नेपालमा धर्म परिवर्तनको समस्या किन?

Breaknlinks
Breaknlinks

हामीले देशमा ठुला-ठुला थुप्रै संघर्ष गर्दै आएका छौं। लामाे समयसम्म राणा शासन र राजाको निरंकुश शासनको विरूद्धमा बलिदानीपूर्ण संघर्ष गर्दै आएका छौं। त्यसको साथै नेपालमा विदेशी हस्तक्षेपको विरोधमा पनि लगातार संघर्ष गर्दै आएका छौं।

विदेशी हस्तक्षेपको विरूद्ध होस् वा घरेलु जहानियाँ र निरंकुश शासनको विरोधमा लड्दा सबै जातजाति भाषा-भाषीहरूको संयुक्त संघर्षले अहिलेसम्मका तमाम आन्दोलनलाई सफलता पूर्वक टुङ्गाएका छौं। इतिहासको निष्पक्ष र गहन अध्ययन गर्ने हो भन्ने सबै जातजाति भाषा-भाषीहरेको देशलाई जोगाउनमा ठुलो र महत्वपूर्ण योगदान छ।

अहिलेसम्मका तमाम आन्दोलनहरूमध्ये कैयौंमा पूर्णतय जित भयो, कैयौंमा आंशिक जित भयो तर पनि अहिलेसम्मको लडाइँमा हाम्रो ठुलो पराजित भएको छैन। तर इमान्दारपूर्वक भन्नुपर्दा हाम्रोबीचमा जातीय विभेदको विरूद्धमा हाम्रो जित हुन सकेको छैन। यद्यपि, यो हाम्रो घरेलु र नितान्त सामाजिक संघर्ष हो। हामीले सदियौंदेखि नै कामका आधारमा विभाज गरिएका जातहरूबीचको विभेदलाई ईश्वरको देन सम्झिँदा यस्तो हुन आएको पनि हो।

हाम्रो समाजमा जति जातजाति छन्, उति नै बेग्ला-बेग्लै परमपराहरू छन्, तर उदेश्य एउटै हो। एउटा बाहुन र दलितको बीचको मात्रै समस्या छैन।क्षेत्री-जैसी, बाहुन र उपाध्यबीच पनि थुप्रै विभेद छन्।

त्यस्तै प्रकारले दलितमा सार्की, दमाई, कामीहरूको बीचमा पनि थुप्रै विभेद छन्। तर यिनीहरू दलित र क्षेत्री-बाहुनको वशं भनेको एउटै हो, 'आर्य वंश'। तर जनजातिहरूको भने करिब छब्बीस परजातिहरूमा विभिन्न मत मतान्तरहरू छन्।

राई, लिम्बु, गुरूङ, तामाङ, मगर, दनुवार, सुनुवार, कुसुण्डा, आदि भन्दा थारूहरूको अवस्था रहनसहन अलि भिन्न छ, त्यसले गर्दा थारूहरू मंगोलियन होइनन् भन्ने कुरा प्रष्ट देखिन्छ। यो लेख तमाम जातिको विश्लेषण गर्नु होइन र मात्र जातीय विभेदको समाधान कसरी हुन्छ भनेर छलफल गर्न मात्र खोजिएको छ।

के जातीय विभेदको अन्त्य धर्म परिवर्तन गरेर होला?

आज देशभित्र खास गरेर दलित समुदायले जातीय मुक्तिका लागि धर्मको परिवर्तन गर्दै गरेको देखिन्छ। आखिर उनीहरूले धर्मलाई परिवर्तन गरेर जानी-नजानी कसकाे फाइदा भएको छ? यसबारेमा हामीले गहन अध्यायन गर्नुपर्ने हुन्छ।

दलितहरूले अहिलेको परिवेशमा खास गरेर इसाई धर्म अपनाएको देखिन्छ र उनीहरूले त्योबाट आफू मुक्त भएको ठान्दछन्। हुन त मानिसहरूले जुनसुकै धर्म अपनाए पनि आफ्नो जात लुकाउन सकिँदैन, त्यो हाम्रो पुर्खौली निसानी पनि हो। अहिले हाम्रो देश २०७२ सालको संविधानले धर्म निरपेक्ष विधि अपनाएको छ।

आखिर यो धर्म निरपेक्ष नीतिले कुन धर्मको नेतृत्व गर्छ? निश्चित रूपमा धर्म निरपेक्षको अर्थ परिभाषा सबै धर्मको सम्मान गर्नु नै हुन्छ। संवैधानिक रूपमा पनि धर्म परिवर्तन गर्नुलाई कतै सहि भन्ने तर कुनै पनि मानवलाई आफ्नो इच्छाअनुसार बाँच्ने अधिकार भने कसैले खोस्नु हुँदैन।

