भड्किलो बन्दै तीज, संस्कार भुल्दै चेली

गोमा नेपाल

उर्लाबारी

वैदिक सनातन धर्मको मुख्य विशेषता सहिष्णुता मात्रै होइन, चाडपर्व, संस्कार र संस्कृतिसँग प्रकृतिको सम्मिलन पनि हो। सनातन धर्मालम्वीहरुमा पनि विभिन्न देश, क्षेत्र तथा समुदायका मौलिक चाड पर्वहरु धेरै छन्। जसमध्ये नेपालीहरुको चौथो ठुलो चाड तीज घर आँगनमै आएको छ।

तृतीया शब्दबाट तीज बनेको हो। भाद्र शुक्ल प्रतिपदाबाट पञ्चमीसम्मका पाँचवटै दिनलाई समन्वितरुपमा तीज भने पनि खास तीज चाहिँ तृतिया दिनलाई मानिन्छ। दिदीबहिनी जम्मा हुने मिठो खाने, राम्रो लाउने र गीत सङ्गीतमा रम्ने यो चाडको विशेषता हो।

तीजको धार्मिक महत्व पनि त्यतिकै छ। तीजमा खासगरी भगवान शिवको आराधना गरिन्छ। यसको अर्को पक्ष नाचगान र मनोरञ्जन हो। नेपालका प्रायः सबै समुदायका महिलाहरुले मनाउने साझा पर्वका रुपमा विकास भइरहेको पर्व हो तीज।

बहुसाँस्कृतिक पर्वका रुपमा विकसित भइरहेको तीज अब हिन्दू महिलाहरुमा मात्र सीमित नरही सबै धर्म-जातिका महिलाहरुले मनाउने साझा पर्वका रुपमा विकसित भइरहेको छ। नेपालीहरुका ठूला चाड दशैं र तिहारपछिको तेस्रो ठूलो चाडका रुपमा स्थापित हुँदै गएको पर्व हो तीज। यो चाड मुख्य रुपले नेपालभर मनाइन्छ भने भारतका कुनै–कुनै प्रान्तमा पनि मनाउने गरेको पाइन्छ।

मानव जातिको विकासक्रमसँगै प्राचीन सभ्यता र इतिहासका कथाहरु धार्मिक ग्रन्थमा पढ्न र सुन्न पाइन्छ। सत्य, त्रेता, द्वापर युगका भगवानका विभिन्न नामहरु, भगवानका विभिन्न रुप, चरित्र र गाथाहरुलाई पछ्याउँदा वैदिक सनातन धर्म, संस्कृति  बहुआयामकि बन्दै गइरहेको छ।

एकातिर धार्मिक आस्थाका आधारमा भगवानको पूजा आराधना गर्नु र अर्कातिर भौतिक शरीरको शुद्धता, स्वास्थ्य र सन्तुलनका लागि व्रत उपासना गर्नु वैज्ञानिक कारणबाट पनि जायज मानिएको छ।

हिजोको तीजः चेली र माइतीलाई जोड्ने पर्वका रुपमा नेपालमा तीजको महत्व रहिआएको पाइन्छ। वर्षभरि चेलीहरु आफ्नो कर्मघरमा रहँदा आफ्नो जन्मघरको यादले तड्पनु स्वभाविकै थियो। पराई घरले दिएको पीडालाई जन्मघरमा आएर गीतको माध्यमबाट व्यक्त गरिन्थ्यो। चेली र माइतीबीचको हार्दिकता बढाउने पर्वका रुपमा हिजो तीजको ठुलो महत्व थियो।

माइतबाट बुबा, दाजुभाइ चेलीबेटी लिन जाने घरबाट छुट्टी दिए मात्रै लिएर फर्कन पाउने चलन थियो। बुबा, दाजुभाइले घरमा ल्याएर मीठोमीठो खुवाउने, तीज सकिएपछि यथाशक्य उपहार तथा दक्षिणाका साथ कर्मघरमा पुर्याउन जाने चलन थियो।

