यस्ताे बन्दैछ बेल्जियममा ३० लाख युरोमा नेपाल हाउस

गैर-आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको पहलमा बेल्जियममा नेपाल हाउस अर्थात् नेपाली घर बन्ने भएको छ। ३० लाख युरो अर्थात् अहिलेको विनियम दरअनुसार लगभग ३९ करोड लगानीमा लुभेन सहर नजिक उक्त हाउस बन्न लागेको हो।

नेपाल हाउसभित्र नेपालको विभिन्न कला संस्कृति झल्काउने सामग्रीहरू रहनेछन्। हाउस निर्माणपछि नेपालीहरुले विभिन्न सभा, समारोहका साथै पारिवारिक, सामाजिक र सामूहिक कार्यक्रमको आयोजना सुपथ मूल्यमा गर्न पनि सक्नेछन्। सञ्चालनपछि नेपाली घर सम्पूर्ण नेपाली समाजको साझा थलो र एकताको प्रतीक हुने एनआरएनए बेल्जियमले विश्वास लिएको छ।

नेपाल हाउस निर्माणार्थ एनआरएनए बेल्जियमले रकम संकलन कार्य तीव्र रूपमा अगाडि बढाएको छ। पूर्ण व्यवसायिक रूपमा अगाडि सारिएको प्रोजेक्टमा लगानी गर्नको लागि विभिन्न स्किमहरु अगाडि सारिएको छ। जसमा प्रोत्साहन शेयरको रुपमा कम्तिमा पनि २५ हजार युरो र बढीमा १ लाख युरोसम्म लगानी गर्ने प्रावधान रहेको छ भने एक हजार युरोभन्दा बढी सहयोग गर्नेहरूको नाम शिलालेखमा लेखिनेछ।

अहिलेसम्म १८ जनाले लगानी गर्ने लिखित प्रतिबद्धता जनाइसकेका छन्। जसमा ३ लाख युरो उठिसकेको छ। महत्वाकांक्षी प्रोजेक्टको रुपमा रहेको यो प्रोजेक्टको लागि भवन खरिद गर्नको लागि मात्रै २५ लाख युरो लाग्ने एनआरएनए बेल्जियमका अध्यक्ष खड्ग केसीले जानकारी दिए।

उनका अनुसार बाँकी ५ लाख थप कार्यको लागि खर्च गरिनेछ। 'यो प्रोजेक्ट मार्फत बेल्जियममा रहेका नेपालीहरुले प्रसस्त फाइदा लिन सक्नेछन्।' अध्क्षय केसीले भने' बेल्जियम बाहिरका नेपालीहरुले लगानी गर्न सक्नेछन्।

सेयर होल्डरहरुले पछि आफ्नो लगानी निकाल्न खोजेमा भवनको मूल्य अनुसार सेयर बेच्न पनि सकिनेछ। तर नेपाल हाउस भित्र पूर्ण नेपालको महसुस गराइनेछ। यसको लागि हामी विगत लामो समय देखि लागि परेका छौं। सेयर होल्डरहरुले आफूले गरेको लगानी तीन किस्तामा तिर्नु पर्नेछ।'

सफल होला त प्रोजेक्ट?

११ वर्ष अगाडि बेल्जियमको लुभेन सहरमा नेपाल हाउस बनाउने उदेश्यअनुरूप नै एक हप्ते महायज्ञ सम्पन्न भएको थियो। पण्डित दीनबन्धु पोखरेलद्वारा सम्पन्न भएको उक्त धार्मिक कार्यक्रममा नेपालीहरुले ठुलो रकम दान गर्ने बताएका थिए। जसमा एनआरएनए बेल्जियमलगायत बेल्जियमका थुप्रै नेपालीहरु रहेका थिए। तर पछि न दान बोल्नेले रकम दिए, न उक्त रकम उठाएर नेपाल हाउस बनाउन नै कसैले चासो दियो। योजना त्यतिकै बीचमै तुहियो।

अहिले ठ्याक्कै ११ वर्ष पछाडि एनआरएनए बेल्जियमको पहलमा नै उस्तै उदेश्य राखेको नेपाल हाउस प्रोजेक्ट अगाडि सरेको छ। तर पहिले धार्मिक कार्यक्रममा बोलेको दानबाट बन्ने भन्ने थियो भने अहिले पूर्ण व्यवसायिक रूपमा अगाडि बढेको छ।