कुनै पनि एउटा धर्मलाई अंगाल्नु भनेको अरू धर्मावलम्बीहरूको दमन गर्नु र देशभित्र भएका तमाम धर्मको उपक्षा गर्नु भन्ने जान्छ। अहिले पनि हाम्रो देशमा बहुजाति र बहुभाषिक मानिसहरूकाे बसाेबास छ। त्यस कारणले पनि विगतमा मान्दै आएको हिन्दु धर्मको ठाउँमा धर्म निरपेक्ष गणतान्त्रिक देश भनेर संविधानमा व्यवस्था गरियो। साथै कसैले पनि जातीय र धार्मिक रूपमा अपमान गर्ने गरी कसैले-कसैलाई सम्बोधन गरे कानुनअनुसारको कारवाही गर्न सक्ने देशले संविधानमा व्यवस्था गरेको छ।

त्यसको बाबजुद पनि आज समाजमा दलितहरूमाथि अन्याय, अत्याचार र विभेदका तमाम घटनाहरू सुन्निन्छ। किन त्यसको विरुद्धमा सडक, सदन र कानुनमा जोडदार पैरवी हुन सकेको छैन? किन दलितहरूका मुद्धा अगाडि आएर पनि दबिन्छन्? यसबारे व्यापक छलफल र समीक्षा गर्नुपर्ने हुन्छ।

नागरिकतामा समेत 'कुकुर कामी, कुकुर्नी कामी’ जस्ता अपमानजनक नाम लेखेर दिने गरिएको घटना मिडियाहरूमा आएको छ। सदनमा त्यो मुद्धा उठाए पनि खास कसैलाई कारवाही भएको देखिएन। यसो किन भयो? हाम्रो समाज सामन्ती प्रवृतिको छ। उनीहरूले दलितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन।

यस्तो अनेकाैँ व्यवहारले गर्दा दलितहरूले आफ्नो धर्मलाई परिवर्तन गर्दै आएका छन् वा यसो भनौं हिन्दु धर्मबाट आफ्नो स्वाभिमानको रक्षा हुन नसक्ने ठानेर उनीहरूले अन्य धर्म अंगालेका छन्। तर के यो जातीय दमन र विभेद उनीहरूलाई मात्रै छ त?

यतिबेला देशमा दलित, जनजाति, महिला, मधेशी सबै खास गरेर गरीब, श्रमजीवीहरू उत्पीडित भएका छन्। महिला हिंसा चरम सिमामा छ। अहिलेसम्म महिलाहरूमा सामाजिक, राजनीतिक क्षेत्रमा सबैभन्दा बढी दमन, अत्याचार, शारीरिक, मानसिक शाेषण हुनेमध्येका मानिस महिला नै हुन्।

आखिर महिलाहरूले कुन धर्म अपनाउने? निश्चित रूपमा सबै जातका महिलाहरूमाथि अन्याय, अत्याचार, हिंसा हुँदै आएको छ। यो अवस्थामा उनीहरूले त्यो हिंसाको विरूद्धमा नलडी सुख छैन। हाम्रो समस्याको हल हामी भागेर निश्चित रूपमा हुँदैन, बरू समस्यासँग सम्झौताहिन संघर्ष यसको एकमात्र विकल्प हो।

यो अवस्थामा केवल वर्गीय संघर्षले मात्रै सम्पूर्ण उत्पीडित वर्गलाई न्याय दिन सक्ने छ। तर विगतमा वर्गीय आन्दोलनलाई अवसरवादले जसरी उपयोग गरे, त्यही प्रकारले अगाडिका वर्गीय आन्दोलनहरूलाई अवसरवादीहरूले फेरि पनि उपयोग गर्ने प्रयास गर्ने छन्। त्यो अवस्थामा हामी सचेत हुनुपर्ने पनि नितान्त आवश्यकता हुन्छ।

हाम्रो समस्य भनेको हामी सँगसँगै हिंड्छाैँ, यसबाट भागेर हामी कसैको पनि समस्या समाधान हुन सक्ने कल्पना पनि नगरौं। हामी जहाँ छौं, त्यहाँबाट आफ्नो जातीय मुक्तिको लागि आफैँ संघर्ष गर्नु पर्दछ। यदि म दलित हुँ भने आफू दलित भएकोमा गर्व गर्दै छुवाछुत विरूद्धमा निरन्तर संघर्ष गर्यौं भने हाम्रो अवश्य जित हुनेछ भन्ने लाग्छ।

प्रकाशित मिति: : 2022-08-25 07:33:00

प्रतिकृया दिनुहोस्