जुम्लाको गाईजात्रा : व्यंग्यकाे निशानामा निर्वाचित प्रतिनिधिदेखि कर्मचारीसम्म

वि.स. २०६३ सालदेखि जुम्लामा भूमिगत रुपमा व्यंग्य गर्दै आएकाे काव्यात्मक प्रस्तुति यस वर्ष पनि गाईजात्राकाे दिन बजारमा पर्चा निकालेर छरिएकाे छ। याे पर्चा कसले निकाल्छ भन्ने हालसम्म पत्ताे छैन। तर, गाईजात्रामा आएकाे व्यंग्य सहन नसकेर पुलिसमा रिपोर्ट गरेपछि अनायास कवि बैरागी बाबुलाई पुलिसले केरकार गरेकाे थियाे।

यस वर्षकाे गाईजात्रा, २०७९ काे निशानामा निर्वाचित पुराना र नयाँ जनप्रतिनिधिसहित कर्मचारी, सरकारी कार्यालय र समग्र जुम्ली जनतासम्म परेका छन्।

सुरुवात गरिएकाे छ, जिल्ला समन्वय प्रमुख गाैरीनन्द आचार्यबाट। 'राजनीति गरेर बेकार भयो कि ठान्या छियाँ। एउटा गुटको नेतालाई मालिकै मान्या छियाँ। त्यही भएर समन्वय उपहार पाइयो, त्यही उपहार पाउन पनि लंकै धाइयो।'

हालसालै चन्दननाथ मन्दिर नजिक विवाह मण्डप बनाउने नाममा कंक्रिट संरचना बनाएर आलाेचना खेपेका सुनार गाउँ मष्टाेका धामी पूर्णसिंह कठायतलाई व्यंग्य गरिएकाे छ, 'विवाह मण्डव बनाउन्या भुन्या छियाँ, मस्जिद पो बनेछ।'

घुस बेस्मारी खाने नामले परिचित वन कार्यालय र घुस दिने जडीबुटी व्यापारी प्रहारकाे निशानामा छन्, 'पारी जंगल भ्रष्ट। वारी वन कार्यालयभरि फ्रष्ट। घुस खायो ड्याफूले। घुस दिन्या मै ट्यापुले।'

संसदमा ठुलाे स्वरमा कराउने सांसद कार्म महतले आफ्नै कर्मअनुसारको व्यंग्य खेपेका छन्। 'पारी पुडो टिट्याउनै छु। पञ्चेबाजा पनि भट्याउनै छु। रारालिहीको योजना खोलाले बगायो। मेगे भाषण सुन्दासुन्दा संसद भवनै अगायो।'

नेपाली कांग्रेस जुम्लाकाे किङ मेकरकाे रुपमा परिचित चन्द्र खड्का एक शक्ति केन्द्रकाे रुपमा परिचित छन्। श्रीमतीलाई राजनीतिक रुपमा अगाडि बढाइरहेका उनलाई व्यंग्य गरिएकाे छ। 'श्रीमतीलाई मन्त्री बनाउन्या भुन्या हुँ। उप-मेयरमा चित्त बुझाउन् पर्‍याछ। सबै भन्छन् यै चुन्याले गऱ्याछ।'

दशक बढी समय शब्दकोष लेखनमा बिताएका तर पनि अन्तिम रुप दिन नसकेका भाषा तथा संस्कृति सम्बन्धका जानकार रमानन्द आचार्यलाई गाईजात्रा २०७९ ले बाँकी राखेकाे छैन। जनताले शब्दकोश खै भनिरहेकाे समयमा जाईजात्रेले यसरी प्रश्न गरेकाे छ, 'खषान शब्दकोष मशान घाट तिर लम्केछ!'

हरेक वर्षजसाे आफैँलाई प्रकाशक बनाएर किताब निकालिरहने। त्यसलाई 'फाेर्स सेल' गरेर आम्दानी लिइरहने उद्याेग वाणिज्य संघका अध्यक्ष पुरिचन्द्र देवकोटालाई अदक्ष बनाइएकाे छ, 'किताब बेच्न पल्क्याछियाँ, अहिले उद्योगतिर सल्क्या छु।'

नेकपा एमालेलाई गुटगत राजनीतिकाे खाल्डाेमा जाकेर मजबुत संगठन भताभुङ्ग पारेकाे आराेप खेपेका राजनीतिका चतुर कुटनीतिक खेलाडी देविलाल थापा अहिले माधव नेपालकाे एकीकृत समाजवादी पार्टीमा छन्। कुनैबेला जुम्लाकाे शक्तिशाली एमाले पार्टी टुक्रिँदा दुबै पार्टीलाई नाेक्सान पुगेकाे छ र हालत जाईजात्रेले भनेजस्तै छ, 'माधव नेपालको पछि लाग्दालाग्दा गलिसके। स्थानीय चुनावमा थला पर्ने गरी ढलिसके।'

