...त्यसपछि मैले म्युजिक भिडियाेमा खेल्ने अवसर पाइनँ

म घरकी सबैभन्दा कान्छी छोरी थिएँ। त्यसैले पनि होला म निकै चकचके स्वभावकी थिएँ। मेरो चकचकेपन देखेर बाआमामाले मलाई माया गर्नुहुन्थ्यो। जसले गर्दा मभित्र 'शरारत' गर्ने जागर थप बढेर आउथ्यो। 

मैले घरको काम बिगार्दा होस् या आफूभन्दा ठूली दिदिसँग झगडा गर्दा नै किन नहोस्। जीत सधैँ मेरो नै हुन्थ्यो। किनकी बाआमाले मलाई होइन दिदिलाई नै कराउनुहुन्थ्यो। त्यो देखेर मलाई भित्रभित्रै घमण्ड लाग्थ्यो, मलाई बाआमाले कत्ति धेरै माया गर्नुहुन्छ। 

मलाई माया गर्नुहुने मेरा बाआमाको मात्र एउट सपना थियो, मेरी कान्छी छोरीले धेरै र राम्रोसँग पढुन। तर मलाई भने पढाई भन्दा पनि धेरै नाच्नमा चासो लाग्थ्यो। थाहा छैन किन? तर नाच्न भनेपछि म हुरुक्कै हुन्थेँ। 

मलाई अझै याद छ, कक्षा ५ पढ्दै गर्दा म स्कुलमा पहिलो पटक नाचेकी थिएँ। जुन नाच देखेर सरले मेराे निकै तारिफ गर्नुभएको थियो। भलै, म पढाईमा त्यति जान्ने थिइनँ तर नाचमा मलाई टक्कर दिने पनि कोही थिएन। 

नाच्न र चकचक गर्नमा सिपालु भएकी कारण स्कुलमा मलाई सबैले 'चकचकी नानी' भनेर बोलाउने गर्नुहुन्थ्यो। 

जब म कक्षा १० मा अध्यनरत थिएँ, तब गाउँपालिकाले नाच प्रतियोगिता आयोजना गर्‍याे। र मैले पनि पहिलो पटक नाचमा भाग लिने मौका पाएँ। मलाई सरले भन्नुभएको थियो, 'हाम्रो स्कुलबाट तिमीले नाचमा सहभागिता जनाउनुपर्छ।' सरको कुरामा सहमति जनाउँदै नाचमा भाग लिएकी म प्रथम पनि भएँ।  

प्रतियोगितामा 'फस्ट' भएर पाएको पुरस्कार बोकेर घर पुर्याउँदा मेरा बाआमा पनि खुसी हुनुन्थ्यो, जति म थिएँ। 

नाचमा प्रथम भएपछि मैले नाच्नुमा भन्दा पनि पढाईमा ध्यान दिन थालेँ। किनकी मलाई 'एसईई' को तयारी गर्नुथियो। 

मेरो चासोको विषय नाचलाई 'ब्रेक' दिएर मैले एसईईका तयारी गरेँ। तर बिडम्बना कोरोना महामारीका कारण मेरो परीक्षा नै रोकियो। तर कोरोनाको डर हटेसँगै मैले परीक्षा दिएर म नाच्नतर्फ लाग्न थालेँ। 

एसईईको नतिजा आएपछि म दाङ गएँ। त्यहाँ गएपछि मैले पढाइसँगैँ नाच्ने मेरो आदतलाई पनि अघि बढाएँ। 

मैले स्कुलमाझैँ कलेजमा पनि नाचेर देखाएकी थिएँ। जसकारण सबैले मेरो प्रशंसा गर्नुभएको थियो। 

एकदिन कलेजबाट घर फर्किएर बसेकी मात्र के थिएँ, मोबाइलको घण्टी बज्यो। फोन उठाएर बोलेको मात्र के थिएँ, उताबाट आवाज आयो,  'हलो, नानी म कमलराज वली सर बोल्दैछु, म एउटा गीत लेख्दैछु, त्यसमा तिमीले अभिनय गर्नुपर्छ है !' 

वली सर अर्थात गीत लेख्ने सर। स्वयंम उहाँले नै फोन गरेर अभिनयको प्रस्ताव राखेपछि मैले असहमति जनाउने त कुरै थिएन। मैले खुसी हुँदै गीतको भिडियोमा अभिनय गरेँ। जसको लागि मैले सबैको मुखबाट 'वाहीवाही' पनि पाएँ। 

तर सरको गीतको भिडियोमा अभिनय गरेपछि मैले अहिलेसम्म कुनै पनि भिडियोमा अभिनय गर्न पाएकी छुइनँ। त्यसैले म चाहन्छु कि कसैले मलाई भिडियोमा अफर गरोस्। किनकी म कलाकार बन्न चाहन्छु। 

प्रकाशित मिति: : 2022-08-27 11:00:00

प्रतिकृया दिनुहोस्