दिमागमा रगत जमेकी सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार

दिमागमा रगत जमेकी सुत्केरी महिलाकाे हेलिकप्टरबाट उद्दार गरिएकाे छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सुत्केरी भएर उपचार गराइरहेकी मुगु, कार्मारोङ गाउँपालिका- ७, पाखाकी २८ वर्षीया मान्डिक लामाको हेलिकप्टरबाट उद्धार गरिएको हाे।

सुत्केरी भएको चौथो दिनमा लामा एक्कासी बेहोस भएपछि सीटी स्क्यान गर्दा दिमागमा रगत जमेको थियाे। उनलाई न्युरो सर्जरीका लागि काठमाडौं वीर अस्पतालमा पठाइएको प्रतिष्ठानका अस्पताल निर्देशक डा. राजिव शाहले जानकारी दिए।

सुत्केरी लिन महिला बालबालिका तथा सामाज कल्याण मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर जुम्ला पुगेको थियो।

उनकाे साउन १२ गते लामाको अप्रेसन गरेर बच्चा निकालिएको थियो। सुत्केरी हुन जुम्ला आएकी लामाको स्वास्थ्य अवस्था चौंथो दिनसम्म सामान्य रहेकाे प्रतिष्ठानमा अस्पताल निर्देशक शाहले बताए।

'अस्पतालले डिस्चार्ज गर्ने तयारी गरिरहेको थियो। तर, एक्कासी बहोस भएपछि चिकित्सकको टोलीले सिटिस्क्यान गरेर हेर्दा दिमागमा रगत जमेको देखिएको थियो,' उनले भने,'जुम्लामा न्युरो सर्जरी हुन नसक्ने भएकोले बिरामीलाई वीर अस्पतालमा रेफर गरिएको हाे।'

उनकाअनुसार सुत्केरी महिलाकाे दिमागमा रगत जमेको छ। स्वास्थ्य अवस्था  नाजुक छ। तर, बच्चाको अवस्था भने राम्रो छ। न्युरो सर्जरीका लागि पठाउनुपर्ने अवस्था आएपछि सुत्केरीलाई रेफर गरिएको हो।

दिमागमा रगत जमेको अवस्थासँग सुत्केरीको अवस्था दाँज्न नमिल्ने निर्देशक शाहले थपे। उनले भने, 'डिस्चार्ज गर्ने भनेर प्रेसरदेखि सबै अवस्थाको जाँच भइसकेको थियो। एक्कासी समस्या आएकाे हाे।'

हेलिकप्टरमार्फत् समयमै सुत्केरी उद्धार गर्न सकिएकाे प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन्।

'अस्पतालले सुत्केरीको अवस्था नाजुक भएको जानकारी भए पनि जिल्ला सुरक्षा समितिले उद्धारका लागि हेलिकप्टर व्यवस्थाको लागि पहल गरेको थियो,' उनले भनिन्, 'सुत्केरीको उद्धार भइसकेको छ। उनको अवस्था सुधार हुनेमा विश्वास गरिएको छ।'

प्रकाशित मिति: : 2022-08-01 17:00:00

प्रतिकृया दिनुहोस्