‘ग्रीन राेड, ग्रीन रीभर’ याेजना अन्तर्गत् धमाधम बिरुवा राेप्दै हिमा

चुनावमा पाएकाे मत जति बिरुवा राेप्ने वडा अध्यक्ष

जुम्लाकाे हिमा गाउँपालिकाकाे नीति तथा कार्यक्रममा एक विशेष नारा छ, 'ग्रीन राेड, ग्रीन रीभर' अर्थात् सडक हरियाे र नदी पनि हरियाे। याे याेजना सफल पार्न पालिकाले हरेक वर्ष ५० हजार बिरुवा राेप्ने याेजना सार्वजनिक गरेकाे छ।

आफ्नाे याेजनाअनुसार याे वर्ष धमाधम बिरुवा राेपिरहेकाे गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले बताए। 'हेर्दा सामान्य लाग्ने याे याेजनाले हिमालाई कर्णालीकै सुन्दर पालिमा बनाएरै छाेड्छाैं,' उनले भने, 'हरेक वर्ष ५० हजार बिरुवा राेप्ने याेजनाअनुसार यतिबेला काम भइरहेकाे छ।'

उनकाअनुसार देश संघीयतामा गएपछि स्थानीय तहले गरेका डोजरे विकासले वातावरणीय प्रभाव मूल्यांकन नगरी हुँदा डाँडापाखा झन् कुरुप हुन पुगेका छन्। त्यसमाथि बाढी, पहिराेकाे जाेखिम बड्दै छ।

उनले भनेजस्तो जुम्लाका हिमा, पातारासी, तिला र तातोपानी गाउँपालिका बाढी पहिरो र भू-क्षयकाे उच्च जोखिममा पर्छन्। जलवायु परिवर्तनले पानीका मुहान सुक्दै छन्। अन्नबाली उत्पादन घट्दै छ।

तर, वातावरण संरक्षणमा स्थानीय सरकारको प्रथामिकता छैन्। त्यसैले हिमाले बिरुवा राेपेर राेड र रीभरलाई ग्रीन बनाइछाेड्ने याेजना बनाएकाे छ। याे याेजनाले राेड र रीभर मात्रै नभएर नाङ्गा डाँडापाखा समेत हराभरा बनाउने अध्यक्ष शाहीले बताए।

'अभियान अन्तर्गतको तलिकुडीस्थित मष्टमाटु पाखा र वडा नं. ५ को भुगाल पाटामा झण्डै ३ सय बिरुवा रोपिएको छ,' उनले भने, 'प्रत्येक वर्षको साउन महिनामा पालिका भरिका नाङ्गा डाँडापाखा तथा नदीको तटीय क्षेत्रमा बिरुवा रोपिने छ।'

पञ्चवर्षीय योजना अन्तर्गत हिमालाई हरियाली र जलवायु अनूकुल पालिका बनाउने अभियान अन्तरर्गत हरेक वर्षको साउन महिनाभरि वृक्षरोपण अघि बढाइनेछ।

जलवायु अनुकूलन, बाढी पहिराे, भूक्षय नियन्त्रण, वातावरण संरक्षण गर्ने उद्देश्यका साथ पाँच वर्षमा साढे दुई लाख बिरुवा रोपिनेछ।

'प्रत्येक वर्षको साउन महिनाभरी ५० हजार बिरुवा रोपिनेछ। विशेष गरी नदी तटीय क्षेत्र र नाङ्गा डाँडापाखामा बिरुवा रोपिने छ,' अध्यक्ष शाहीले भने, 'पाँच वर्षमा २ लाख ५० हजार बिरुवा रोपेर हरियाली गाउँपालिका समेत घोषणा गर्ने योजना छ।'

बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न तथा बाढी पहिरोबाट खेतीयोग्य जमिन बचाउनुका साथै बस्तीलाई सुरक्षित गर्न वृक्षा रोपण गर्न लागिएको हो।

साउन लागेसँगै सुरु भएकाे वृक्षरोपण अभियान साउन महिनाभरि जारी रहने हिमाले जनाएको छ। साथै हिमाले साउन महिनालाई वृक्षरोपण महिनाका रूपमा घोषणा भएको छ।

हिमा ७ वटै वडाका विभिन्न बस्ती डाँडापाखालाई हराभरा बनाइने छ। सल्लो, देवद्यार, किमु, ओखर, पिपल र बैंसका बिरुवाहरु रोपिएका छन्।

वन्यजन्तु लोपउन्मुख अवस्थामा रहँदा वृक्षरोपणले वन्यजन्तुको सुरक्षित बासस्थानकाे व्यवस्था गर्नेछ। अध्यक्ष शाहीले भने,'बासस्थानकाे कमीले वन्य जन्तु गाउँ पस्न थालेका छन्। हरियाली वन बनाउन अति जरुरी भइसक्याे।'

भू-तथा जलाधार व्यवस्थापन कार्यालयका जुम्लाका प्रमुख शेखर चापागईले प्राकृतिकजन्य विपद् रोक्न तथा वातावरण संरक्षणका लागि हिमाले गरेको वृक्षरोपण कार्य प्रसंसनीय रहेको बताए।

'जुम्लाका अधिकांश बस्ती बाढी पहिरोको जोखिममा रहेका छन्। डोजरे विकासले वातावरण कुरुप बनेको छ,' उनले भने, 'वृक्षरोपणले वातावरण संरक्षण सँगै सुन्दरता कायम र विपद न्यूनीकरण गर्न महत पुग्छ।'

चुनावमा पाएकाे मत जति बिरुवा राेप्ने वडा अध्यक्ष

हिमा गाउँपालिका- १ का वडा अध्यक्ष रतनबहादुर शाहीले आफूले पाएकाे मत संख्या बराबर बिरुवा राेप्ने घाेषणा गरेकाे थिए। सपथ ग्रहण पश्चात पदभार ग्रहण गर्ने बेला यस्ताे घाेषणा गरेका उनी यतिबेला बिरुवा राेप्न सक्रिय छन्।

उनले वडा अध्यक्ष जित्दा ३ सय २८ मत प्राप्त गरेका थिए। वर्षामा मौसमअनुसार बिरुवा रोप्ने कार्य चलिरहेको उनले बताए।

'बिरुवा राेप्ने हाम्राे याेजनाले तत्काल जनतालाई कुनै खालेकाे सेवा दिने छैन,' उनले भने, 'तर, दीर्घकालमा याे जति प्रभावकारी याेजना अर्काे हुने छैन। मलाई विश्वास छ एक युगका लागि साेचेर बनाएकाे याेजना सफल बनाइ छाेड्नेछु।'

प्रकाशित मिति: : 2022-07-29 08:19:00

प्रतिकृया दिनुहोस्