जसले जति राजनीति गरेपनि नेता त नरेश भण्डारी नै हुन् भन्ने छवि बनाएका उनले पार्टी फुट्दा, बड्दा क्रान्तिकारी बन्न खाेजेपछि हिसाबकिताबमा घाटा बेहाेर्दै आएका छन्। त्यसले उनलाई बारम्बार पश्चातापकाे घाेर अँध्याराेमा धकेलिरहन्छ, सायद। गाईजात्राले यसै भनेकाे छ, 'प्रदेशौनु लडु भुन्या मुख्यमन्त्री हुन्या नाई। माथि पुडो लड्नु छियो र रुस्या छुन् प्रचण्ड दाइ। कपालौनो हात राखी बस्या छु। चुनाव लड्न्यौ भुनि कम्मर कस्या छु।'

नगरका दश वडामध्ये सबका सब अध्यक्ष ठेकेदार ल्याउने हामी नगरबासी कुस्ता? यी हेर्नुस् यस्ता, 'नगरपालिका ठेकेदारा जुम्मा लगायौं, राम्रा जति सबै वडामै अड्कायौं।'

पानीका मुहान उम्तै भएपनि खानेपानीको गतिलाे व्यवस्था नाई, सदरमुकाममा। त्यसमाथि आजीवन पन्न बहादुर राेकाया एकजना मात्रै खानेपानीकाे अध्यक्ष, 'बाटो भरी खानेपानीया पाइप फुट्या फुट्यै छन्। मलाई खानेपानीको अध्यक्ष बनाउन जदया जुट्यै छन्।'

बेलाबेला गुट फेर्दाफेर्दा थाकेका प्रदेशका भाैतिक याेजना तथा पूर्वाधार विकास मन्त्री पदम राेकायाले उपहार पाए, 'कहिले ओड्डो, कहिले पुड्डो गर्दै थाकिसके, जे भए पनि आफूलाई मन्त्रीमा जाकिसके।'

पछिल्लो समय एमालेमा चतुर खेलाडीकाे परिचय बनाएका, जुम्लाका एकमात्र केपी ओलीकाे उपमा पाएका, पूर्व गाउँपालिका अध्यक्ष र वर्तमानका केन्द्रीय सदस्य रतननाथ याेगीलाई यसरी निशानामा पारिएकाे छ, 'मौकामा चौका हानियो, सजिलै केन्द्रीय सदस्यमा छानियो, गापामा मास्टरा रुपियाँ पनि तानियो, अरु ट्याउ ट्याउ गर्ने गर्दै रहुन, म झ्याम झ्याम गर्ने बानी परिसके।'

उद्योग वाणिज्य संघका किङ मेकर, कांग्रेसका हस्ती गाेविन्दबहादुर शाही जीवनकाे उत्तरार्धमा यता न उताका भए। उनलाई के बाँकी राखाेस् गाईजात्राले, 'जीवनमा इष्टमित्र नाता गोता चाहिँदो रहेछ, निष्टा पार्टी सिद्धान्तका कुरा खै कता गएछ?'

अमिलो र जुम्ली स्याउ एकनासे भइसक्याे। हरिया स्याउ निकासी हुँदाहुँदा जुम्ली स्याउकाे ख्याति खस्किँदैछ। गाउँपालिका र कृषि कार्यालय तथा कृषि विज्ञहरु मुखमा बुजाे हालेर बसेका छन्। यस्ताे अवस्थामा उसलाई अछुताे छाेड्ने कुरै भएन। 'हरिया स्याउले बजार ढाकिसक्यो, कृषि विकास केन्द्र कारवाही गर्ने भन्छ, खै कहिले कारवाही गर्ने हो, स्याउ कुहिएर झडिसकेपछि?'

