ओलीलाई फेरि हराउने दाउ खोज्दै विश्वदीप लिङ्देन

२०६४ सालको संविधानसभा निर्वाचनमा त्यतिबेलाका बिल्कुलै नयाँ अनुहार विश्वदीप लिङ्देनले एमाले अध्यक्ष केपी ओलीलाई सजिलै हराए। फेरि पनि त्यस्तै माहौल बन्दै गएको छ।

'हेभिवेट' भनिएका ओलीजस्ता उम्मेदवारलाई यस पटकको निर्वाचनमा गाह्रो पर्नसक्ने गत स्थानीय तहको निर्वाचनको परिणामले देखाएको छ। २०६४ को चुनावमा कांग्रेस, एमालेका धेरै दिग्गज नेताहरूले हार बेहोरेका थिए।

यस्तै हार बेहोर्नेमध्ये एमालेका वर्तमान अध्यक्ष ओली पनि एक थिए। माओवादीबाट उम्मेदवार बनेका लिङ्देनले पहिलो संविधानसभा निर्वाचनमा ओलीलाई रोकेका थिए। लिङ्देनले ओलीलाई १ हजार १४० मतले पराजित गरेका थिए। लिङ्देनले १६ हजार ९९ मत ल्याउँदा ओलीको पक्षमा १४ हजार ९५९ मत आएको थियो।

ओली र ओलीको दम्भलाई फेरि हराउने आफ्नो चाहना रहेको कांग्रेस नेता लिङ्देनले बताए। मंसिर ४ को आगामी निर्वाचनमा ओलीलाई टक्कर दिन आफूले क्षेत्र नं ५ मा उम्मेदवारी दिने पहल भइरहेको उनले बताए ।‘झापा क्षेत्र नं ५ मा ओलीलाई टक्कर दिने मान्छे चाहिन्छ ’उनले भने,‘ मेरो कुरा सुन्नेबित्तिकै उनी झस्किहाल्छन्।’

गत साउन १२ मा झापाको दमक आइपुगेका ओलीले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लिङ्देनको खोजी गरेका थिए। उनले भनेका थिए, ‘२०६४ को निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो। तर तपाईंहरूले जिताएर पठाएको मान्छे आज कहाँ छरु’तर, लिङ्देन आफूले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा बसेर ओलीको खोजी गरिरहेको' बताउँछन्।

उनले २०६४ मा संविधानसभा सदस्य भएपछि आफू काठमाडौंमा महल बनाएर नबसेको भन्दै झापा क्षेत्र नम्बर ५ का जनता सँगै रहेको प्रतिक्रिया दिए।

उनले आफू अहिले झापामा बसेरै ओलीको खोजी गरिरहेको सुनाए। उनले भने, ‘म झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य केपी ओलीलाई खोजिरहेको छु। दमकमा खोज्दा पनि भेट्टाएको छैन। कमल गाँउपालिकामा पनि देख्दिनँ।’ गौरीगञ्ज, गौरादह कतै ओलीलाई नभेट्टाएको लिङ्देनले सुनाए।

पहिलो संविधानसभा निर्वाचनमा ओलीलाई हराएर चर्चा कमाएका संविधानसभा सदस्य लिङ्देन २०७४ को आमचुनाव अगाडि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

उनी कांग्रेस प्रवेश गरेपछि पार्टीका विभिन्न काममा निरन्तर लागिरहेका छन्। गत चौधौं महाधिवेशनअन्तर्गत भएको झापा जिल्ला अधिवेशनमा लिङ्देन जिल्ला सचिवको प्रत्यासी बनेका थिए।

लिङ्देनले कांग्रेसको झापा जिल्ला सचिवको प्रतिस्पर्धामा सम्मानजनक मत प्राप्त गरेका थिए। सचिव पदमा विजयी नवीन विमली १,८३८ र कृष्ण हुमागाईंले १,६७६ मत ल्याएका थिए भने प्रतिस्पर्धामा रहेका लिङ्देनले १,४३१ मत ल्याएका थिए। चौथो मत टुमलाल राजवंशी १,३२१ ल्याएका थिए।

लिङ्देनलाई आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यको चुनावमा झापा क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष ओलीसँग चुनावी मैदानमा उत्रिने आकांक्षा छ।

उनले झापा ५ का जनता सचेत रहेको दाबी गर्दै वाइड बडी जहाज, बालुवाटार काण्ड, संविधान च्यात्न प्रयास गर्ने र संसद् विघटन गर्नेहरूलाई दण्डित गर्ने बताए।

लिङ्देन आफूले कुनै दिन फेरि ओलीसँगै झापा क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा उत्रन्छु भन्ने ढंगले तयारी गरिरहेको सुनाए।

प्रकाशित मिति: : 2022-09-02 10:00:00

प्रतिकृया दिनुहोस्