व्यवसाय भनेपछि सबै लगानीकर्ताहरुलाई आफ्नो लगानीको माया हुन्छ। त्यस कारणले गर्दा पनि अहिले लगानी गर्न अगाडि देखिएकाहरु एक दशक अगाडि जस्तो पछि हट्ने नगर्लान्। अर्कोतर्फ चाहेको बेला सेयर बेच्न पनि सकिने हुनाले यो प्रोजेक्ट सफल हुनेमा विश्वास गर्न सकिन्छ।

एनआरएनए बेल्जियमले त्यतिखेर राम्रै रकमका विषयमा बोल्नेहरु अहिले त्यो दान रकम लगानीमा परिणत गरेर सेयर होल्डर बन्न सकिने पनि जनाएको छ। तर त्यो पूर्ण रूपमा सम्भव हुने देखिँदैन। यसबारेमा '२०११ को महायज्ञमा नेपाल हाउस निर्माणार्थ बोल्नुभएको रकम अहिले बन्न लागेको नेपाल हाउसमा लगानी गर्ने कुनै योजना छ कि छैन तपाईंको?' भनेर प्रश्न गर्दा पीजी शेर्पाले भने, 'म छैन, नेपालीको संयुक्त लगानी र संगठनको काम भनेको अन्तमा डुबाउने काम मात्र हुन्छ भन्ने मलाई पूर्ण रूपमा विश्वास छ।'

सोही प्रश्न त्यतिखेर दान रकम बोलेका रवीन्द्रमान श्रेष्ठ र अर्जुनकुमार श्रेष्ठलाई सोध्दा उनीहरूको कुनै जवाफ आउन सकेन।

बेल्जियमभरि नेपाल हाउस

लुभेनमा बन्न लागेको यो प्रोजेक्टलाई पूर्ण रूपमा सफल बाटोमा लग्न सके एनआरएन बेल्जियमले थप अरू क्षेत्रमा पनि बनाउँदै लाने जनाएको छ। अहिले नेपालीहरुको जनघनत्व धेरै भएको स्थान नजिक बन्न लागेको नेपाल हाउसले बेल्जियमभरिका नेपालीहरुलाई समेट्न सक्दैन।

समुन्द्री क्षेत्र नजिक रहेका सहरहरूमा बसोबास गर्ने नेपालीहरुका लागि नेपाल हाउस पायक पर्दैन भने कुनै विशेष कार्यक्रम आयोजना गर्न नेपाल हाउस नै पुग्लान् भन्ने विश्वास गर्न पनि सकिँदैन। त्यसैले भविष्यमा नेपाल हाउस थप अन्य क्षेत्रहरूमा पनि बनाउन सकिने अध्यक्ष खड्ग केसीले प्रष्ट पारेका छन्।

केसीले भनेअनुरूप सबै क्षेत्रमा नेपाल हाउस बन्ला नबन्ला फरक कुरा हो, तर लुभेन सहरमा निर्माण गर्न लागिएको प्रोजेक्टलाई सफल बनाएर देखाउनु एनआरएनए बेल्जियम र लगानीकर्ताहरुलाई पहिलो चुनौती छ।

एनआरएनए केन्द्रीय भवन निर्माण गर्नको लागि बेल्जियमबाट धेरै नेपालीहरुले रकम दिने बताएका थिए तर धेरैले लामो समयसम्म बुझाएनन्। रकम उधारो नै भयाे। केहीले बुझाए पनि। ११ वर्ष अगाडि धार्मिक कार्यक्रममा रकम दिने बताए पनि त्यतिकै हराएर गयो। न उठ्यो, न उठाइयो। संस्थाको लेवी समयमा नतिर्ने पनि धेरै भएको एनआरएनए बेल्जियमको विभिन्न कार्यक्रमहरूबाट सार्वजनिक हुँदै आएको छ।

माथिका अवस्थाहरुलाई चिर्दै अहिले अगाडि बढेको प्रोजेक्टलाई मूर्त रूप दिनुपर्दछ। यसको लागि एनआरएनए बेल्जियमको वर्तमान कार्यसमिति तदारुकता र पारदर्शिताका साथ लागिपर्यो भने सफल हुनेमा दुई मत छैन। यसतर्फ बेल्जियमवासी सम्पूर्ण नेपालीहरुको सशक्त साथ, सहयोगको आवश्यकता देखिन्छ। यसतर्फ सबैले ध्यान दिने कि?

प्रकाशित मिति: : 2022-08-22 16:01:00

प्रतिकृया दिनुहोस्