अग्रज राजनीतिक नेतृत्व, कम्युनिस्ट आन्दोलनका हस्ती, साहित्यका बलिया खम्बा, जनताकाे अपार माया पाउँदा पनि राजनीतिमा उदाउन नसकेपछि रडिखेल्लामा गइ बुढेसकालमा माटाे खन्दै जडीबुटी फलाउँदैछन्, रामकृष्ण बुढथापा। 'आक्च्या खाँदा खाँदा मेरा दाँत टल्क्या छुन्, परिमल जुम्ली खस साहित्यमा लम्याछुन्।'

विश्वविद्यालयमा राजनीतिक नियुक्ति हुन थालेपछि शैक्षिक स्तरले धुलाे चाट्दैछ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे नेतृत्वमा छन्, युवा नेता नृपेन्द्र महत। उनलाई प्रतिष्ठान दलीय भर्तिकेन्द्र बनाएकाे आराेप छ। गाईजात्राकाे अवसरमा उनलाई तिर हानिएकाे छ, 'कासमा अर्थात कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राम्रा होइन, हाम्रो मान्छे चाहिएको छ। यदि कोही हुनुहुन्छ भने सम्पर्क गर्नुहोस्।'

संघीयताले जिल्लाकाे परिकल्पना गरेन। संविधानमा सिडिओ छैन। तैपनि काेही जिल्लामा आएर पञ्चायती धम्की दिँदैछन्। काम उस्ताे नभएकाे 'जिल्ला प्रशासन कार्यालयलाई नागरिकता वितरण केन्द्र बनाइदिए हुन्छ।' भन्छ गाईजात्राले।

जुम्ला बजारमा दिनदहाडै खुकुरी प्रहार भयाे। प्रहरी मूकदर्शक बन्याे। केटाहरु सजिलै उम्किए। प्रहारकाे केन्द्रमा छ, जिल्ला प्रहरी कार्यालय, 'दिन दहाडै खुकुरी हान्छन्, जिउँदै मान्ठ जुगाडा फाल्छन्, ट्वाटिकीहरु खै के खान्छन्? मान्ठ जति नान्नाना ठान्छन्, घरमै आफ्नै बाबुलाई बान्छन्, हामी हेऱ्या हेर्‍यै छौं।'

बेलाबेला बागी बनेर काँग्रेस हराउन लागेका ललितजंग शाही छन्, अहिले कांग्रेसका हर्ताकर्ता। आउँदाे निर्वाचनबाट उनलाई मुख्यमन्त्रीकाे दाबेदार ठानिएको छ, 'मुख्यमन्त्रीको आशा छियो, तुइन्या जस्तो छाँट देखिँदैछ, नेपाली काँग्रेस कर्णाली प्रदेशमा मेरो इतिहास लेखिँदै छ।'

उतिबेला पत्रपत्रिकाले तराजुकाे एकातिर भक्तबहादुर राेकाया र अर्काेतिर रुपैयाँकाे नाेट राखेर ताैले। नेमकिपाबाट जितेका, काँग्रेसमा बिकेका आराेप लाग्याे। मन्त्री बनिसकेका उनी आजभाेलि फेसबुकमा बह पाेख्छन्। 'कति बरालिएर हिँड्ने हो, फेसबुकमा.., काँग्रेसमा मेरो लगानी खेर गयो, मजदुरको मान्छे यता आएर बरवादै भयो।'

बेलाबेला मनाेनयनमा परी पद पाइरहेका पूर्व मन्त्री दिनबन्धु श्रेष्ठलाई चुनाव फाफेन र पनि पाउन बाँकी पद छैनन्। अहिले दिनबन्धु दिनदुखी भइसके। त्यसैले गाईजात्रा व्यंग्य गर्छ, 'पदहरु खाएर रित्याइसके, एक पटक लडेर जित्ने सपना थियो, उडायो सपना सबै हुरीले।'

चन्दननाथ स्कुलका रिटायर्ड शिक्षक, त्यसपछि लगातार विद्यालय व्यवस्थापन समितिका अध्यक्षले बजारमा किन भने हाेलान्, 'चन्दननाथ स्कुला अध्यक्ष आजीवन खाँदैछु, फेरि जवानी किन्न मुक्तिनाथ जाँदै छु।' उनकाे दृष्टिकोण र मक्सत के थियाे हाेला?

संगठनकाे शुन्य प्रभाव, पञ्चप्रतिकाे वितृष्णा, आफ्नाे व्यक्तित्वकाे बलमा चुनाव जित्ने आँट गर्दैछन्, राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही। 'म आउँदैछु जुम्लामा, कल्के अवतार लिएर बसे हुन्छ, सबै नेता वियर पिएर। मै जित्छु यसपल्ट जुम्लीको मत लिएर।'

मेयर हाेरका ओली कमरेडका बफादार कार्यकर्ता शान्तिलाल महतले टिका लाएर पाएकाे पद हाे, एमाले जुम्ला अध्यक्ष। यतिबेला उनी बैरागी भएका छन्। 'साथीहरुले राजनीति गरेर दरबार बनाउँदै छन्, म बैरागी राजनीति गरेर घरबार बनाउँदै छु।'

