काेहलपुर घटना : ७ वर्ष पहिले ग्रिल उद्योगमा काम गर्ने व्यक्तिले पैसाको लोभमा हत्या गरेकाे खुलासा

बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा पैसाको लोभमा परेर योजनाबद्ध रुपमा दम्पतीकाे हत्या गरिएको खुलासा भएको छ।

कृष्णकुमार गडरिया र उनकी श्रीमती अञ्जली गडरियाकाे साेमबार राति हत्या भएकाे थियाे। हत्या गर्नका लागि घरका आफ्नै दाजु विजयकुमार गडरियाले योजना बनाएकाे प्रहरीले जनाएकाे छ।

‘७ वर्ष पहिले गडरियाको घरमा ग्रिल उद्योग भाडामा सञ्चालन थियो। सो उद्योगमा नेपालगञ्ज उपमहानगरपालिका-१८ लग्दहवाका २६ वर्षीय सकिल अली शेष काम गरेका रहेछन्। ७ वर्षदेखि नै विजयले शेषसंग भेटघाट, आवतजावत र नियमित सम्पर्क भइरहेको रहेछ’, प्रहरीले भन्यो।

प्रहरीका अनुसार जेठो छोराले विजयले केही वर्ष अगाडि बुवा घिरनलाई मार्ने योजना बनाए तर कान्छो छोरा कृष्णले मार्ने योजना सफल हुन दिएका थिएनन्।

कृष्णले १ वर्ष पहिले अञ्जलीसंग विवाह गरेका थिए। विवाह भएपछि झन जेठो छोरा विजयलाई सम्पत्तिको मोह बढ्यो। सम्पत्तिको मोह बढेपछि परिवारकै सदस्य सहोदर भाइ कृष्णको हत्याको गर्ने योजना बनाएको विजयले बयान दिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐन बहादुर मल्लले बताए।

प्रहरीले २४ घण्टाभित्रै हत्यारालाई पत्ता लगाउन सफल भयो र पक्राउ पनि गर्याे।

योजनाकार विजयबाटै हत्यारासम्म पुग्न सजिलो भयो : प्रहरी

योजनाकार विजयबाट नै हत्यारासम्म पुग्न सजिलो भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी मल्लले बताए।

घटना घटेको केही घण्टामा नै घरभित्रकै मानिसको संलग्नता छ भन्ने थाहा पाउनासाथ मृतक कृष्ण र अञ्जलीका दाजुभाउजु विजय र रेखालाई प्रहरी पक्राउ गरेको थियो। दाजुभाउजुको बयानको आधारमा हत्यारासम्म पुग्न सफल भएको मल्ले बताए।

पक्राउ परेका आरोपीले प्रहरी समक्ष घटना स्वीकारे

पक्राउ परेका आरोपीले प्रहरीसमक्ष घटना स्वीकारिसकेको प्रहरीले जानकारी दिए। कृष्णका सहोदर दाजु विजय र उनकी पत्नी रेखाको योजनामा नेपालगञ्जका ‘कन्ट्याक्ट किलर’ प्रयोग भएको तथ्य पनि प्रहरीले पत्ता लगायो।

‘डेढ महिनाअघि नै दुई लाख रुपैयाँ उनीहरूले बुझिसकेका रहेछन्। घटना हुनुभन्दा अघिल्लो दिन ५० हजार दिएको रहेछ। बाँकी साढे दुई लाख केही समयपछि दिने कुरा भएको तथ्य अनुसन्धानबाट खुलेको छ’, मल्लले भने।

पाँच लाखमा भाइबुहारीको हत्या गर्न भनेर ‘कन्ट्याक्ट किलर’ हरूलाई दाजु विजयले ‘सुपारी’ दिएर योजना बनाएको तथ्य खुलेको डिएसपी मल्लले बताएका छन्।

पक्राउ परेका राजनबाट कटुवा पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ। राजनले घटना गराउँदा उक्त कटुवा पेस्तोल लगेको भएपनि प्रयोग नभएको र घर नजिकै बारीमा लगेर गाडेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ।

गडरिया दम्पतीको हत्या घाँटीमा डोरीले कस्दा निस्सासिएर तथा हातको नशा समेत काटिएको हुँदा अत्यधिक रक्तश्रावबाट भएको पोष्टमार्टम रिपोर्टबाट देखिएको छ।

प्रकाशित मिति: : 2022-07-28 19:00:00

प्रतिकृया दिनुहोस्