टिस्टाको तिरमा पुर्खाको रगत खोज्दा... (तस्बिरसहित)

काठमाडौँबाट पहिलाे पटक पूर्वतिर लाग्दा जिउ कठ्याङ्ग्रिने जाडो थियो। सिन्धुली बर्दिबासको बाटोबाट माेटरसाइकलमा साथी रवि महर्जन र म पूर्व गइरहेको छौँ। अरु दुई जना साथीहरू रामजी श्रेष्ठ र रविन पाण्डे पहिला नै काकड्भिट्टा पुगिसकेको थिए। चिया/नास्ता खाना काभ्रे पुगेका हाम्राे खाना चाहिँ बर्दिबासमा भयाे।

मेची नदी वारी अहिलेको नेपाल, पुलपारी पहिलेको नेपाल। पुल तरेर पारी पानी टङ्कीबाट सिलिगुरी जाने बस चढ्याैँ। त्यहाँको आकाशे पुल, रोड, ट्रेनका लिग, भारतीय न. प्लेटका सवारी साधन र बङ्गाली अक्षरमा लेखिएका साइनबोर्डले भने पुरानो नेपाल भारत बनिसकेको थियो। दार्जिलिङ रोडमा देखिएका मङ्गोलियन अनुहारहरुले भने नेपाल हो कि झै लाग्ने। कहिले कता कहिले कता नजर डुलाउँदै लाग्यौँ, हामी टिस्टा नदीतिर।

हामी सिलिगुरी पुगिसकेका थियौँ। सिभोक जङ्गलका बेङ्गोल सफारी, टाइगर सफारी हेर्दै गयौँ। हामी चढेको विद्युतीय टेम्पोमा ब्याट्रीकाे चार्ज कम रहिछ। बिस्तारै कुदेको थियो, जसको फाइदा हामीलाई जङ्गल, त्यहाँ देखिने जंगली जनावर, पशुपन्छी हेर्न पाइराखेका थियौँ। तर, भित्री मनमा भने टिस्टा नदी पुग्ने रहर छ्दै थियो।

हामी सेभोग रेल्वे स्टेशन पुग्दा बजार सुनसान थियो। सानो बजार रहिछ, छेउमै रेल्वे स्टेशन, गान्तोक र सिक्किम जाने रोड। बसबाट उत्रिएर पैदल हिँड्यौँ। अगाडि पुल थियो, पुलमाथि गयौँ, फोटोहरु खिचायौँ। पुलमुनि अविरल बगिरहेको थियो, टिस्टा नदी।

टिस्टा लेखिएको एउटा बोर्ड थियो, पुलसँगै। टिस्टा लेखिएको देख्ने बित्तिकै मनमा चसक्क भयो। भित्रैबाट गर्वले छाती फूल्यो हाम्रो पुर्खाले यो भूमिसम्म नेपालको सीमा बिस्तार गरेका थिए। यही टिस्टा नदीको पानीमा दुश्मनको शिर काट्दा खुकुरीको धारमा लागेको रगत पखालेका थिए भन्ने बुझ्न हामीलाई समय लागेन। तर, यो गर्विलो इतिहास सम्झेर फुलेको छाती धेरैबेर अडिन पाएन, सम्झिएँ अहिले त यो भारतमा पर्छ। हाम्रो सिमाना त मेची नदीपारी मात्रै सिमित छ। यो सम्झिएर मन खल्लो भयो, केहीबेरअघि देखेका सिलिगुरी बजारमा देखिएका दार्जिलिङगे नेपाली अनुहार अहिले पराइ जस्तै लाग्यो।

साथीहरू पुलमा पालैपालो फोटो खिच्न थाले। रेल हिँड्ने लिगमा हिँड्दै नदीपारी लाग्यौँ, हामी। पुर्खाले रगत बगाएको पानीलाई मैले नजिकबाट अङ्गाल्ने निधो गरेँ, नदीछेउमा पुगेँ, नदी कति गहिरो थियो अनुमान लगाउन सकिएन निलो कञ्चन पानी बगिरहेको थियो। लगाएका कपडा खोलेर झ्वाम्म नदीमा हाम फालेँ। साथीहरु आत्तिए तर नदीको पानीको बहाव सरल थियो। म पौडिन थालेँ साथीहरू पनि एकपछि अर्को गर्दै नदी हाम फाले।

जाडो मौसम भएपनि घाम राम्रै लागेको थियो। पौडी खेलेर बगरमा घाम न्यानाेकाे आनन्द लियाैँ। टाउमाथि ट्रेन गुड्ने पुल थियो, बेलाबेलामा ट्रेन आउथ्यो। टिस्टाको कञ्चन पानीमा पुल र पुलमाथि कुदिँरहेको ट्रेनको छाया गज्जबको देखिन्थ्यो। तर, यी सुन्दर दृश्य हेर्दा पनि मेरो दिमागमा भने ग्रेटर नेपाल, सुगौंली सन्धि, वीर गोर्खाली नघुमेका भने होइनन्। तर, ती कुरा कोट्याएर साथीहरूसँग भइरहेको रमाइलो माहोलको अन्त्य गर्न चाहेनँ। मनभित्र कति धेरै कुराहरू चल्दै थिए तर ती सबै कुराहरूलाई मैले मनभित्रै गुम्साएर राखेँ।

घडीमा दिउँसोको ४ बज्न लाग्याे। हामीलाई काकड्भिट्ट फर्किनु थियो। माेटरसाइकल र केही सामान हामीले काकडभिट्टाको होटलमै छोडेका थियौँ। फेरि भेट्ने वाचा गर्यौँ, टिस्टासँग। अनि काङ्गगडा पुग्ने याेजना बनाउँदै टिस्टालाई विदाईका हात हल्लायौँ।

अनि लाग्याैँ, सरर काकड्भिट्टातिर...

प्रकाशित मिति: : 2022-07-30 10:00:00

प्रतिकृया दिनुहोस्

    Great guys at least you know the history of greater Nepal those who gave their young age life for the Nation I have great respect to them. Same way we should have patriotic think for our Nation .

    • एक बर्ष अगाडि
    • Mirendra Mall