डढेलोबाट खर जोगाउँदा जाेगाउँदै जलेर आमा–छोराकाे मृत्यु

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-१० बेतेनीमा वनको डढेलोले भेट्दा आमाछोराको मृत्यु भएको छ।

आज सोमबार मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै मृत्यु भएको हो। 

बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा सुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताए।

घटनास्थलमा प्रहरी परिचालन गरिएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। केही दिनअघि देखि स्थानीय जङ्गलमा डढेलो लागेको थियो। अहिले जिल्लाका विभिन्न स्थानमा डढेलो लागिरहेको छ।

प्रकाशित मिति: : 2024-05-06 19:32:00

प्रतिकृया दिनुहोस्