एसीसी प्रिमियर कप

नेपालकाे विजयी सुरुवात, मलेसिया ६ विकेटले पराजित

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदान भएको उद्घाटन खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको हो। मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा भीम सार्की र कुशल मल्लले अर्ध शतकीय इनिङ खेले। मल्लले अविजित ७० र सार्कीले ७१ रन बनाए।

त्यसैगरी कुशल भुर्तेलले ३८ तथा कप्तान रोहितकुमार पौडेलले ४२ रन बनाएर आउट भए।

मलेसियाका विजय उन्नी, विरनदिप सिंह, मोहम्मद वाफिक र रिजवान हैदरले समान १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले पूरा ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको थियो।

मलेसियाको लागि अहमद फैजले सर्वाधिक ७६, विरन्दिप सिंहले ४६ र मोहम्मद अमिर १७ रन बनाए।

नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले समान ३/३ विकेट लिए।

जितसँगै नेपालले २ अंक बटुलेको छ। नेपालले अब वैशाख ८ गते ओमानसँग खेल्नेछ।

प्रकाशित मिति: : 2023-04-18 15:56:00

प्रतिकृया दिनुहोस्