राष्ट्रिय प्रसारण लाइन जुम्ला ल्याउनमा मेराे ठुलाे याेगदान छ भनेर जस लिन बाँकी काेही नेता छैनन्। तर कच्चा धागाेमा चंगा उडाएजस्ताे लाइन बेलाबेला गइरहन्छ। लाइन पुगेकाे दुई वर्ष हुँदासम्म एक घण्टा लगातार बत्ती आएकाे रेकर्ड छैन। त्यसैले, 'राष्ट्रिय प्रशारण लाइन हो कि राष्ट्रिय प्रचारण लाइन हो, बुझनै सकिएन। बत्ती आउँदै आउँदैन, आए पनि गीत गाउँदै गाउँदैन।'

श्रीमतीलाई मन्त्री बनाइसकेका माओवादीकाे तेस्राे गुटका नेता तथा जनयुद्धका कमान्डर, पूर्व छापामार वीरबहादुर कुँवर आफ्नै पार्टीका नेता कार्यकर्ताका बीच अलाेकप्रिय हुँदै गए। तथापि उनकाे लाेभ गाउँपालिका अध्यक्ष पट्काउने थियाे, 'श्रीमतीलाई मन्त्री, आफूलाई गापाको प्रधान भया होइजाला भुन्या हुँ, क्या भ क्या भ बुझ्नै सकिनँ मैले।'

मेयर हुँदा लक्जेरियस गाडी चढेर चर्चा कमाएकी कान्तिका सेजुवालका हातभरी लड्डु छन्। 'सफल नगरपालिकाको मेयर भन्छन्, केन्द्रीय सदस्यमा पनि मलाई नै गन्छन्, मेयर हुँदा गाडी चढ्ने बानी परिसके, अहिले ज्वारो आएर थला परिसके।'

जिल्लाका पत्रकारले हराएर थला परेका एलपी देवकोटाले एकपल्ट फेरि केन्द्रीय सचिवकाे उम्मेदवारी दिएर रिक्स लिए, परिणाम हात लाग्याे, कर्णालीमा ठुलाे पद। उनले ठूला पत्रकारलाई जिल्लामै अड्काउन भूमिका खेलेकाे आराेप छ, 'कलिलै उमेरमा केन्द्रीय सचिव पद पड्काइयाे। ठूला ठूला सबै पत्रकारलाई जिल्लामै अड्काइयो। पीएचडी गर्न इन्डिया जाँदै छु। समाचार लेख्न काठमाडाैं धाउँदै छु।'

न्यायालयकाे छवि धमिलिन थालेकाे दशक बित्न लाग्याे। तर न्यायालय यसरी गन्हाउला त कसैले साेचेकै थिएन। पछिल्लो पल्ट जुम्ला आए न्यायाधीश जबाहर प्रसाद सिंह, उनले त जेलै खाली गरिदिए, 'एक फैसलाले दुनियाँको गाली भो। न्याय मूर्तिले हात चाट्न खोज्दा जेलै खाली भयो।'

भक्तपुरमा समेत खुम्चिँदै गएकाे नेमकिपा जुम्ला सिद्धिने तरखरमा छ। त्यही पार्टीमा तीन कार्यकाल अध्यक्ष भइ ह्याट्रिक गरे शिवलाल डाँगीले। तर संगठन दिन प्रतिदिन ओरालाे लाग्दै गयाे। 'साथीहरु अन्य पार्टीमा गएर छाइसके। हाम्रो पार्टी भक्तपुरले खाइसके। खै के गर्छ यो अदक्ष शिवले।'

मरेपछि पार्टीको झण्डा एकमात्र उदेश्य बताउँदै हिँड्ने पूर्व सांसद डिल्ली काफ्लेबाट क्रान्ति आश छैन, कार्यकर्तालाई। आँखै अगाडि पार्टी सकिँदै गएकाे बेला एकपटक सांसद हुन पाउनु ठुलाे उपलब्धि थियाे। तर कार्यकालभरि जम्मा एक एफएमबाहेक अरु नगरेका उनले कार्यकर्ता सेटल गर्नुकाे साटाे सिध्याए। परिणाम गाईजात्रेकाे पुछारमा उनलाई व्यंग्य गरिएकाे छ, 'मजदुरको सांसद भएर एक पटक नामै राखियो। चुनावमा भोट अर्कालाई नै जाकियो। पाँच वर्षमा एक एफएम खोले। त्यै एफएमको झगडामा आफ्नै कार्यकर्ता पाेले।'

प्रकाशित मिति: : 2022-08-13 20:57:00

प्रतिकृया दिनुहोस्