थकान मेटाउने र आराम गर्ने समयः वर्षभरि खेतीपाती तथा घरधन्दामा अहोरात्र खटिनु भनेको चानचुने कुरा थिएन। बुहारीलाई कामको बोझ निकै ठुलो थियो। वर्षको एक पटक केही दिनका लागि भए पनि माइतमा गएर आराम गर्न पाउने अवसर भनेको तीज पर्व नै थियो। साथै आफूसँगै हुर्केका साथीसंगीहरुसँग भेट गर्न पाइने, दुखसुख बाँड्न पाइने। एक ठाउँ र अर्को ठाउँको चालचलन आदानप्रदान हुने माध्यम तीज पर्व थियो।

तीजको यो महत्वलाई धर्म, संस्कृतिसँग जोडेर चिरस्थायी बनाइएको हुनसक्छ। विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै निराहर व्रत बस्नुको पनि मौलिक कारण थियो। त्यतिबेला पुरुषहरु जोखिमपूर्ण काममा घरबाट बाहिर निस्कन्थे।

बर्खाको बेला भीर, पहाडका कुना कन्दरामा पतिहरु जाने भएकोले उनीहरु तल-वितल नपरुन् भन्नका लागि पत्नीहरुले भागवानसँग प्रार्थना गर्दै निराहर व्रत बस्ने परम्परा सुरु भएको हुनसक्छ।यसैगरी तीजको दरखाने दिन धेरै नै गरिष्ठ भोजन गरिने भएकोले भोलिपल्ट केही नखाइ स्वास्थ्य सन्तुलनमा राख्ने उपाय अवलम्बन गरिएको पनि हुनसक्छ।

परिवर्तित समयः आज समयको परिवर्तनसंगै रितिरिवाज, चाडपर्व मनाउने तौर तरिका पनि फेरिएका छन्। हुनेखाने वर्गलाई ३ सय ६५ दिन नै तीज पर्व हुन्छ। हुँदा खाने वर्गलाई भने अहिले पनि तीज पर्वका ३ दिन भारी हुने गरेका छन्। अर्थात हुनेखानेलाई राम्रो लगाउन र मीठो, मसिनो खान चाडपर्व कुर्नु पर्दैन, हुँदा खानेलाई दशैं, तिहार पर्खनु पर्छ।

पछिल्ला दिनमा चाडपर्वका नाममा खराब कुराको देखासिकी तथा आडम्बर एवं सम्पत्ति प्रदर्शन जस्ता विकृति बढेका छन्। सामाजिक सञ्जालमा पोष्ट गर्नकै लागि तीज मनाएको नाटक गर्नेहरु पनि थुप्रै छन्।

तीज पर्व सामूहिक रुपमा मनाउने परम्परा पनि विकसित भएर आएको छ। जसले गर्दा महिनाभरि तीज पर्वका नाममा तडकभडक बढेको छ। तीजका नाममा पार्टी प्यालेसमा गएर मदिरा पिउँदै डिस्को नाच्ने प्रवृतिलाई विकृति मान्ने हो वा विकसित रुप मान्ने ?

बढ्दो शहरीकरण तथा शहरी जीवन शैलीका कारण हिजोको ग्रामीण अवस्थाको जसरी मनाउन सम्भव छैन। सञ्चार तथा यातायातको विस्तारसँगै पारिवारिक दायरा तथा जमघटको दायरा फराकिलो हुँदै गएको छ।

छोरी चेली मात्रै नभएर भाञ्जा-भाञ्जी, ज्वाइँ, छरछिमेक, आफन्त र साथीभाइ पनि सामेल हुने भएका कारण भोजका लागि क्याटरिङकै व्यवस्था गर्नु पर्ने भएको छ। क्याटरिङको व्यवस्था त ठिकै थियो, कसको भन्दा कसको भोज भड्किलो बनाउने भन्ने प्रतिस्पर्धा नै चल्न थालेको छ। धर्म र संस्कृति जोगाउने नाममा आडम्बर सम्भ्रान्त समाजले भित्र्याएका तडकभडकजस्ता विकराल विकृतिहरुलाई हटाउने प्रयत्न गर्नु सभ्य र सचेत नारीहरुको कर्तव्य हो।

