स्याउका परिकार बनाउने सीप सिक्दै जुम्ली महिला

भदौ दाेस्राे हप्तामा खान मिल्ने जुम्ली स्याउ नपाक्दै बजारमा आइपुगेको छ। तथापि बजारकाे समस्या हुँदा कयाैं किसानकाे स्याउ खेर गइरहेको हुन्छ।

यही विषयलाई मध्यनजर गरी स्याउबाट बन्ने जुस, जाम, जेली र चाना उत्पादनमा जुम्लाका किसानहरु अहिलेबाट तयारी अवस्थामा रहेका छन्।

स्याउ बेच्ने मात्र नभई यसबाट बन्ने विभिन्न परिकार बनाई दोहोरो फाइदा लिन सकिन्छ। यही ध्येयलाई आत्मसात् गरी स्याउबाट बन्ने परिकारलाई बजारसम्म ल्याउनको लागि महिलाहरुले सीप सिकेका छन्।

जुम्लाको तातोपानी र तिला गाउँपालिका भित्रका महिलाहरुले स्याउबाट बन्ने विभिन्न परिकार बनाउने सीप आर्जन गरेका छन्। बजारमा बिक्री नहुने र खेर जाने स्याउलाई सदुपयोग गर्नको लागि महिलाहरुले विभिन्न परिकार बनाउन सिकेका हुन।


रामसिंह रावल, जसले जुम्ली स्याउकाे मुल्य फुजी स्याउ बराबर बनाए


सीप सिकेकी मध्येकी एक हुन् तातोपानीकी शान्ति कामी। उनले स्याउको आचार, जाम, जुस, चाना, जेली, साईटर लगायतका विभिन्न परिकार बनाउन सिकेकाे बताइन्।

'मेराे घरमा शान्तिको घरमा स्याउ बगैंचा छ। पहिले यस्तो सीप नपाउँदा बिक्री नभएर घरमा रहेको स्याउ गाईवस्तुलाई खुवाउनेबाहेक विकल्प थिएन,' उनले भनिन्,'याे सीप सिकेपछि अहिले विभिन्न स्याउका परिकार बनाई स्याउ सदुपयोग हुनेछ।'

उनकाअनुसार १० दिनसम्म स्याउका विभिन्न परिकार बनाउने तालिम पाएको हुनाले यसबाट घरमा उत्पादन हुने र बजारमा बिक्री नभएको स्याउबाट विभिन्न परिकार बनाउने काम हुनेछ।

तिर्खाएकाे बेला पानी पाएजस्तै खेर जान लागेकाे स्याउ सदुपयोग हुने हुनाले खुसी छन्, तिला गाउँपालिकाका किसान मानबहादुर बस्नेत। 'घरमा उत्पादन भएको स्याउलाई अब खेर जान दिने छैन। स्याउका विभिन्न परिकार बनाउने सीप पाएको छु,' उनले भने, 'औजार आफै किनेर भएपनि तालीमबाट प्राप्त भएको सीपलाई भरपुर रुपमा प्रयोग गर्नेछु।'

सीप सिकेर किसानहरु उद्यमी बनेपछि व्यवायिकताकाे महत्त्व बड्ने तातोपानी गाउँपालिकी उपाध्यक्ष रेउती रावलले बताइन्।

'सीप प्राप्त गरेका किसानहरु उद्यमी बन्नु पर्छ। सीप सिकेर प्रमाण पत्र लिएर मात्रै हुँदैन,' उनले भनिन्,'आफ्नाे फसलकाे बजारकाे दायरा बढाउनलाई भएपनि सीपको जीवनमा प्रयोग गर्नुपर्छ।'

उनले उद्यमी बन्न चाहने र गरी खाने किसानको साथमा स्थानीय सरकार रहेको भन्दै अनुदानका लागि मात्रै उद्योग दर्ता गर्नु राम्रो पक्ष नभएको बताइन्।

बजारमा बिक्री नभएको स्याउबाट विभिन्न परिकार बनाइ खेर जाने स्याउकाे सदुपयोग गरी आम्दानी लिन सकिने भएकाे हुनाले भविष्यमा यसकाे बजारकाे सम्भावना समेत रहेकाे छ।

तिला गाउँपालिका- ८ का वडाध्यक्ष आँसे बस्नेतले उद्यम गर्ने महिलाका लागि वडाले औजार उपलब्ध गराउने बताए।

'किसानको उत्पादनलाई स्थानीय सरकारले बजारीकरणका लागि पनि सहयोग गर्नेछ,' उनले भने,'महिलाहरुले सामान्य खर्चका लागि पुरुषसँग रकम माग्नुपर्ने अवस्था अन्त्य गर्नका लागि सीप अति आवश्यक छ।'

महिलाहरुले उद्योग दर्ता गरी वैधानिक रुपमा सफल उद्यमी बन्नुपर्ने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका नन्दमाया रोकायाले बताए। 'स्याउका परिकार बनाउन सिकेर मात्रै हुँदैन,' उनले भने, 'वैधानिक रुपमा बिक्री गर्नको लागि उद्योग दर्ता गर्नुपर्छ।'

उनले उद्योग दर्ता गर्ने प्रक्रिया सजिलो भएकाले नागरिकता, वडाको सिफारिस र अन्य कागजात लिएर कार्यालयमा आउन अनुराेध गरे।

तपला र तातोपानीका महिलालाई स्याउका परिकार बनाउन वर्ल्डभिजन इन्टरनेश्नल नेपालको सहयोग, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको समन्वय र किर्डाक नेपाल जुम्लाको आयोजनामा तालिा दिइएकाे थियाे।

प्रकाशित मिति: : 2022-08-04 06:14:00

प्रतिकृया दिनुहोस्