डोल्पाका सांसद शाही कर्णालीको पर्यटनमन्त्रीमा नियुक्त, प्रदेश प्रमुखबाट लिए सपथ 

डोल्पा प्रदेश निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित सांसद वीरबहादुर शाही कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन्।

हुम्लाका पूर्व पर्यटन मन्त्री गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै मुख्यमन्त्री जीवनबहादुर शाहीले सांसद शाहीलाई नियुक्त गरेका हुन्।

माओवादी कोटाबाट मन्त्री बनेको शाहीले प्रदेश प्रमुखको कार्यलयमा पुगेर प्रदेश प्रमुख तिलक परियारसमक्ष आजै पद तथा गाेपनीयताकाे सपथ लिएका छन्।

गत बिहीबार नै शाही मन्त्रीमा नियुक्त भएपनि समावेशी मन्त्रिपरिषद् नभएको भन्दै उच्च अदालत सुर्खेतले सपथ रोक्न प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्रीको कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेपछि शाहीको सपथ ग्रहण रोकिएको थियो।

सरकारले संघ र प्रदेशको निर्वाचन आगामी मंसिर ४ मा तोकिसकेकाले शाहीले करिब चार महिनामात्र मन्त्रालय हाँक्न पाउने छन्।

जिल्लाको प्रतिनिधित्व गर्दै शाही मन्त्री बनेपछि गृह जिल्ला डोल्पामा खुशीयाली छाएको छ।

प्रकाशित मिति: : 2022-08-14 12:15:00

प्रतिकृया दिनुहोस्