आत्महत्या न्यूनीकरणकाे लागि काठमाडौँ प्रहरीले सुरू गर्‍याे अभियान

File photo
File photo

काठमाडौं जिल्ला प्रहरीले आत्महत्याका घटना न्यूनिकरण गर्न ‘आत्महत्या न्यूनिकरण अभियान’ सुरु गरेको छ। 

उपत्यकामा दिन प्रतिदिन बढ्दै गइरहेको आत्महत्याका घटनालाई न्यूनीकरण गर्न काठमाडौं जिल्ला प्रहरीले सम्पर्क व्यक्ति तोकेर ‘न्यूनिकरण अभियान’को सुरुवात गरेको  काठमाडौँ प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन्।

उक्त अभियानका लागि प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई सम्पर्क व्यक्ति तोकेर तीन घण्टे परामर्श दिन थालिएको एसपी मैनालीले बताएका छन्।

‘प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई सम्पर्क व्यक्ति तोकेर तत्काल उद्दार र चिकित्सकको सहयोगमा परामर्श दिन थालिएको छ,’ उनले भने, ‘आत्महत्या न्यूनिकरण गर्न डीएसपी इन्चार्ज हुने, प्रहरी वृत्तका इन्स्पेक्टरहरु र प्रहरी प्रभागका इन्चार्जहरु फोकल पर्सन तोकिएका छन्। फोकल पर्सनमार्फत् त्यस्ता घटनाको सूचना लिएर तत्काल उद्दारका लागि परिचालन गरिने छ।’

यस्तै आत्महत्या गर्न खोज्नेहरुलाई उद्दारपछि चिकिसत्कको सहयोगमा प्रहरीले काउन्सिलिङ गर्ने व्यवस्था गरिएको एसपी मैनालीले बताए।

‘जसले आत्महत्या गर्न खोज्नुभएको छ, उहाँहरुको उद्दारपछि हामीले पनि चिकित्सकको सहयोगमा काउन्सिलिङ गर्ने भएको छौँ,’ उनले भने, ‘जसका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काउन्सिलिङको लागि नेपाल प्रहरी अस्पतालका चिकित्सक परिचालित हुने छन् र फोकल पर्सनहरुलाई प्रहरी अस्पतालका विशेषज्ञ डाक्टरहरुले प्रशिक्षण समेत प्रदान गर्ने छन्।’

यसैगरी उक्त अभियानलाई विभिन्न चरणमा गर्ने कार्ययोजना रहेको उनले बताए। 

‘जिल्ला प्रहरी परिसर काठमाडौंको सामुदायिक शाखाले यस अभियानलाई विभिन्न चरणमा कार्य गर्ने योजना बनाएको छ,’ उनले भने, ‘कार्ययोजना तयार गरी पहिलो चरणमा मातहत कार्यालयहरुबाट सम्पर्क अधिकृत तोकी परामर्श गर्ने, दोस्रो चरणमा सम्पर्क अधिकृतहरुलाई विषेशज्ञद्वारा प्रशिक्षण दिने र तेस्रो चरणमा प्रशिक्षित सम्पर्क अधिकृतले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बृत्तरप्रभागहरूको समस्याग्रस्त क्षेत्रको पहिचान गरी जनचेतना फैलाउने, टोलटोलमा पुगी कार्यक्रम गर्ने योजना रहेको छ।’  

यस्तै उक्त ‘ट्रेन्ङिग अफ ट्रेन्जि’(टिओटी) तालीममा प्रहरी निरीक्षक १३ जना, प्रहरी वरिष्ठ नायब निरीक्षक ८ जना र प्रहरी सहायक निरीक्षक ४ जना गरी जम्मा २५ जना प्रहरी कर्मचारीहरु सहभागी रहेका छन्। र ‘ट्रेन्ङिग अफ ट्रेन्जि’ तालीम प्राप्त अधिकृतहरुद्वारा समाजमा कार्यक्रम सञ्चालन गरिने मैनालीले बताए।

प्रकाशित मिति: : 2022-08-09 13:15:00

प्रतिकृया दिनुहोस्