तीन प्रश्न–५

नेपाल नाई संघलाई प्रश्न: अव्यवस्थित शैलुनहरूलाई किन कारवाही हुँदैन ?

उमेश थापा

काठमाडौं
BreaknLinks
BreaknLinks

बजारमा अहिले हरेक सामानको भाउ निकै बढेको छ। यसकाे प्रत्येक्ष असर आम सर्वसाधारणलाई परेकाे छ। सामान्य जीविकाेपार्जन गर्नेहरूले महंगाे मूल्यमा सामानहरू खरिद गर्नु परेकाे अवस्था छ।

दैनिक उपभाेग्य वस्तुसंगै कपाल र दाह्री काटेकाे भाउ पनि आकाशिएको छ। यसले पनि सर्वसाधारणलाई मर्कामा नै पारेकाे छ। 

मानिसहरूले आउने दिनहरूमा शुल्क तिरेर कपाल र दाह्री काट्न नसक्ने स्थिति सिर्जना हुने अवस्था छ। अव्यवस्थित र मनलाग्दी पैसा लिने शैलुनहरूलाई कारवाही खै? आँखा देखेर पनि नदेखे जस्तै गरेर आँखा चिम्लिरहेका जस्तो देखिन्छ, नेपाल नाई संघ।

महंगाे शुल्क लिएर कपाल र दाह्री काटिरहेका शैलुनहरूकाे अनुगमन भएकाे छ कि छैन, सर्वसाधारणकाे गुनासाे कस्ताे छ, गुनासाे कसले सुन्छ? भन्ने विषयमा नेपाल नाई संघका अध्यक्ष राजाराम ठाकुरसँग बिएल नेपाली सेवाका लागि उमेश थापाले सोधेका तीन प्रश्न?


अहिले कपाल र दाह्री काटेको शुल्क किन यति महंगो भइरहेकाे छ? नाई संघकाे काम मूल्य मात्र बढाइरहने हाे?

सुरूमा कपाल र दाह्री काटेकाे शुल्क महंगो होइन। अहिले बजारमा सबै किसिमको सामाग्रीहरूको भाउ बढेको छ। जसमा कपाल र दाह्री काट्नेको भाउ पनि बढेको हो। यस क्षेत्रलाई पनि कोभिडले निकै असर पुर्याे। जसमा धेरै नाई साथीहरू देश छाड्नु पर्याे भने कतिले ऋण काढेर सटर भाडा पनि तिरे। त्याे लगानी यसै खेर गयाे।

नाई साथीहरूको परिवार चल्ने नै यही कामबाट हो, तर कोभिडले गर्दा दुई वर्ष बन्द गर्न बाध्यता भए। यो महंगो होइन, किनभने घर भाडा महंगो छ। प्राय अहिले नाई साथीहरूले ट्रेनिङ पनि लिनुभएको छ। चाहेको जस्तो हेयर कट काट्ने र राम्रो काट्ने ठाउँमा यो शुल्क महंगो होइन। महंगी घटाउनको लागि नेपाल सरकारले घर भाडा निर्धारण गर्नुपर्छ। अहिले जति मनलाग्याे त्यति घर भाडा उठाउँछन्, त्यसले गर्दा पनि नाई साथीहरूलाई असर पनि परेको छ र कपाल र दाह्री काट्नेमा मूल्यवृदि भएको हो।

ह्वात्तै मूल्यवृद्धि किन? नाई सञ्चालकहरूलाई कपाल काटेको दुई सय माग्न पनि अप्ठ्यारो छ नि, मानिसहरूले दिन पनि खोज्दैनन् नि हाेइन र?

अहिले प्राय मानिसहरूले आफ्नो घरमा कपाल काट्छन्। मान्छेहरूले शैलुनमा कपाल काट्ने भनेको एक वा दुई महिनमा हो। नाई साथीहरू त्यहीँबाट कमाएर आफ्नो सबै खर्च चलाउँछन्। होइन, नाई साथीहरूले आफ्नाे शुल्क लिन कुनै अप्ठ्यारो मान्नुपर्ने छैन। बजारलाई नै अनुगमन गरेर मूल्यवृद्धि गरेको हो। हामीले ह्वात्ते बढाएको त होइन। सबै नाई साथीहरू र नेपाल नाई संघ बसेर छलफल गरेर बढाएको हो।

अहिले नाईकोमा गएर त्यति कपाल र दाह्री काटेको पनि देखिएको छैन। विशेष गरेर दाह्री काट्नेहरू त न्यून मात्र छन्। अहिले प्राय कपाल र दाह्री काट्ने ठाउँमा सिकेर आएका मानिसहरूले कपाल काट्छन्। मानिसहरूले तोकेको पैसा दिनुपर्छ, यदि नाईले राम्रो काटेन, तोककोभन्दा बढी पैसा माग्यो भने हामीलाई तुरून्तै खबर गर्नुपर्छ। हामीले त्यस्ता शैलुनहरू वा नाईलाई कारवाही गछौं। म के भन्न चाहन्छु भने नाई साथीहरूले ग्राहकलाई सन्तुष्ट पार्नुपर्छ। ठग्ने होइन, ग्राहकलाई सन्तुष्ट पार्दा कपाल र दाह्रीमा तोकेको रकम ग्राहकहरूले हाँसी खुसी दिनुहन्छ भन्ने आशा पनि गरेको छु।

शैलुनहरू अव्यवस्थित छन्, कारवाही गरेको त्यति देखिँदैन नि? चार्डपर्वमा खुल्ला हुन्छ? उमेर नपुगेका बालकहरूले पनि शैलुनमा काम गरेको देखिन्छन्, के हो?

कस्तो हो भन्दा शैलुनहरू त्यति अव्यवस्थित छैनन्। हामीले सञ्चालनमा भएका सबै शैलुनहरूलाई सफा र स्वच्छताका साथ चलाउनु भनेका छौं। मेरो विचारमा उहाँहरूले त्यसलाई पालना गर्नुभएको छ। यस्ता कुरालाई पालना नगर्ने शैलुनहरूलाई कारवाही पनि गरेको छौं। तर जो मानिस कपाल र  दाह्री काट्न जानुहुन्छ, उहाँलाई शैलुन सफा लागेन भने हामीलाई सम्पर्क गरेर भन्नु पनि पर्छ। त्यसले गर्दा हामीलाई थाहा पनि हुन्छ र कारवाही गर्न सजिलो पनि हुन्छ।

जुन-जुन शैलुनहरूमा त्यस्तो भइरहेका छ, त्यसको खबर हामीलाई भन्न पनि ग्राहकहरूलाई आग्रह गर्दछु। त्यसले गर्दा सबै शैलुनहरू राम्रो हुन्छन्। हामीले शैलुनहरूलाई कारवाही गरेका छौँ।

चाडपर्वमा पनि खुल्ला हुन्छ शैलुन। महिनामा एक दिन शैलुन बन्द हुन्छ। तर, चाडपर्वमा भएको हुनाले शैलुन बन्द हुँदैन। यसमा के छ भने पहिला थियो होला तर अहिले भने छैन। आफ्नो परिवारको मानिसहरूले शैलुनमा सघाएका हुन्छन्। त्यसले गर्दा पनि बालकले कपाल काटेको देखिएको हो। बालकले नै कपाल काटेको पाइएमा तुरून्तै कारवाही हुन्छ। यसमा अरू कुनै कुरा नै छैन।

प्रकाशित मिति: : 2022-09-30 20:30:00

प्रतिकृया दिनुहोस्