मात्र होइन विश्व समुदायले पनि उनको उपलब्धिको कदर गर्नुपर्छ र उनलाई उचित सम्मान दिनुपर्छ। 

संक्षेप

इतिहासले जन्माएका बाबा गोरखनाथका परम भक्त श्री ५ पृथ्वीनारायण शाह नेपाल अधिराज्य निर्माता र दूरदर्शी नेता हुन्। उनको सबै तथ्य दिव्योपदेश र अभियानबाट प्रस्ट हुन्छ। राष्ट्रिय वस्तुको प्रवर्द्धन, भ्रष्टाचारविरुद्धको कारबाही– उनको अभियान थियो।

ब्रिटिश ईस्ट इण्डिया कम्पनीविरुद्धको उनको लडाइँँ राष्ट्रको क्षेत्र बढाउनको लागि महत्वपूर्ण कारक थियो। सबैतिर एकता हुँदा नेपाल शक्तिशाली हुने उनको बुझाइ थियो।

पृथ्वीनारायण शाह महान र बृहत्तर नेपालको रचनाकार र योजनाकार रही सफल नेतृत्व गरेको तथ्य नुवाकोट विजय, मकवानपुर विजय, कीर्तिपुर विजय, काठमाडौँ विजय, पश्चिम नेपालको विजय, पूर्वी नेपालको विजयले प्रमाणित गर्दछ। उनले विवाहलाई राजनीतिक गठबन्धन र नाता सम्बन्ध बनाउने शत्रु बुझ्ने कौसलको रूपमा लिएका थिए। उनको जीवनमा मामा सल्लाहको भूमिका छ। उनको हत्या प्रयासलाई असफल बनाएका थिए।

पृथ्वीनारायण शाहको योगदानमा सैन्य उपलब्धि, नेपालको एकीकरण, न्याय र कानुन, देशभक्ति र संस्कृति, सफल विदेश नीति, अर्थतन्त्र वैदिक साम्यवाद, विद्वान खोज र सम्मानमा रहेको थियो। पृथ्वीनारायण शाहका सैन्य उपलब्धिहरू नेपालको आधुनिक राज्यको जग थिए। उनको सैन्य रणनीति र नेतृत्व कौशल उच्च थियो। उनले नेपाललाई बाह्य खतराहरूबाट जोगाउन सक्षम थिए। उनको नेपालको एकीकरणले आफ्नो क्षेत्रको विस्तार र एक स्वतन्त्र अधिराज्यको जग बसाल्यो।

पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक रूपमा मात्रै होइन, प्रशासनिक, आर्थिक र सांस्कृतिक रूपमा पनि एकीकरण गरेका थिए। उनलाई नेपालको राष्ट्रिय निर्माता मानिन्छ। यसबाहेक पृथ्वीनारायण शाह न्यायप्रेमी थिए, अदालत प्रशासनमा जानकार व्यक्तिहरू हुनुपर्ने र अदालतको आम्दानीलाई दरबारबाट अलग राख्ने महत्वमा जोड दिन्थे।

एक महाननेता र एकीकरणकर्ताको रूपमा उनको विरासत जीवित छ। पथ र वादका सर्जक श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाह हामी नेपाली साझा ढुकढुकी हुन् र रहिरहनेछन्, जतिबेलासम्म नेपाल र नेपालीमाथि चन्द्र र सूर्य रहिरहनेछ।

प्रकाशित मिति: : 2024-01-12 12:30:00

प्रतिकृया दिनुहोस्

    अति उत्तम लेख

    • 3 महिना अगाडि
    • Surendra jung shahi