तीज नेपाली महिलाहरुको आफ्ना भावना पोख्ने पर्वको रुपमा परिचित थियो र छ। तर पछिल्लो समयमा आएर महिलाहरुको भावना पोख्नेभन्दा पनि यो व्यावसायिक हुँदै गएको छ। परिवर्तन हुनु नराम्रो कुरो त होइन, तर यसको भावनालाई आत्मसाथ गर्न सक्नुपर्छ। वर्तमान पुस्ताको जिम्मेवारी भनेको हाम्रा भाषा, साहित्य, कला र संस्कृतिलाई भावी पुस्तालाई जस्ताको तस्तै हस्तान्तरण गर्नु हो। तीज गीत त हाम्रो मौलिक संस्कृतिको धरोहर हो।

तर हिजोआज हामी मूल मर्मतिर छैनाैँ कि जस्तो लाग्छ। पारिवारिकजस्तो छैन, बरू कतै उट्पट्याङ जस्तो भएको गुनासो पनि सुन्ने गरिन्छ। यसको विधान खल्बलिँदै गएकोमा चिन्ता बढ्नु पनि स्वाभाविकै हो। तर यसको व्यापकतामा विकास हुँदै गएकोमा भने खुसी नै मान्नुपर्छ। तीज गीत घटनाप्रद हुने हुँदा यस गीतले घटना खोज्नेभन्दा पनि क्षणिक र सस्तो रमाइला विषयवस्तुहरु हाबी भइरहेको हो कि जस्तो देखिएको छ।

महिलाहरुले आफूले भोगेका सामाजिक बन्धन, पारिवारिक हिंसा र अत्याचारप्रति कटुव्यङ्ग्य तथा विद्रोहका स्वरहरु तीजका गीतमा सुनिने भए पनि विगत केही वर्षदेखि त्यस्ता गीतहरुभन्दा क्षणिक रमाइला गीतहरुले बजार पाएका छन्।

पछिल्लो समयमा तीज गीतको मौलिक र शास्त्रीय परम्परामा ह्रास आएको छ। तीज नारीहरुको पर्व हो, गीत पनि त्यस्तै झल्किने खालको हुनुपर्थ्याे। तीजका गीत अन्धविश्वास, हिंसा र विसङ्गतिपूर्ण व्यवहारका विरूद्ध र समानतामूलक समाज निर्माणका लागि हुनुपर्छ। तर पहिलेको तीज गीत र अहिलेको तीज गीतमा पनि आकाश जमिनको फरक देखिन थालेको छ।

पुरुषहरुसमेत गीत गाउने, नाच्नेदेखि लिएर उच्छृंखल म्युजिक भिडियाेकाे संस्कृति पनि हावी हुन थालेको छ। तर केही गीत तथा भिडियाेहरु सन्देशमूलक र मनोरञ्जनात्मक पनि छन्।

तीजको साँस्कृतिक तथा सामाजिक पक्षलाई अझ राम्रो बनाउन पारिवारिक तालमेल हुनुपर्छ। खर्च गर्ने तरिका अरुको देखेर होइन आफैँले सोचेर आफ्नो हैसियतअनुसार हुनुपर्छ। मनोरञ्जनलाई सन्तुलित, समय सापेक्ष र पारिवारिक माहाेल बनाउनुपर्छ। स्वास्थ्यको ख्याल राख्दै निराहरभन्दा पनि फलाहार र इच्छाअनुसारको सावित्क भोजन लिनु उपयुक्त हुन्छ। पहिलाका नारी गृहणी मात्रै थिए। अहिलेका नारी कामकाजी छन्।

पारिवारिक वातावरण र रहनसहनमा ठुलो भिन्नता आएको छ। लैंगिक विभेद धेरै हदसम्म घटेर गएको छ। आफ्नो खुट्टामा उभिनसक्ने महिला बढेका छन्। त्यसैले चाडको महत्व र शैली फेरिएको छ।

कोरोना कहरको बाबजुद तीजलाई सरल, शालिन र अर्थपूर्ण बनाउन सकौं, धर्म र संस्कृति जोगाउने नाममा विकृतिहरुलाई प्रश्रय नदिउँ। नेपाली नारीहरुको महान पर्व तीजको हार्दिक शुभकामना।

प्रकाशित मिति: : 2022-08-23 22:10:00

प्रतिकृया दिनुहोस्