स्व: ॐ

Breaknlinks
Breaknlinks

बन्द गरिदेउ, तिमीलाई मनपर्ने 
वर्षौंदेखि सुनिरहेको धुन 
आज खुल्लै छोडिदेउ तिम्रो फ्ल्याटको मुल ढोका 
ननिभाउ भयो बत्ती पनि 
नगर आज छट्पटीकै बीचमा निदाउने कोसिस
भयो नसम्झ कसले तोडेको थियो तिम्रो दिल 
सोच्दै नसोच, को हाँसिरहेछ, तिमी रोइरहँदा पनि 
भयो बन्द गरिदेउ केही सोच्न
नलेख आज कुनै कविता 
एकफेर बार्दलीमा निस्केर हेर त 
आकाशमा जुन कस्तरी चम्किरहेछ।

के-के भयो आज तिमीलाई? 
के-के छन् तिम्रा भोलिका उद्धेश्यहरु? 
नलेख आज त्यो डायरीमा तिमीलाई के भन्न मन लागेको छ भनेर।
तिमीले झ्याउकिरी कराएको सुन्यौँ?
तिमीलाई लाग्दैन, 
यो झ्याउकिरी नकराओस् भन्ने? 
के तिमीलाई थाहा छ? 
तिमीले चाहने होइन, तिमी मरेरै गएपनि 
यो झ्याउकिरी कराइराख्ने छ।
व्यर्थ तिमी किन झ्याउकिरिको रिस गर्छौ? 
बरु एकफेर बाहिर निस्केर हेर न 
जुनेली रातमा संसार कस्तरी निदाइरहेछ। 

को-को छन् तिमीले सम्झनुपर्ने? 
को-को छ तिमीले सम्झिदिओस् भन्ने? 
को हो त्यो जसलाई तिमी बिर्सने कोसिस गर्दै सम्झिरहेछौ? 
को हो त्यो, जो तिमीलाई बिर्सने कोसिस गर्दै सम्झिरहेछ? 
तिमीले पहिलोपल्ट पढेको पाठ के थियो? 
तिमीलाई सबैभन्दा मन परेको पाठ कुन हो? 
कुन फिल्म तिमीलाई सबैभन्दा मन पर्छ? 
कुन नाटकको कुन दृश्यमा तिमी रोएका छौ? 
कसलाई देखेर तिमीलाई म यस्तै बन्छु जस्तो लाग्छ?
कसलाई तिमी ऊ पनि तिमीले चाहेजस्तै भैदियोस् भन्ने चाहन्छौ? 
भयो  छोडिदेउ, प्रश्नको बीचमा उभिन, 
एकफेर बाहिर निस्केर आकाशलाई हेर त 
यो आकाश कति निश्छल छ।

किन मनपर्छ तिमीलाई यो क्यान्डल लाइट? 
किन रेटिन्छौ तिमी त्यही धुनमा 
जुन धुन दुनियाँले मन पराउँदैन? 
किन यो संसारले खराब देख्ने मान्छे तिमी भेट्न चाहन्छौ? 
किन तिमी तिमीलाई भेट्न चाहने कसैलाई टुक्र्याउँछौ? 
तिमीलाई मनपर्ने सब्से प्यारो फूल कुन हो? 
तिमीलाई मन नपर्ने सबैभन्दा फोहोरी चिज के हो? 
तिमीलाई मनै नपर्ने कुनै फूल किन अरु कसैलाई मन पर्छ? 
तिमीले घृणा गर्ने फोहोरमा किन कुनै किरो हुर्किरहेछ? 
भयो छोडिदेउ अनेक प्रश्नहरु गर्न, 
घडीमा समय हेर त 
समय बितिरहेछ ।

तिमीले घरको भित्तामा कसको फोटो टाँसेको छौ? 
अनि त्यही फोटो अर्को कसैले किन जलाएको छ? 
तिमी किन कसैको लागि रोएको छौ? 
तिमी रोइरहँदा जोसङ्ग रोयौ, उसले अर्को कोही किन हँसाइरहेछ ? 
तिम्री आमाले तिमीलाई किन यति माया गर्छिन्?
दुनियाँँमा कति आमाले कत्ति सन्तान मारेका छन्? 
तिमी कति भएपछि पुग्यो भन्छौ? 
तिमीलाई कति कमाउनुछ?
तिमी केका लागि बाँच्न चाहन्छौ? 
तिमीले सुनेको छैनौ र? 
एकदिन मर्नुपर्छ भन्ने? 
फेरि किन सोचिरहन्छौ? 
मर्नुपर्छ भने जन्मिनु किन छ? 
मर्नुपर्छ भने दुनियाँँ गर्नु किन छ? 
के तिमीले तिम्रो प्रश्नको जवाफ पायौ? 
भयो छोडिदेउ दुनियाँँ प्रश्नमा हराउन 
एकपल्ट भित्तामा भर्खर माकुराले लगाएको जालो हेर त 
कहाँबाट सुरु भयो यो जालो? 
अनि कहाँ गएर सकिन्छ यो जालो? 
कहाँबाट सुरु भयो तिम्रो कथा? 
कहाँ गएर सकिने छ तिम्रो कहानी? 

तिमीभित्र यति धेरै निरासा किन छ? 
तिमी यति धेरै उत्साहित किन छौ? 
कति भयो तिमीले मन खोलेर नहाँसेको? 
कति भयो तिमीले तिमीभित्रको आँसु रोकेको?
बरु एकपल्ट पेट मिचिमिची हाँसिदेउ 
बरु एकपल्ट धित मरुन्जेल रोइदेउ 
तिमी के चाहन्छौ जीवनमा? 
तिमी के खोज्दै छौ जीवनमा? 
हिजो तिमीले सोचेजस्तो किन छैन तिम्रो जीवन? 
आज तिमीले चाहे जस्तो किन बित्दैन यो समय?
तिमी किन रोक्न चाहन्छौ यसरी यो समयलाई? 
किन छ यहाँसम्मको छट्पटी तिमीलाई?
भयो छोडिदेउ, 
हेर त 
बाहिर एउटा मौरी भुनभुनाइ रहेछ फूलमा 
एउटा फूल आफैँलाई सुम्पिरहेछ मौरीलाई 
मेरो मन अझै तिम्रो चित्त बुझेको छैन? 
फूलले आफैँलाई लुटाएर आफ्नो धर्म निभाइरहेछ 
मौरीले रस चुसेर उसकै धर्म निभाइरहेछ 
तिमी कतै त्यही एक मौरी हौ 
तिमी कतै त्यही एक फूल हुन सक्छौ 
नसोच भयो अनेक प्रश्नहरु 
फूल हौ भने लुटाइदेउ आफूलाई 
मौरी हौ भने जम्मा गर रसहरु 
तिमीले अझै बुझेनौ? 
लुटिनुपर्छ भनेर तिमी फूल्न नछोड 
कसैलाई लुट्नुपर्छ भनेर मौरी हुन नछोड 
मेरो मन के तिमीले अझै बुझेनौ? 
तिमीलाई मह जम्मा गर्नुछ।

प्रकाशित मिति: : 2022-08-27 17:00:00

प्रतिकृया दिनुहोस्